एडुवार्डोको ह्याट्रिकमा मछिन्द्रको सान

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल जितेपछि मछिन्द्र २२ अंकसहित शीर्षस्थानमा उक्लेको छ भने नव जनजागृति अंकविहीन भएर १७ टिममध्ये पुछारमा रह्यो ।

फाल्गुन २७, २०८२

कान्तिपुर संवाददाता

Machindra's hat trick in Eduardo's hat trick

काठमाडौँ — जोनाथन एडुवार्डोको ह्याट्रिकप्रेरित मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा मंगलबार नव जनजागृति क्लबलाई ४–० ले हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल जितेपछि मछिन्द्र २२ अंकसहित शीर्षस्थानमा उक्लेको छ भने नव जनजागृति अंकविहीन भएर १७ टिममध्ये पुछारमा रह्यो । नव जनजागृति अहिलेसम्म आफूले खेलका सबै ९ खेलमा पराजित छ । टोली सबैभन्दा खराब स्थितिमा छ । 

मछिन्द्रले भने लगातार दुई जितपछि आफ्नो स्थिति सुधार गरेको हो । चर्च ब्वाइजविरुद्धको खेल गुमाएता मछिन्द्रले दुई खेलमा क्लिन सिट राख्दै जावलाखेल र नवजनजागृतिलाई हराएको हो । एडुवार्डो पूरा खेलमा छाए र उनले ११ औं मिनेटमा पहिलो गोल गरेपछि ५० औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपेका थिए । त्यो गोल पेनाल्टीबाट सम्भव भएको थियो । त्यसपछि रेजिन सुब्बाले ६२ औं मिनेटमा तेस्रो गोल गरे । 

एडुवार्डोले ८१ औं मिनेटमा गोल थप्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । लयमा रहेका उनी चिली मूलका प्यालेस्टिनी खेलाडी हुन् । उनले मछिन्द्रका लागि अहिले प्रतियोगितामा ८ गोल गरिसकेका छन् । 

पछिल्ला दुई खेलमा मात्र उनको गोलसंख्या ५ पुगेको छ । रेजिनले भने प्रतियोगितामा तेस्रो खेल आइपुग्दा व्यक्तिगत गोलको खाता खोलेका छन् । मछिन्द्र आफैले ९ खेलमध्ये क्लिन सिट राखेको संख्या ६ पुगेको छ ।

लिग तालिकामा मछिन्द्रलाई शीर्षस्थानमा एक अंकको अग्रता प्राप्त छ । एपीएफ क्लब २१ अंकमा दोस्रो स्थानमा छ । त्यसपछि त्रिभुवन आर्मी क्लब २० अंकमा तेस्रो स्थानमा छ । चर्च ब्वाइज र प्लानिङ ब्वाइजको समान १९ अंक छ । 

दिनको पहिलो खेलमा मनाङ मर्स्याङ्दीले चित्लाङ एफसीलाई २–० ले पराजित गरेको थियो । त्यसमा स्यारब लो तामाङले ४९ औं मिनेटमा पहिलो गोल गरेपछि दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा सुमित मल्लले दोस्रो गोल थपेका थिए । 

मनाङको यो जितपछि १० खेलबाट १२ अंक भएको छ । गोलको खडेरीबाट गुज्रिरहेको मनाङका लागि यो जितले राहत दिनेछ । यसअघिका ४ खेलमा नेपाली घरेलु फुटबलको सबैभन्दा सफल क्लबले कुनै गोल गर्न सकेको थिएन । यसबीच उसले ५ खेलमा ६ अंकमात्र बटुलेको छ । सुरुआती तीन खेल लगातार गुमाएको मनाङको अपेक्षाकृत राम्रो प्रदर्शन हो । चित्लाङ भने १० खेलबाट ७ अंकमा सीमित रह्यो । टोलीको यो लगातार तेस्रो हार हो । 

कान्तिपुर

Link copied successfully