भारत तेस्रो र न्युजिल्यान्ड पहिलो पटक विश्व विजेता बन्ने होडमा

भारतका कप्तान सूर्यकमारले आफ्नो टिम चुनौती सामना गर्न तयार रहेको र आफ्नै भूमिमा विश्वकपको फाइनल खेल्नु विशेष अनुभव रहेको बताएका छन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

India in third place and New Zealand in first-ever World Cup title race

काठमाडौँ — अहमदाबाद (रोयटर्स)– भारतले ट्वान्टी–२० विश्वकपको फाइनलमा आइतबार नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्डको सामना गर्नु अगाडि कप्तान सूर्यकुमार यादवले भनेका छन्, दबाबमा खेल्नुको मज्जा नै बेग्लै छ ।

भारतसामु ट्वान्टी–२० विश्वकपको इतिहासमा पहिलो पटक उपाधि रक्षा गर्ने टिम हुने अवसर रहेको छ । त्यसका लागि भारतले न्युजिल्यान्डलाई मात्र हराएर पुग्ने छैन, एक अर्ब ४० करोड क्रिकेट समर्थकको भरोसाप्रति पनि
न्याय गर्नुपर्नेछ ।

यस्तोमा कप्तान सूर्यकमारले आफ्नो टिम चुनौती सामना गर्न तयार रहेको र आफ्नै भूमिमा विश्वकपको फाइनल खेल्नु विशेष अनुभव रहेको बताएका छन् ।

फाइनलको पूर्वसन्ध्यामा मिडियासामु प्रस्तुत हुने क्रममा उनले भने, ‘पक्कै पनि हामीमाथि दबाब छ, हामी केही आत्तिएका पनि छौं । तर म फेरि दोहोर्‍याएर भन्छु, यदि खेलमा दबाब नै छैन भने त्यसलाई खेल्नुको कुनै मज्जा छैन । म त अहिले असाध्यै धेरै उत्साहित छु ।’
उनले थपे, ‘सबै खेलाडी र टिमका सहयोगी मात्र होइन, पूरा भारत नै फाइनललाई लिएर उत्साहित रहनेछ ।’ विश्व क्रिकेटकै सबैभन्दा ठूलो रंगशालामा एक लाखभन्दा बढी समर्थक हुने अनुमान छ । यो त्यही मैदानमा हो, जसमा तीन वर्ष अगाडि अस्ट्रेलियाले भारतलाई
एकदिवसीय विश्वकपमा हराएको थियो ।

त्यसैले पनि यसपल्ट भारतमाथि ट्वान्टी–२० विश्वकप जित्ने थप दबाब छ । भारतसामु आयोजकका रूपमा पहिलो पटक ट्वान्टी–२० विश्वकप जित्ने मौका पनि छ ।

सूर्यकुमारले अहिलेका लागि भारतीय टिमले क्रिकेटबारे खासै कुराकानी गरिनरहेको पनि दाबी गरे । उनका अनुसार असरदीप सिंह र अक्षर पटेल जस्ता खेलाडी टिममा हाँसो ल्याउने काम गरिरहेका छन् । उनको भनाइ थियो, ‘टिममा यस्ता खेलाडी पनि छन्, तिनीहरूले टिममाथि रहेको दबाब कम गर्ने काम गर्छन् । अहिले क्रिकेटबारे धेरै गहन कुरा गरेर साध्य छैन । असरदीप र अक्षर मात्र होइन, जसप्रति बुमराहलाई पनि टिमलाई कसरी खुसी राख्नुपर्छ भन्ने थाहा छ ।’

‘हामी अहिले आराम गर्न चाहन्छौं, अहिले नै फाइनलमा के हुन्छ भनेर धेरै चिन्ता लिन आवश्यक छैन,’ कप्तानले भने, ‘खुसी हुन सक्ने क्षमता
पनि महत्त्वपूर्ण हुन्छ । खुसी टिमको वातावरण सफलताको आधार हो । खेलाडीलाई स्वतन्त्रता दिनुपर्छ, तिनले के भन्न चाहेको सुन्नुपर्छ ।
सबैको के भनाइ छ, त्यसलाई सुन्नु पनि ठूलै हो ।’ सूर्यकुमारले कप्तानका रूपमा आफ्नो काम ठूला दाजु जस्तो रहेको पनि भने । उनले सबै खेलाडीलाई खुल्न मदत गर्ने पनि बताए ।

कान्तिपुर

Link copied successfully