श्रीलंका र अफगानिस्तानबीच शारजहाँमा मार्च १३, १५ र १७ मा ट्वान्टी-२० र मार्च २०, २२ र २५ मा एकदिवसीय शृंखला खेल्ने कार्यक्रम रहेको थियो ।
कोलम्बो — श्रीलंकाले अफगानिस्तानविरुद्ध यूएईमा हुन लागेको एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अनिश्चित कालका लागि स्थगित गरेको जनाएको छ ।
श्रीलंका र अफगानिस्तानबीच शारजहाँमा मार्च १३, १५ र १७ मा ट्वान्टी-२० र मार्च २०, २२ र २५ मा एकदिवसीय शृंखला खेल्ने कार्यक्रम रहेको थियो ।
‘हामीले विमान उडानको स्थिति र त्यस क्षेत्रको द्वन्द्वका कारण आउदो शृंखला रद्ध गर्नु परेको हो,’ श्रीलंकाका एक अधिकारीले एएफपीलाई बताए । अफगानिस्तानले श्रीलंकासँग द्विपक्षीय शृंखला आयोजना गर्न लागेको यो पहिलो अवसर थियो । तर अमेरिका र इरानले फेब्रुअरी २८ यता इरानमा आक्रामण गरेयता मध्यपूर्व तनाव रहेको छ ।
इरानले यूएईको दुबईलगायत गल्फ क्षेत्रमा जवाफी आक्रमण गरेपछि त्यसको वरपरबाट उड्ने अधिकांश अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । युद्धको रापबाट उठ्दै गरेको अफगानिस्तानले अहिलेसम्म घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना गर्न सकेको छैन । उसले आफ्ना घरेलु शृंखला भारत र यूएईमा खेल्दै आएको छ ।
श्रीलंकाले सोमबार मात्र दक्षिण अफ्रिकाका पूर्व टेस्ट खेलाडी ग्यारी क्रिस्टनलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको थियो । सहआयोजक भएर आफैंले आयोजना गरेको ट्वान्टी-२० विश्वकपको ‘सुपर एट’ भन्दा माथि उठ्न नसकेपछि प्रशिक्षक सनथ जयसूर्याले राजीनामा दिएका थिए । क्रिस्टनले जयसूर्याको स्थान लिन लागेका हुन् ।
श्रीलंका क्रिकेटले अप्रिल १५ देखि लागू हुने गरी क्रिस्टनलाई २ वर्षका लागि अनुबन्ध गरिएको जनाएको थियो । क्रिस्टन यसअघि २००८ देखि २०११ सम्म भारतका प्रशिक्षक रहेका थिए र भारतलाई २०११ को एकदिवसीय विश्वकपको उपाधि दिलाएका थिए । त्यसबाहेक उनी २०११ देखि २०१३ सम्म दक्षिण अफ्रिकाको प्रशिक्षक रहेका थिए ।
