पाँच इरानी फुटबलरलाई अस्ट्रेलियामा शरण

गत साता दक्षिण कोरियासँग भएको खेलमा आफ्नो राष्ट्रिय गान गाउन अस्वीकार गरेका इरानीयन महिला फुटबल टिमका खेलाडीहरू आफ्नो देश फर्किएमा खतरा हुनसक्ने सम्भावनापछि अस्ट्रेलियाले मानवीय भिसा प्रदान गरेको छ ।

फाल्गुन २७, २०८२

नारायण खड्का

Five Iranian footballers granted asylum in Australia

अस्ट्रेलिया — एसियन कप फुटबल प्रतियोगितामा भाग लिन अस्ट्रेलिया आएका इरानी महिला फुटबल टिमका ५ जनालाई अस्ट्रेलिया सरकारले शरण दिएको छ । गत साता दक्षिण कोरियासँग भएको खेलमा आफ्नो राष्ट्रिय गान गाउन अस्वीकार गरेका इरानीयन महिला फुटबल टिमका खेलाडीहरू आफ्नो देश फर्किएमा खतरा हुनसक्ने सम्भावनापछि अस्ट्रेलियाले मानवीय भिसा प्रदान गरेको छ ।

इरानी महिला फुटबल टिम एसियन कप प्रतियोगिता खेल्न करिब १ महिनाअघि अस्ट्रेलिया आएका थिए । सम्पूर्ण इरानी फुटबल टिमका खेलाडीलाई अस्ट्रेलियाले सहयोग गर्ने बताए पनि ५ खेलाडीले मात्र शरण लिने निर्णय गरेका थिए । अस्ट्रेलियाका अध्यागमनमन्त्री टोनी बर्कले उनीहरूको भिसा प्रक्रियालाई प्रमाणित गरेका हुन् । भिसा दिएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको मन्त्री बर्कले जानकारी दिए । बीबीसीका अनुसार शरण लिने खेलाडीमा फतेमा पासानडिडेह, जाहरा घानबारी, जाहरा सरबाली, अतेफे रामाजानजाडेह र मोना हमौदी छन् ।

अस्ट्रेलियाले मानवीय भिसा कार्यक्रमअन्तर्गत स्थायी सुरक्षासहित शरणार्थीका रूपमा सहयोग गर्ने गरेको छ । त्यसमा उनीहरूले बस्ने, अध्ययन गर्ने र काम गर्न पाउँछन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले उनीहरू सुरक्षित रहेको र अस्ट्रेलियालाई आफ्नो घरका रूपमा सुरक्षित महसुस गर्न सक्ने बताएका छन् । अस्ट्रेलियाका विपक्षी दलका नेपाल एङ्गस टेलरले समेत सरकारको यो निर्णयप्रति समर्थन गरेका छन् ।

यसै विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत प्रधानमन्त्री अल्बानिजीलाई सहयोग पुर्‍याउन आग्रह गरेका थिए । ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै ५ जनालाई सहयोग पुर्‍याइसकेको जनाउँदै प्रधानमन्त्री अल्बानिजीले राम्रो काम गरेको उल्लेख गरेका छन् । अस्ट्रेलिया सरकारले इरानी फुटबल टिमका सबैलाई सहयोग पुर्‍याउने बताएको छ । प्रधानमन्त्री अल्बानिजीले सहयोग आवश्यक भए अस्ट्रेलियामा सहयोग उपलब्ध रहेको बताएका छन् ।

इरानीयन महिला फुटबल टिम खेलको सुरुवातमा राष्ट्रियगान नगाई चुप बसेका थिए । जसले अन्तर्राष्ट्रिय रूपमा सञ्चारमाध्यममा चर्चा पाएको थियो । उनीहरू फर्किएर गएमा असुरक्षित हुन सक्ने आशंकाबीच अस्ट्रेलियाले सहयोगको हात अघि बढाएको हो । 

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully