इंग्ल्यान्डलाई भारतको डर छैन : करन

इंग्ल्यान्डले दोस्रो सेमिफाइनलमा बिहीबार उपाधिको बलियो प्रत्याशी भारतको सामना गर्दै छ । डिफेन्डिङ च्याम्पियन भारतका लागि उसका समर्थक बलियो पक्ष रहनेछ ।

फाल्गुन २१, २०८२

एएफपी

England is not afraid of India: Karan

मुम्बई — इंग्लिस अलराउन्डर साम करनले मंगलबार ट्वान्टी–२० विश्वकप सेमिफाइनलमा भारतको सामना गर्दा आफ्नो टिमलाई कुनै डर नहुने बुधबार दाबी गरेका छन् । उनले आफ्नो एक मात्र उद्देश्य वानखेडे स्टेडियमका घरेलु समर्थकलाई स्तब्ध पार्ने रहेको पनि दाबी गरे । 

इंग्ल्यान्डले दोस्रो सेमिफाइनलमा बिहीबार उपाधिको बलियो प्रत्याशी भारतको सामना गर्दै छ । डिफेन्डिङ च्याम्पियन भारतका लागि उसका समर्थक बलियो पक्ष रहनेछ । तर करन के मान्छन्– उनका अधिकांश साथी खेलाडीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलेका छन्, त्यसैले भारतीय समर्थकको बाक्लो उपस्थितिले खासै फरक पार्ने छैन । अझ विल ज्याक्स त मुम्बई इन्डियन्सकै खेलाडी रहेका छन् । बायाँ हाते सिमर करन भन्छन्, ‘कोही पनि युवा खेलाडीका लागि विश्वकप सेमिफाइनलमा भारतको सामना गर्नु सपनाजस्तै हुने गर्छ ।’

गत वर्षसम्म इंग्लिस टिममा पर्न छाडेका करनले अहिले भने बलियो पुनरागमन गरेका छन् । आईपीएलमै बलियो प्रदर्शनका कारण पनि यो सम्भव भएको हो । उनी भन्छन्, ‘भारत राम्रो टिम हो, यसमा कुनै शंका छैन । तर हामीले पनि यहाँ धेरै क्रिकेट खेलिसकेका छौं । यहाँका मैदानमा कसरी खेल्नुपर्छ, त्यो हामीलाई पनि थाहा छ । अनि हामीलाई के पनि थाहा छ भने यहाँको मैदानबाट के अपेक्षा गर्न सकिन्छ ।’

उनले थपे, ‘आईपीएलले हामीलाई धेरै सहयोग गरेको छ, यसमा पनि दुईमत छैन । वानखेडेमा पनि हामीले धेरै पल्ट खेल्यौं, त्यसैले यस मैदान थाहा नभएको केही छैन भन्दा हुन्छ ।’ इंग्ल्यान्डले प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालको सामना गर्दा वानखेडेका दर्शक उसको पक्षमा थिएनन् । त्यसमा इंग्ल्यान्ड अन्तिम बलमा विजयी रहेको थियो ।

England is not afraid of India: Karan

अझ करनले नै त्यस खेलमा अन्तिम ओभर बलिङ गरेका थिए । नेपाललाई जितका लागि ‘डेथ ओभर’ मा १० रन चाहिएको थियो तर करनले पाँच रन मात्रै दिए, अन्यथा त्यस दिन इंग्ल्यान्डले बिर्सनलायक हार बेहोर्ने थियो । पछि इटालीविरुद्धको खेलमा पनि त्यस्तै स्थिति दोहोरिएको थियो । करनले ब्याटबाट छैटौं क्रममा ब्याटिङ गर्दै गतिलो प्रदर्शनका साथ १ सय ४३ रन बनाइसकेका छन् । त्यसमा अविजित ४३ सबैभन्दा राम्रो रहेको छ । 

उनी थप्छन्, ‘हामीलाई वास्तवमै केही डर छैन । मलाई लाग्छ, दुवै टिम यस्तो चुनौतीका लागि खुसी छन् । यदि दर्शक सबै चुपचाप रहन बाध्य रहे भने त्यसले हामीलाई नै फाइदा गर्नेछ । यो हाम्रा लागि सकारात्मक पक्ष हुनेछ ।’ इंग्ल्यान्डले ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा भारतको सामना गरेको यो लगातार तेस्रोपल्ट हो । यसमध्ये जुन टिम विजयी रहेको छ, त्यही नै च्याम्पियन पनि बनेको छ ।

‘भारत नै बलियो’

इंग्लिस टिमका अर्को प्रमुख खेलाडी तथा कप्तान ह्यारी ब्रुक के मान्छन् भने भारत नै आफ्नो घरमा विश्वकप उपाधिका लागि बलियो प्रत्याशी हो । तर उनी के पनि मान्छन् भने इंग्ल्यान्ड अहिले राम्रो लयमा छ । यस्तोमा सन् २०२२ को विजेता इंग्ल्यान्ड र २०२४ को विजेता भारतबीचको खेल ‘ब्लकबस्टर्स’ हुनेछ । टीभीको माध्यमबाट लाखौंले पनि खेल हेर्ने पनि तय छ ।

ब्रुकले बुधबार भनेका छन्, ‘विश्वकप सेमिफाइनलमा खेल्नु हामी सबैका लागि सपना पूरा भएको स्थिति हो, त्यो पनि भारतविरुद्ध वानखेडेजस्तो ऐतिहासिक मैदानमा । हामीले अहिले राम्रो क्रिकेट खेलिरहेका छौं, त्यसैल हामी खेल अगाडि आत्मविश्वासी पनि छौं । हाम्रो खेल आफैंमा उत्कृष्ट नै चाहिँ होइन, तर यो कम्तीमा पनि छैन ।’

‘विश्वास गरौं, हामी सबैले आफूअनुकूल स्वतन्त्र भएर खेल्न पाओस्, हाम्रो प्रदर्शन बहादुरीपूर्ण होस् अनि भारतले कस्तो खेल्नेछ, त्यो पनि हेरौं,’ ब्रुक्सले बताए । २०२२ मा इंग्ल्यान्डले एडिलेडमा भएको सेमिफाइनलमा भारतलाई दस विकेटले हराएको थियो र त्यसपछि मेलबर्नमा भएको फाइनलमा पाकिस्तानलाई पन्छाएको थियो ।

England is not afraid of India: Karan

अर्कोतर्फ भारतले दुई वर्षअघि गुयनामा भएको सेमिफाइनलमा इंग्ल्यान्डलाई ६८ रनले पराजित गरेको थियो र त्यसपछि बारबाडोजमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई माथ दिएको थियो । ब्रुक थप्छन्, ‘भारत आफ्नै भूमिमा सबैभन्दा बलियो टिम हो नै, तर ट्वान्टी–२० क्रिकेटमा जे पनि हुन सक्छ । हामीले अहिलेसम्म जति खेल्यौं, त्यसमा कठिन संघर्षपछि जितेका छौं । विश्वकप जस्तो प्रतियोगितामा यसको पनि अर्थ हुन्छ ।’

‘भारतलाई विशेष प्रदर्शन चाहिने’

भारतीय टिमका बलिङ प्रशिक्षक मोर्ने मोर्कल भने के मान्छन् भने भारतले इंग्ल्यान्डलाई सेमिफाइनलमा हराउने भने घरेलु टिमबाट विशेष प्रदर्शन आवश्यक पर्नेछ । सन्जु सामसनको अविजित ९७ रनको मद्दतले भारतले वेस्ट इन्डिजलाई कोलकातामा भएको खेलमा हराएको थियो । मोर्कलले इंग्ल्यान्डविरुद्ध पनि यस्तै एक विशेष प्रदर्शन आवश्यक पर्नेछ ।

उनले बुधबार मिडियासँगको कुराकानीमा भने, ‘हामी कसैले पनि भनेका छैनौं कि भारतले उत्कृष्ट खेलेको छ । अहिले हामी कसरी सेमिफाइनल पुग्यौं, त्यो पनि ठूलो कुरा भएन । अबको मुख्य कुरा भनेकै अबका दुई खेल हुन् र त्यसमा भारतको प्रदर्शन कस्तो हुनेछ, त्यसको मात्र अर्थ हुनेछ । अहिलेसम्म भारत कति धेरै राम्रो टिम हो, त्यो भने प्रस्ट भइसकेको छ ।’

मोर्कल बिहीबार राति भारतको प्रदर्शन राम्रो हुने विश्वास पनि पोख्छन् । उनले भने, ‘भोलिको सेमिफाइनल अवसर आफैंमा ठूलो हुनेछ । ऐतिहासिक मैदान, अनि त्यस्तै उत्कृष्ट क्रिकेटको अपेक्षा । विश्वास गरौं, हाम्रा खेलाडीले शान्त र सन्तुलित रहेर खेल्नेछन् ।’ भारतले बुधबार साँझ वानखेडे स्टेडियममा अभ्यास पनि गरेको थियो ।

तर यो अभ्यास निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको थियो किनभने भारतीय टिम अशुभ मानिने चन्द्रग्रहणको समय छल्न चाहन्थ्यो । मोर्केले भने, ‘मलाई पनि चन्द्रग्रहणबारे बताएको थियो, त्यसै क्रममा अभ्यास पनि पछाडि सरेको थियो । तर हाम्रा लागि सबैभन्दा मुख्य कुरा के भने अभ्यास कस्तो रह्यो । एउटा तथ्य निश्चित छ, भोलिको सेमिफाइनल खेल दुई आक्रमण टिमबीचको रोमाञ्चक भिडन्त हुनेछ ।’

एएफपी

Link copied successfully