हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबारदेखि

नेपालमा महिला खेलाडीले मात्रै सहभागी हुन पाउने तेस्रो प्रतियोगिता आयोजनाका लागि एकेडेमीले प्रप्स नेपालसँग सहकार्य गरेको छ ।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

The second edition of Himalayan Queen's Gambit begins on Sunday

काठमाडौँ — हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबारदेखि थापाथलीस्थित चेस पार्कमा हुने भएको छ । विश्व चेस महासंघको ‘फिडे वुमेन्स चेस म्याराथन’ अन्तर्गतको अफिसियल प्रतियोगिताको रुपमा हुने हिमालयन क्वीन्स ग्याम्बिटमा सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालमा महिला खेलाडीले मात्रै सहभागी हुन पाउने तेस्रो प्रतियोगिता आयोजनाका लागि एकेडेमीले प्रप्स नेपालसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू र प्रप्स नेपालकी प्रमुख दीपा श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

खम्बू भन्छिन्, ‘फिडे कमिसन फर वुमेन्स चेससँगको पार्टनरसिपमा मार्च महिनामा विश्वभरि प्रतियोगिता भइरहेको छ । त्यसैअन्तर्गत् नेपालको एकमात्र प्रतियोगिता हामी आयोजना गर्दैछौं । चेसमा नयाँलाई अवसर दिन अनरेटेड खेलाडीको उत्सवको रुपमा सञ्चालन हुने एक दिने प्रतियोगितामा करिब एक सय खेलाडी सहभागी हुनेछन् ।’ विहीबारसम्म ५० खेलाडी दर्ता भइसकेको पनि उनले बताइन् ।

श्रेष्ठले भनिन्, ‘नेपालमा महिला चेसलाई उत्सवको रुपमा मनाउने प्रयासमा मूर्तरुप दिन हिमालयन चेस एकेडेमीसँग सहकार्य गरेका छौं । हामी क्वीन्स ग्याम्बिटलाई भव्य बनाउनेछौं ।’

गत वर्ष आयोजित पहिलो संस्करणमा पाँच वर्षदेखि ६७ वर्षसम्मका एक सय ४२ अनरेटेड खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसपाली शीर्ष आठसँगै यू-७, यू-१०, यू-१३ यू-१६ र ५० वर्षमाथि उमेर समूहका विजेतालाई पनि पुरस्कार दिइने छ । उत्कृष्ट तीन स्कुल र पाँच खेलाडीलाई स्पेसर अवार्ड्स पनि प्रदान गरिनेछ ।

हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू र प्रप्स नेपालकी प्रमुख दीपा श्रेष्ठ ।

कान्तिपुर

Link copied successfully