एनआरटीले सक्दो खेल्न नसकेपछि 

यही टिमले पनि आफूले सक्दो खेल्न सकेन र लालीगुराँस एसोसिएसन टिमसँग १–१ को बराबरीमा चित्त बुझाउनुपरेको छ ।

फाल्गुन २८, २०८२

हिमेश

After NRT failed to play its best

काठमाडौँ —  

कम्तीमा कागजमा एनआरटी जत्तिको बलियो टोली यो राष्ट्रिय लिग फुटबलमा अरू कमै होला । तर प्रतियोगितामा आफ्नो दसौं खेल खेल्दा एनआरटीले पहिलो पटक लगभग पहिलो रोजाइको टिम उतार्न पायो । यही टिमले पनि आफूले सक्दो खेल्न सकेन र लालीगुराँस एसोसिएसन टिमसँग १–१ को बराबरीमा चित्त बुझाउनुपरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले पहिलो हाफमै अग्रता लिएको थियो, त्यो पनि अञ्जन विष्टको गोलमा । 

दोस्रो हाफमा एनआरटीको प्रदर्शन कमजोर रह्यो र लालीगुराँसले पूर्ण दबाबमा राख्यो । बराबरी गोल भने ९० औं मिनेटमा निस्केको थियो, जतिबेला पोखरेली टिमका लागि आशिष गुरुङले बराबरी गोल फर्काएका थिए । प्रतियोगितामा चौथो खेल खेल्दै अञ्जनले भने २६ औं मिनेटमा गोलको खाता खेले । एनआरटीका सुरुआती ६ खेलमा उनी थिएनन् । लालीगुराँसविरुद्ध मैदानमा अञ्जन मात्र थिएनन्, कृतिश छुन्जुदेखि मनिष डाँगी र आदित्य शाक्य पनि टोलीमा थिए । 

‘तर टिमले सक्दो खेल्न सकेन,’ एनआरटीका प्रशिक्षक जीवन सिक्नेमानले भने, ‘दोस्रो हाफमा हामी पूर्णतः दबाबमा खेल्यौं । यस्तो नहुनुपर्ने हो । प्रतियोगितामा दसौं खेल खेल्दा मात्रै हामीले लगभग पहिलो रोजाइको टिम पाएका छौं । त्यसैले प्रतियोगितामा टिमको प्रदर्शनलाई लिएर धेरै गुनासो छैन । प्रतियोगिताका बाँकी खेलमा पनि टिममा खासै परिवर्तन आवश्यक छैन ।’ अञ्जनको नाम गोलकर्ताको सूचीमा थपिनु भने क्लब र खेलाडी दुवैका लागि राम्रो रहनेछ । 

बराबरीका नतिजामा पनि पोखरेली टोली लालीगुराँसका प्रशिक्षक किरण श्रेष्ठ भने खुसी रहे । उनको भनाइ थियो, ‘हाम्रो टिम पूर्णतः नयाँ हो, एकजना खेलाडीलाई छाडेर कोहीसँग पनि ‘ए’ डिभिजन खेलेको अनुभव थिएन । त्यसैले टिमले अहिलेसम्म जसरी खेलिरहेको छ, त्यसमा गर्व नै छ । हाम्रो अहिलेसम्मको प्रदर्शनले मोफसलको टिमले पनि काठमाडौंमा प्रतिद्वन्द्विता दिन सक्छ भन्ने प्रमाणित भएको छ, यसमै हामी खुसी छौं ।’ 

प्रशिक्षक श्रेष्ठका अनुसार अबको खेलमा लालीगुराँसले अझ आक्रामक भएर खेल्नेछ, किनभने यो टिममाथि अरूलाई जस्तो दबाब छैन । उनले अझ लालीगुराँसले उपाधिकै लागि पनि खेल्ने बताए । प्रशिक्षक श्रेष्ठको थप विश्लेषण थियो, लालीगुराँस यस्तो प्रदर्शनका लागि सक्षम छ । क्लबका लागि सबैभन्दा उत्साहबर्द्धक उपलपब्धि हो, दस खेलपछि भने अपराजित रहनु । शीर्षमा रहेको एपीएफपछि लालीगुराँस मात्र अर्को अपराजित टिम हो । 

यद्यपि यसमा धेरै खेल बराबरीमा टुंगिनु समस्या हुन सक्नेछ । लालीगुराँसको यो लगातार तेस्रो बराबरी हो । अहिलेसम्म टोलीले ६ बराबरी खेलिसकेको छ, यस्तोमा टिमको खातासँग २० अंक पुगेको छ । एनआरटीको भने १० खेलबाट १९ अंक छ । टोलीका पछिल्ला ५ खेलमा यो चौथो बराबरी हो । यस्तोमा एनआरटीका लागि भने बराबरीको नतिजाले चिन्ता दिनेछ र अबका खेलमा प्रदर्शन सुधार्नुपर्नेछ । 

एन्फा कम्प्लेक्समै भएको दोस्रो खेलको नतिजा पनि पहिलोकै समान रह्यो । जावलाखेल र सातदोबाटो युवा क्लबले १–१ को बराबरी खेलेका थिए । यसमा पनि जावलाखेलले २२ औं मिनेटमा बुबाकर सिसिखोको गोलमा अग्रता लिएको थियो र लागिरहेको थियो, जित उसकै हुनेछ । जावलाखेलले यसअघिका दुई खेलमा कुनै गोल गर्न सकेको थिएन । तर खेलको पटकथामा त्यतिबेला परिवर्तन आयो, जतिबेला जगजित श्रेष्ठले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरे । 

सातदोबाटोले पनि आफ्ना पछिल्ला दुई खेलमा कुनै गोल गर्न सकेको थिएन । यो नतिजापछि जावलाखेलको ९ खेलबाट १० अंक भएको छ । पुलिसलाई हराएयता जावलाखेलको प्रदर्शन त्यस्तै छैन । पछिल्ला तीन खेलमा टोलीले एक अंक मात्र बटुल्न सकेको छ । सातदोबाटो युवाको पनि ९ खेलबाट निराशाजनक ७ अंकमै रह्यो । सातदोबाटोको खातामा अहिलेसम्म एक जित मात्र छ र त्यो मनाङ मर्स्याङ्दीविरुद्ध रहेको थियो ।  

हिमेश

Link copied successfully