ललितपुरको लगातार दोस्रो जित

अघिल्लो दिन प्रतियोगिताको पहिलो खेलमा भक्तपुरलाई पराजित गरेको ललितपुरले टस जितेपछि ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेट गुमाई ३ सय ५८ रन बनायो ।

फाल्गुन २७, २०८२

कान्तिपुर संवाददाता

Lalitpur's second consecutive win

काठमाडौँ — ललितपुर जिल्लाले प्रधानमन्त्री कप बागमती प्रदेश पुरुष क्षेत्रीय प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । ललितपुरले मंगलबार कीतिुपरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिवि टिमलाई १ सय ८५ रनले पराजित गरेको थियो । अघिल्लो दिन प्रतियोगिताको पहिलो खेलमा भक्तपुरलाई पराजित गरेको ललितपुरले टस जितेपछि ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेट गुमाई ३ सय ५८ रन बनायो । चार खेलाडीले अर्धशतक बनाएपछि ललितपुरले विशाल योगफल बनाएको थियो । 

ओपनर रोनिम तिवारीले ७४ बल खेल्दै ३ चौका र २ छक्कासहित ६३, आदिल खानले ६७ बलमा ५ चौका र २ छक्कासहित ५६, सचिन लेखकले ७४ बलमा ७ चौका र २ छक्कासहित ८६ तथा विवेक रानामगरले ४१ बलमा ४ चौका र ५ छक्कासहित अविजित ७९ रन बनाएका थिए । कप्तान आशुतोष घिरैया १५ र आर्यनजंग क्षेत्री २७ रनमा आउट भए । त्रिविबाट दिनेश थापाले ७ ओभरमा ६४ रन खर्चेर ३ तथा सन्तोषबहादुर चन्द र सुरज तिरुवाले १–१ विकेट लिएका थिए ।

जवाफमा त्रिवि टिम ४३ ओभरमा १ सय ७३ रनमा अलआउट भयो । ओपनर लकी कडायत ९९ रनमा आउट भए । विवेकको बलमा एलबीडब्लू आउट हुनुपूर्व उनले १ सय १५ बल खेल्दा ९ चौका र ४ छक्का प्रहार गरे । अकिल खान १६, सुरज र अशोक सुनार समान १२ रनमा आउट भए । ललितपुरबाट तिलकराज भण्डारीले ४ र प्लेयर अफ द म्याच विवेकले ३ विकेट लिए । तिलकले १० ओभरमा ३६ र विवेकले ६ ओभरमा २७ रन खर्चे । भार्गव खनाल र सादित्य बञ्जाराको नाममा १–१ विकेट रह्यो ।

भक्तपुरको पहिलो जित

भक्तपुरले पहिलो जित हात पार्नेक्रममा मकवानपुरलाई ४१ रनले पराजित गरेको छ । टस हारेपछि ब्याटिङ निम्तो पाएको भक्तपुर माथिल्लो मूलपानी मैदानमा ४८.१ ओभरमा २ सय ४५ रनमा अलआउट भयो । रिङजिन लामाले सर्वाधिक ७८ रन बनाए । उनले ८९ बल खेल्दा ९ चौका र २ छक्का प्रहार गरे । 

रिङजिन र सौरभ साखकर्मीले २१ ओभरभित्र पहिलो विकेटमा ८३ रनको साझेदारी गरे । सौरभले ६६ बल खेलि ४ चौका र १ छक्कासहित ३३ रन बनाए । शिवम तिवारीले ६१ रन जोडे । प्लेयर अफ द म्याच उनले ६७ बल खेल्दा ३ चौका र २ छक्का प्रहार गरे । सागर घिमिरे २५, सक्रियप्रताप कार्की १७ रनमा आउट भए भने अविनाश बस्याल १४ रनमा अविजित रहे । मकवानपुरका रिजन ढकालले ९.१ ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । साकर गजुरेल र विशाल फुयालले २–२ तथा असिम श्रेष्ठ र रोहितकुमार विष्टले १–१ विकेट लिए । 

जवाफमा मकवानपुर ४३ ओभरमा २ सय ४ रनमा अलआउट भयो । विशालले सर्वाधिक ५३ रन जोडे । उनले ५८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । कप्तान सुमन सुनारले ३१ रन बनाए । उनले ५० बलमा १ चौका र २ छक्का प्रहार गरे । शुभ कंसाकारले १९ बलमा २ चौका र ३ छक्कासहित २९, गोकुल अधिकारीले २२, युविन बुढाथोकीले २० रन बनाए । भक्तपुरका कप्तान क्रिस कार्कीले ३ विकेट लिए । उनले १० ओभरमा ४९ रन खर्चे । सुवास खत्री र अविनाशले २–२ तथा शिवमले १ विकेट लिए । 

पवनको शतक

पवनबहादुर थापाको शतकप्रेरित चितवनले तल्लो मूलपानी क्रिकेट मैदानमा नुवाकोटमाथि १ सय ७७ रनको जित पायो । पवनले ९८ बलमा १ सय ७ रन बनाएपछि टस हारेपछि ब्याटिङमा आएको चितवनले ५० ओभरमा ९ विकेट गुमाई ३ सय ६१ रन बनाएको थियो । पवनले ८ चौका प्रहार गरे ।

रोशन झाले ३८ बलमा १० चौका र २ छक्कासहित ६०, दीपेश श्रेष्ठले ३८ बलमा ६ चौका र १ छक्कासहित ५६, कप्तान गौतम केसीले ३३ बलमा ६ चौका र १ छक्कासहित ४७, प्रतीक श्रेष्ठले ३६ बलमा ५ चौकासहित ३६ रन बनाए । नुवाकोटका विधान खतिवडा र गणेश गौतमले ३–३ विकेट लिए । गणेशले १० ओभरमा ३६ रनमात्र खर्चे पनि विधानको १० ओभरमा चितवनले ८७ रन प्रहार गरेको थियो । अजय बिकले १ विकेट लिए । 

नुवाकोट ४२.५ ओभर खेल्दै १ सय ८४ रनमा अलआउट भयो । अनुभव खनालले ७९ बल खेलि ७ चौकासहित ५७, रोशन बिकले २२ बलमा ४ चौका र १ छक्कासहित ३१, गणेशले १५, अजयले १३ र कप्तान राजेश रिमालले १२ रन बनाए । चितवनबाट प्रतीकले ३ विकेट लिए । उनले ५ ओभरमा २२ रन खर्चे । गौतमले ८.५ ओभरमा ४२ र कृजन गुरुङले ८ ओभरमा ३४ रन खर्चेर २–२ विकेट लिए । दीपेश र सौगात ढकालको नाममा १–१ विकेट रह्यो ।

कान्तिपुर

Link copied successfully