सेस फाब्रिगास मुख्य प्रशिक्षक रहेको कोमोको यो लिगमा लगातार तेस्रो जित हो । अबको लिग खेलमा टोलीले रोमाको सामना गर्नेछ ।
What you should know
काठमाडौँ — इटालीको सिरी ‘ए’ मा अहिले कुनै एक टिमले तहल्का मचाइरहेको छ भने त्यो हो, कोमो । टोलीले काग्लियारीलाई २–१ ले हराएपछि अंक तालिकाको शीर्ष चारमा प्रवेश गर्न पनि सफल रह्यो । त्यसमा निर्णायक गोल गर्ने खेलाडी रहे, कप्तान लुकास डा कुन्हा ।
सेस फाब्रिगास मुख्य प्रशिक्षक रहेको कोमोको यो लिगमा लगातार तेस्रो जित हो । अबको लिग खेलमा टोलीले रोमाको सामना गर्नेछ । यस नतिजाले उसको स्थिति अझ स्पष्ट पार्नेछ । कोमोको अहिलेको प्रदर्शनले लिग तालिकाको शीर्ष चारमा रहेर अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने होड पनि रोमाञ्चक भएको छ ।
कोमोले अहिलेसम्म युरोपमा खेलेको छैन । तर यस सिजनको प्रदर्शनले इटालीको घरेलु फुटबलको शक्ति सन्तुलन फेरिने छाँट मिलेको छ । काग्लियारीलाई हराएपछि फाब्रिगासले भने, ‘हाम्रा खेलाडीले जसरी खेलिरहेका छन्, त्यसमा म निकै खुसी छु । यो जितले प्रमाणित गरेको छ, यो टिमको प्रदर्शनमा अझ सुधार आउने छ ।’
पछिल्लो साता मात्रै कोमोले इटालियन कप सेमिफाइनल पहिलो लेगमा सिरी ‘ए’ को शीर्षमा रहेको इन्टर मिलानलाई गोलरहित बराबरीमा रोकेको थियो । अब दोस्रो लेगको सेमिफाइनल खेल्न कोमो सान सिएरो जानेछ । फाब्रिगास थप्छन्, ‘अहिले हाम्रो टिम थाकेको छ, किनभने लगातार धेरै खेल खेलिरहनुपरेको छ । त्यसैले पनि यो जितमा म बढी खुसी भएको हुँ । हाम्रो टिम पनि कम्तीको छैन भनेर यसलै भन्छ ।’
काग्लियारीविरुद्ध कोमोले मार्टिन बाटुरिनाको गोलमा अग्रता लिएको थियो, तर सेबास्टिनो इस्पोसिटोको गोलले खेल बराबरीमा आएको थियो । यस्तोमा ७६ औं मिनेटमा फ्रान्सेली खेलाडी डा कुन्हाले निर्णायक गोल गरेका थिए । क्लबमा फाब्रिगास जोडिएयता कोमोले अविश्वसनीय प्रगति गरेको छ । सन् २०२२ मा उनी खेलाडी र क्लबमा सेयर होल्डरका रूपमा प्रवेश गरेका थिए र त्यसयता लगातार त्यसमै कायम छन् ।
त्यसको अर्को वर्ष कोमोकै खेलाडीका रूपमा संन्यास लिए र टिमको सहायक प्रशिक्षक भए । सन् २०२४ मा कोमो सिरी ‘ए’ मा उक्लन सफल रह्यो । त्यसपछि उनी मुख्य प्रशिक्षक भए । यो सिजन उसले हात पारेको सबैभन्दा ठूलो जितका रूपमा युभेन्ट्सलाई हराउनु रहेको छ । फाब्रिगासले क्लबसँग चार वर्षको अनुबन्ध गरेका छन् र लामो समय त्यहीं बिताउने बताएका छन् ।
सन् १९०७ मा स्थापित कोमोको स्वामित्व अहिले हारटोटो ब्रदर्सको हातमा छ । उनीहरू फुटबल क्लबको मालिकका रूपमा इटालीमा सबैभन्दा धनी हुन् । क्लबमा फाब्रिगाससँगै अर्का पूर्व खेलाडी थिएरी हेनरीको पनि सेयर रहेको छ ।
२००४ मा भने कोमो गम्भीर आर्थिक समस्यामा परेको थियो र टाटपल्टेको घोषणासँगै व्यवसायिक फुटबलमा सहभागी हुनबाट टोलीलाई रोक लगाइएको थियो । सन् २०१७ मा सिरी ‘डी’ बाट कोमोले फेरि खेल्न थालेको हो ।
