सन्डरल्यान्ड र फुलहम पराजित

प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन गर्दै आएको सन्डरल्यान्डले एफए कपमा भने पोर्ट भेलविरुद्ध निराशाजनक नतिजा स्वीकार्न बाध्य भयो ।

फाल्गुन २४, २०८२

एएफपी

Sunderland and Fulham defeated

लन्डन — तेस्रो डिभिजनमा संघर्ष गरिरहेको पोर्ट भेलले आइतबार एफए कपको पाँचौं चरणमा सन्डरल्यान्डलाई स्तब्ध पारेको छ भने च्याम्पियनसिपको टोली साउथम्पटनले पनि फुलहमलाई निराश बनाएको छ । पोर्ट सन् १९५४ यता पहिलो पटक क्वार्टरफाइनल पुगेको हो ।

प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन गर्दै आएको सन्डरल्यान्डले एफए कपमा भने पोर्ट भेलविरुद्ध निराशाजनक नतिजा स्विकार्न बाध्य भयो । बेन वाइनले कसैको निगरानीमा नरहेको फाइदा उठाउँदै २८ औं मिनेटमा गरेको गोल निर्णायक सावित भएपछि पोर्ट भेलले १–० को नतिजा निकाल्यो । 

जोन ब्राडीको टोली तेस्रो डिभिजनको पुछारमा रहेको छ र टोली रेलिगेसनमा पर्ने निश्चित जस्तै छ । यही टोलीले चौथो चरणमा दोस्रो डिभिजनको टोली बिस्टोल सिटीलाई पराजित गरेको थियो । पाँचौं चरणमा इंग्लिस फुटबलको पिरामिडमा आफूभन्दा ५६ औं स्थान माथि रहेको सन्डरल्यान्डमाथि पोर्ट भेलले सनसनी प्रदर्शन गरेको हो । 

पोर्ट भेलको यस प्रदर्शनले पप स्टार रोबी विलियम्सलाई उत्साहित बनाएको छ । बुर्सलेम स्थित भेल पार्क रंगशाला नजिक हुर्किएका उनी अहिले यस क्लबका अध्यक्ष हुन् । 

साउथम्पटनले पनि कार्भन कटेजमा फुलहममाथि १–० को जित निकाल्यो । रोस स्टेवार्टले इन्जुरी टाइममा आरामदायी पेनाल्टी गोल गरी साउथम्पटनलाई विजयी बनाए । फुलहमका व्यवस्थापक मार्को सिल्भाका लागि यो हार निकै पीडादायी रह्यो । सप्ताहन्तमा वेस्ट ह्यामसँग १–० ले पराजय भएको खेलबाट सिल्भाले ९ खेलाडी परिवर्तन गरेका थिए, जसको मूल्य उनले चुकाउनुपर्‍यो । 

शनिबार राति भएको खेलमा १० खेलाडी परिवर्तन गरेको म्यानचेस्टर सिटीले न्युक्यासललाई ३–१ ले पराजित गरेको थियो । सेन्ट जेम्स पार्कमा घरेलु टोली न्युक्यासलले हार्भी बार्नसको गोलमा १८ औं मिनेटमा अग्रता लिएको थियो । उनले सान्ड्रो टोनालीको पासलाई सदुपयोग गरेका थिए । 

सिटीले ३९ औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो । जेरेमी डोकुले गरेको शक्तिशाली प्रहार साभिन्होको खुट्टामा लागेर गोल भएको थियो । मध्यान्तरपछि इजिप्टका फरवार्ड ओमार मार्समोउसले २ गोल गर्दै सिटीलाई विजयी बनाए । सिटी यस सिजनका एफए कपसहित प्रिमियर लिग, लिग कप, च्याम्पियन्स लिग गरी सबै चार उपाधिको दौडमा रहेको छ र पेप ग्वार्डिओलाको टोलीले बुधबार रियल म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा खेल्दै छ । 

चेल्सीले १० खेलाडीमा सीमित रेक्सहमलाई ४–२ ले पराजित गर्‍यो । तर त्यसअघि चेल्सी खेलमा दुई पटक पराजयको नजिक पुगेको थियो । रेक्सहमले खेलमा दुई पटक अग्रता लिएर बराबरीमा आउनुपरेको थियो । खेल २–२ को बराबरी रहेको समयमा इन्जुरी टाइमको तेस्रो मिनेटमा जर्ज डबसनले रातो कार्ड पाएपछि रेक्सहम १० खेलाडीमा खुम्चिएको थियो । त्यसको फाइदा उठाउँदै थप ३० मिनेटको खेलमा एलेजान्द्रो गारान्चो र जाओ पेड्रोले चेल्सीलाई विजयी बनाए । 

एएफपी

Link copied successfully