सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार मिडियासामु अध्यक्ष श्रेष्ठले भने, ‘एन्फामा साँच्चै लिग गर्ने भावना नै छैन । ए डिभिजन क्लबहरूलाई अप्ठ्यारोमा पार्न मात्र लिग गर्ने कुरा हुन्छ ।’
काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक लिग ‘ए’ डिभिजन आयोजनाको नयाँ मिति घोषणाबारे सहभागी हुने क्लबले यसबारे आफूहरूलाई नसोधिएको आरोप लगाएका छन् । मछिन्द्र क्लबका अध्यक्ष अनिल श्रेष्ठ एन्फाबाट ‘ए’ डिभिजन लिगका लागि वातावरण बनाउँदै लैजाने बताइएको तर अहिले खेलाडी आएर दबाब दिएपछि देखावटी रूपमा मात्र प्रतियोगिताको मिति तोकिएको दाबी गरे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार मिडियासामु अध्यक्ष श्रेष्ठले भने, ‘एन्फामा साँच्चै लिग गर्ने भावना नै छैन । ए डिभिजन क्लबहरूलाई अप्ठ्यारोमा पार्न मात्र लिग गर्ने कुरा हुन्छ ।’
यस्तै फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वास विक्रम शाहले पनि यसअघि ‘ए’ डिभिजन लिग हुनेबारे क्लबसँग कुनै छलफल नभएको दाबी गर्दै अहिले दबाबमा यसबारे घोषणा भएको बताए । उनले भने, ‘एन्फाले झुटो मात्र बोल्ने काम गरिरह्यो भने हामी पनि आक्रामक भएर आउने छौं । हामी ६ महिना चल्ने लिग पनि खुसीले खेल्ने छौं ।’
उनले थपे, ‘एन्फाले प्रतियोगिताको तालिका बनाउँदा पनि क्लबहरूलाई बोलाउने काम हुन्न । आज जुन निर्णय भयो, त्यो एकलौटी भयो । हामीसँग केही सल्लाह नै भएको छैन ।’
एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले एन्फाको प्रस्तावित निर्वाचनलाई लिएर अन्योल रहेको बताए । उनले निर्वाचन तालिकाबारे आफूहरूलाई औपचारिक रूपमा कुनै जानकारी नआएको पनि सुनाए ।
एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले अहिले राष्ट्रिय लिगको जसरी आयोजना भइरहकेको छ, त्यसको पनि आलोचना गरे । उनले भने, ‘दिनमै ३–४ खेल भइरहेको छ । त्यसमध्ये पहिलो खेल त बिहानको १० बजे हुने गरेको छ । अहिले नेपाली फुटबल विकेन्द्रीकरण पनि हुन सकेको छैन । हाम्रो माग हो, दीर्घकालीन र स्थायी रूपमा ए डिभिजन लिग हुने तालिका हुनुपर्छ ।’
हिमालयन शेर्पा क्लबका अध्यक्षसमेत रहेका शेर्पाले क्लबलाई गृह मैदान उपलब्ध गराउने एन्फासँगको सम्झौताअनुसार काम नभएको पनि बताए । एन्फाबाट नियम विपरीत काम भइरहेको आरोप लगाउँदै उनले भने, ‘हामीले फिफा र एएफसीसँगको समन्वयमै निर्वाचन तालिका बनाएका थियौं । अहिले नयाँ जनादेश लिने हो भने त्यो पुरानो मतदाताबाट सम्भव हुन्न ।’
अध्यक्ष शेर्पाले थपे, ‘अहिलेकै स्थितिमा चुनाव हुने हो भने अधिनायकवाद हाबी हुन्छ । हाम्रो माग तहगत निर्वाचन हुनुपर्छ, यही कुरा राष्ट्रिय खेलकुद परिषद्को निर्देशनबाट पनि आएको छ । यस्तो भएन भने नेपाली फुटबल दुर्घटनामा पर्छ । अहिले नै नेपाली फुटबल असफल भइसकेको छ ।’
एन्फा र खेलाडीबीच सम्झौता
त्यसअगाडि एन्फा र नेपाल फुटबल खेलाडी संघबीच सहिद स्मारक लिग ‘ए’ डिभिजनको उट्घाटन खेल चैत ३० गते आयोजना गर्ने सहमति भएको थियो । खेलाडी संघले आइतबार मात्रै विभिन्न माग राखेर सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको गेटमा तालाबन्दी गरेको थियो । सहमतिपछि ताला खोल्ने काम भएको हो । सहमतिको जानकारी एन्फा प्रवक्ता सुरेश साहले मंगलबार पत्रकार सम्मेलन गरी दिएका थिए ।
खेलाडी संघका अध्यक्ष विक्रम लामाले आफूहरूको लामो समय संघर्षपछि एन्फा नेतृत्व ‘ए’ डिभिजन लिग गराउने विषयमा स्पष्ट भएको दाबी गरे । उनका अनुसार यसअघि एन्फाले लिग गर्ने भनेर दोहोर्याएर भनेता पनि मिति भने तोकिएको थिएन । त्यस अवसरमा एन्फाको प्रतियोगिता निर्देशक सन्जिव मिश्रले अहिले चलिरहेको राष्ट्रिय लिगको खेल तालिका मिलाएर ‘ए’ डिभिजनको खेल तालिका बनाउने बताए ।
त्यसअनुसार राष्ट्रिय लिग चाँडै टुंग्याएर चैत ३० मा ए डिजिजन लिगको एउटा खेल राख्ने र त्यसपछि वैशाख २० देखि भने लिग नियमित हुने निर्देशक मिश्रले बताए । ‘ए’ डिभिजनको पछिल्लो संस्करण ०७९ सालमा भएको थियो र त्यसयता हजार दिनभन्दा बढी कटिसक्दा पनि अर्को संस्करणको आयोजना हुन सकेको छैन । अबको ‘ए’ डिभिजन लिगमा एपीएफ वा थ्रीस्टारमध्ये कसले भाग लिने हो, त्यो भने तय भएको छैन ।
एन्फा जाँदै थ्रीस्टार
यसबीच थ्रीस्टार क्लब एन्फा निर्वाचनमा आफ्नो मताधिकार दाबी गर्न बुधबार सातदोबाटास्थित एन्फा कम्प्लेक्स जाने भएको छ । पाटन उच्च अदालतको पूर्ण पाठ मंगलबार आएसँगै थ्रीस्टारलाई मताधिकारको बाटो खुलेको हो । त्यसअनुसार एन्फाको अनुशासन समिति र पुनरावेदन समितिले थ्रीस्टारलाई रेलिगेसनमा झार्ने निर्णय गर्दा उसलाई सुनवाइको मौका पनि नदिएको उल्लेख छ । त्यसैले थ्रीस्टारलाई सुनवाइको मौका दिएर एन्फाको अनुशासन र पुनरावेदन समितिलाई फेरि निर्णय गर्न अदालतले आदेश दिएको छ ।
