५ इरानी महिला फुटबलरलाई अस्ट्रेलियाले दियो शरण

दक्षिण कोरियासँग भएको खेलमा आफ्नो राष्ट्रिय गान गाउन अस्वीकार गरेका उनीहरू आफ्नो देश फर्किएमा खतरा हुन सक्ने सम्भावनापछि अस्ट्रेलियाले मानवीय भिसा दिलाएको हो ।

फाल्गुन २६, २०८२

नारायण खड्का

Australia grants asylum to 5 Iranian female footballers

What you should know

अस्ट्रेलिया — एसियन कप फुटबल प्रतियोगितामा सहभागी हुन अस्ट्रेलिया आएका महिला फुटबल खेलाडीमध्ये ५ जनालाई अस्ट्रेलिया सरकारले शरण दिएको छ ।

गतसाता दक्षिण कोरियासँग भएको खेलमा आफ्नो राष्ट्रिय गान गाउन अस्वीकार गरेका इरानीयन महिला फुटबल टिमका खेलाडीहरु आफ्नो देश फर्किएमा खतरा हुन सक्ने सम्भावनापछि अस्ट्रेलियाले मानवीय भिसा प्रदान गरेको हो ।

इरानी महिला फुटबल टिम एसियन कप प्रतियोगिता खेल्नका लागि करिब १ महिनाअघि अस्ट्रेलिया आएका थिए । सम्पूर्ण इरानी फुटबल टिमका खेलाडीलाई अस्ट्रेलियाले सहयोग गर्ने बताए पनि ५ खेलाडीले मात्र शरण लिने निर्णय गरेका थिए । अस्ट्रेलियाका अध्यागमनमन्त्री टोनी बर्कले उनीहरुको भिसा प्रक्रियालाई प्रमाणित गरेका हुन् । भिसा दिएपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको मन्त्री बर्कले जानकारी दिए । बीबीसीका अनुसार शरण लिने खेलाडीमा फतेमा पासानडिडेह, जाहरा घानबारी, जाहरा सरबाली, अतेफे रामाजानजाडेह र मोना हमौदी छन् ।

अस्ट्रेलियाले मानवीय भिसा कार्यक्रमअन्तर्गत स्थायी सुरक्षासहित शरणार्थीका रुपमा सहयोग गर्ने गरेको छ । जसमा उनीहरु यहाँ बस्न, अध्ययन गर्न र काम गर्न सक्छन् । अस्ट्रेलियाका प्रधानमन्त्री अन्थोनी अल्बानिजीले उनीहरु सुरक्षित रहेको र अस्ट्रेलियालाई आफ्नो घरका रुपमा सुरक्षित महसुस गर्नसक्ने बताएका छन् । अस्ट्रेलियाका विपक्षी दलका नेपाल एङ्गस टेलरले समेत सरकारको यो निर्णयलाई समर्थन गरेका छन् ।

यसै बिषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत प्रधानमन्त्री अल्बानिजीलाई सहयोग पुर्‍याउन आग्रह गरेका थिए । उनले आफ्नो सामाजिक सञ्जालमा लेख्दै ५ जनालाई सहयोग पुर्‍याइसकेको जनाउँदै प्रधानमन्त्री अल्बानिजीले राम्रो काम गरेको उल्लेख गरेका छन् । अस्ट्रेलिया सरकारले इरानीयन फुटबल टिमका सबैलाई सहयोग पुर्‍याउने बताएको छ । प्रधानमन्त्री अल्बानिजीले सहयोग आवश्यक भए अस्ट्रेलियामा सहयोग उपलब्ध रहेको बताएका छन् ।

इरानीयन महिला फुटबल टिमले खेलको सुरूवातमा आफ्नो राष्ट्रियगान नगाई चुप बसेका थिए । जसले राष्ट्रिय रुपमा सञ्चारमाध्यममा चर्चा पाएको थियो । उनीहरु फर्किएर गएमा असुरक्षित हुन सक्ने आशंकाबीच अस्ट्रेलियाले सहयोगको हात अघि बढाएको थियो ।

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully