भारतीय कप्तान सूर्यकुमार यादव भन्छन्, ‘अब हाम्रो उद्देश्य २०२८ को ओलम्पिकमा स्वर्ण जित्नु हो’
What you should know
नयाँ दिल्ली — भारतले जसरी ट्वान्टी–२० विश्वकप जितेको छ, त्यसको बयान गर्न विराट काहेलीले प्रयोग गरेको शब्द हो, अद्वितीय । उनी मात्र के, पूरा भारतले आफ्नो क्रिकेट टिमको सफलतालाई खुसीमा मनाइरहेका छन् । भारत प्रतियोगिताको सह–आयोजक मात्र थिएन, उपाधिका लागि सुरुदेखि बलियो प्रत्याशी पनि थियो ।
भारतले त्यसकै छनक दिँदै आइतबारको फाइनलमा न्युजिल्यान्डलाई ९६ रनले हरायो, त्यो पनि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा उपस्थित ८६ हजार समर्थकसामु । यसक्रममा भारत घरेलु भूमिमा ट्वान्टी–२० विश्वकप जित्ने पहिलो टिममात्र भएको छैन, डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधिको सफलतापूर्वक रक्षा गर्ने टिम पनि भएको छ । अझ त्यो भन्दा ठूलो, भारत ट्वान्टी–२० विश्वकपको तीनपल्ट च्याम्पियन भएर सबैभन्दा सफल टिम बनेको छ ।
भारतीय मिडियाले पनि सूर्यकुमार यादवको नेतृत्वमा रहेको टिमको खुबै प्रशंसा गरेको छ । सबैभन्दा बढी बिक्री हुने टाइम्स अफ इन्डियाले भारतीय टिमले नयाँ इतिहास रचेको संज्ञा दिएको छ, त्यो पनि बाक्लो मसीले । उसले आफ्नो पहिलो पानामा लेखेको छ, ‘फाइनलमा भारतले जसरी उपाधि जितेको छ, त्यो त राज्याभिषेक जस्तै रह्यो, यो त उपाधि जितमा मात्र सीमित रहेन । खासमा भारत अब ट्वान्टी–२० किंग्स भएको छ ।’
यस्तै इन्डियन एक्सप्रेसको अंग्रेजी संस्करणले भारतीय टिमको सफलता यात्रा ठूलो उपलब्धि भएको बताएको छ । उसले भारतीय टिमको सफलता पछाडि प्रशिक्षक गौतम गम्भिरको पनि ठूलो हात रहेको बताउँदै टिमले तय गरेको यात्राको निर्माता उनी भएको जनाएको छ ।
विश्वको सबैभन्दा बढी जनसंख्या भएको भारतमा क्रिकेट सबैभन्दा लोकप्रिय विधा रहेको छ । यो यहाँको समाज र संस्कृतिमा जरासम्म नै गढेको छ । भारतमा जति नै धेरै विविधता भएता पनि तिनलाई एकताको ल्याउने सूत्र भनेको खेलाडी नै रहेका छन् । भारतले मध्यरातमा उपाधि उचाल्दा हजारौं समर्थकले दिल्लीको इन्डिया गेटमा आफ्नो देशको भण्डा बोकेर खुसीयाली मनाए । उनीहरूले यसक्रममा बलिउड संगीतमा नृत्य पनि गरे ।
सचिन तेन्दुलकरले पनि भारतीय टिम उपाधि जितको पूरा हकदार रहेको बताएका छन् । उनले भनेका छन्, ‘भारतीय टिमको प्रदर्शन वास्तवमै उत्कृष्ट रह्यो । भारतले विशेष खाले आफ्नो क्रिकेटको शैली प्रस्तुत गरेको छ ।’ उनले त्यो विशेष भन्न चाहेको शैली भने भारतको डरविनाको आक्रामक क्रिकेट हो ।
नरेन्द्र मोदी स्टेडियममा भएका हजारौं समर्थकले पनि भव्य उत्साहले खुसी मनाए । यो विशेष पनि रह्यो । किनभने यो त्यही मैदान थियो, जहाँ भारतले सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा हारको सामना गरेको थियो । कोहलीले भनेका छन्, ‘पूरा प्रतियोगितामा भारतले जसरी खेल्यो, यो अतुलनीय नै छ ।’
ओलम्पिकको स्वर्ण लक्ष्य
लगातार दोस्रोपल्ट ट्वान्टी–२० विश्वकपको उपाधि जितेपछि कप्तान सूर्यकुमार यादवले भनेका छन्, अब आफ्नो टिमको उद्देश्य भनेको सन् २०२८ को ओलम्पिकमा स्वर्ण जित्नु हो । ओलम्पिकमा यसपल्ट क्रिकेट फर्कंदै छ । भारत यसमा पनि ऐतिहासिक प्रदर्शन गर्न चाहन्छ ।
सूर्यकुमारले फाइनलपछि मिडियासँगको कुराकानीमा भने, ‘यो जित विशेष रह्यो, अब यस्तै प्रदर्शन अबको ओलम्पिकमा गर्नुपर्छ । हामी त्यही वर्ष हुने ट्वान्टी–२० विश्वकप फेरि पनि दोहोर्याएर जित्न चाहन्छौं । ।’ यसपल्टको ओलम्पिकमा सन् १९०० पछि पहिलो पटक क्रिकेटले प्रवेश पाउँदै छ ।
