ब्रेन्टफोर्डलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै एफएकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
काठमाडौँ — वेस्ट ह्यामले सोमबार ब्रेन्टफोर्डलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै एफएकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्लिस प्रिमियर लिगमा रेलिगेसन तनावबाट गुज्रिरहेको वेस्ट ह्याम एफएकपको क्वाटरफाइनलमा पुगेको भने यो दस वर्षयता पहिलो पटक हो ।
ब्रेन्टफोर्डका लागि डान्गो क्वाटारा पेनाल्टीमा चुकेपछि कोन्सटान्टिनोस माभरोपानोसले वेस्ट ह्यामका लागि पेनाल्टीमा निर्णायक गोल गरे । त्यस अगाडि निर्धारित समयको खेलमा २–२ को बराबरीमा टुंगेको थियो । त्यसमा वेस्ट ह्यामका लागि जारोड बावेनले पहिलो हाफमै दुई गोल गरे ।
ब्रेन्टफोर्डबाट सम्भव दुवै गोल भने थिएगोको नाममा रह्यो । यस नतिजासँगै एफएकपको अन्तिम आठको समीकरण पूरा भएको छ र ड्र पनि निकालिएको छ । त्यस अनुसार वेस्ट ह्यामले अब लिड्स युनाइटेडको सामना गर्नेछ । यस्तै आर्सनलले साउथह्याम्पटन, चेल्सीले पोर्ट भेल र म्यानचेस्टर सिटीले लिभरपलसँग खेल्नेछ ।
