भारत तेस्रो पटक ट्वान्टी–२० विश्वकप च्याम्पियन

प्लेयर अफ द फाइनल भारतका जस्प्रित बुमराहले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिए । अक्षर पटेलले ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

India wins T20 World Cup for the third time

काठमाडौँ — अहमदाबाद (एएफपी)– भारतले आइतबार न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ । २ सय ५६ रनको विजय लक्ष्य लिएर आएको न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमा अलआउट भयो । 

कामचलाउ स्पिनर अभिषेक शर्माले न्युजिल्यान्डका अन्तिम ब्याटर ज्याकोब डफीलाई आउट गरेपछि भारतको विजयले अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा उपस्थित ८६ हजार समर्थकलाई खुसी बनाएको थियो । अधिकांश समर्थक भारतका रहेका थिए । भारत यही मैदानमा २०२३ को एकदिवसीय विश्वकप फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । न्युजिल्यान्ड यस पटक पनि फाइनलमा चुक्न पुग्यो । 

न्युजिल्यान्डले अझै सेतो बलमा विश्वकप जित्न सकेको छैन । २०२१ को फाइनलमा पनि टोली अस्ट्रेलियासँग पराजित भएको थियो । त्यस्तै न्युजिल्यान्ड २०१५ र २०१९ को एकदिवसीय फाइनलमा क्रमशः अस्ट्रेलिया र इंग्ल्यान्डसँग पराजित भएको थियो ।

न्युजिल्यान्डबाट ओपनर टिम सेइफर्टले २६ बल खेली २ चौका र ५ छक्कासहित ५२ तथा कप्तान मिचेल सान्टनरले ३५ बल खेली ३ चौका र २ छक्कासहित ४३ रन बनाए ।

प्लेयर अफ द फाइनल भारतका जस्प्रित बुमराहले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिए । अक्षर पटेलले ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । 

उपाधि रक्षा गर्ने भारत पहिलो टोली भएको छ । दुई वर्षअघि वेस्ट इन्डिजमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । साथै भारत ट्वान्टी–२० विश्वकप ३ पटक जित्ने पहिलो राष्ट्र पनि भएको छ ।

वेस्ट इन्डिज र इंग्ल्यान्डले २–२ पटक जितेका छन् । ट्वान्टी–२० विश्वकपको १० संस्करणमा पहिलो पटक घरेलु टोली विजेता बनेको हो । 

यसअघि सञ्जु सामसनले ४६ बलमा ८९ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय ५५ रन बनाएको थियो । पछिल्ला दुई इनिङ्समा क्रमशः अविजित ९७ र ८९ रन बनाएका सामसनले ५ चौका र ८ छक्का प्रहार गरेका थिए । 

सामसन नै प्लेयर अफ द सिरिजमा चुनिए । उनले प्रतियोगितामा ३ सय २१ रन बनाएका थिए । ‘सपनाजस्तो भइरहेको छ, अत्यन्त खुसी र कृतज्ञ छु । शब्द छैन, भावना पनि छैन,’ अवार्ड लिएपछि उनले भने ।

उनलाई सुरुका खेलहरूमा खेलाइएको थिएन । तर पछि मध्यक्रमबाट रिंकु सिंहलाई निकालेर सामसनलाई ओपनरका रूपमा खेलाइएको थियो भने ईशान किसनलाई ओपनरबाट तेस्रो नम्बरमा पठाइएको थियो । 

भारतले ६ ओभरको पहिलो पावर प्लेमै बिनाक्षति ९२ रन जोडेर खेल आफ्नो पक्षमा ढल्काएको थियो । सामसन र अभिषेक शर्माले पहिलो विकेटमा ९८ रनको साझेदारी गरेपछि भारतले यस विश्वकपमा आफ्नो दोस्रो उच्च स्कोर बनाएको थियो । जिम्बावेविरुद्धको ‘सुपर एट’ को खेलमा पनि टोलीले २ सय ५८ रन बनाएको थियो । 

अभिषेकले २१ बलमा ५२ रन बनाए । देब्रेहाते स्पिनर रचिन रवीन्द्रको अफ स्टम्प बाहिर गएको बलमा आउट हुनुपूर्व उनले ६ चौका र ३ छक्का प्रहार गरे । प्रतियोगितामा यो उनको दोस्रो अर्धशतक हो ।

सामसन र ईशान किसन मिलेर पुनः न्युजिल्यान्डका बलरमाथि निर्मम प्रहार गरेका थिए । सामसनले रवीन्द्रलाई लगातार ३ छक्का प्रहार गर्दै प्रतियोगितामा आफ्नो तेस्रो अर्धशतक पूरा गरेका थिए । 

किसनले ५४ रन बनाए । उनले २५ बल खेली समान ४ चौका र छक्का प्रहार गरे । जिम्मी निसमले एकै ओभरमा ३ विकेट लिएका थिए । उनले सामसन, किसन र कप्तान सूर्यकुमार यादवलाई शून्यमा आउट गरेका थिए । तर त्योभन्दा अघि नै भारतले २ सय रनको स्कोरलाई उछिनिसकेको थियो । 

शिवम दुबेले अन्तिम ओभरमा निसमलाई ३ चौका र २ छक्का प्रहार गरेपछि भारतले २ सय ५० रनलाई उछिनेको थियो । दुबे ८ बलमा २६ रन बनाई अविजित रहे । भारतको ९६ रनको यस विजय ट्वान्टी–२० विश्वकपमा सबैभन्दा ठूलो रन अन्तरको विजय पनि हो । यसै विश्वकपमा भारतले नामिबियालाई ९३ रनले पराजित गरेको थियो । 

ट्वान्टी–२० विश्वकप

कहिले कहाँ विजेता उपविजेता ? 

२००७ दक्षिण अफ्रिका भारत पाकिस्तान

२००९ इंग्ल्यान्ड  पाकिस्तान श्रीलंका

२०१० वेस्ट इन्डिज इंग्ल्यान्ड अस्ट्रेलिया

२०१२ श्रीलंका वेस्ट इन्डिज श्रीलंका

२०१४ बंगलादेश श्रीलंका भारत

२०१६ भारत वेस्ट इन्डिज इंग्ल्यान्ड

२०२१ यूएई–ओमान अस्ट्रेलिया न्युजिल्यान्ड

२०२२ अस्ट्रेलिया इंग्ल्यान्ड पाकिस्तान

२०२४ अमेरिका भारत दक्षिण अफ्रिका

२०२६ भारत–श्रीलंका भारत न्युजिल्यान्ड

कान्तिपुर

Link copied successfully