यसपल्टको इंग्लिस प्रिमियर लिगमा लिभरपुल ९० मिनेटपछिको गोलमा पराजित भएको खेल संख्या पुगेको छ, पाँच । एउटा खास सिजन कुनै टिम यसरी खेलको अन्त्यतिर गोल खाएर पराजित भएको यो नै सबैभन्दा बढी हो र यसले टिम अझ अप्ठ्यारोमा परेको हो ।
लन्डन — लिभरपुलका लागि उल्भ्ससँग २–१ ले हार्नु लाजमर्दो नै रह्यो । उसका लागि यो सिजन समस्या नै समस्या सावित भएको छ । अब त प्रशिक्षक आर्ने स्लटले पनि के मानेका छन् भने एउटा समस्या खेलको अन्त्यतिर गोल खानु पनि रहेको छ र यसलाई छुटाउनु नै पर्नेछ ।
उल्भ्सले खेल समाप्त हुन १२ मिनेट अगाडि रोड्रिगो गोमेजको गोलले अग्रता लिएपछि मोहमद सलाहले लिभरपुलका लागि बराबरी गोल फर्काए । लागिरहेको थियो, खेल अब बराबरीमा टुंगिनेछ । तर आन्द्रेले उल्भ्सका लागि गोल गरे, उनको प्रहार डिफ्लेक्ट भएको थियो र लिभरपुल गोलरक्षक एलिसन बेकर झुक्किहाले ।
यसपल्टको इंग्लिस प्रिमियर लिगमा लिभरपुल ९० मिनेटपछिको गोलमा पराजित भएको खेल संख्या पुगेको छ, पाँच । एउटा खास सिजन कुनै टिम यसरी खेलको अन्त्यतिर गोल खाएर पराजित भएको यो नै सबैभन्दा बढी हो र यसले टिम अझ अप्ठ्यारोमा परेको हो ।
स्लटले आफ्ना खेलाडीलाई जति सक्दो चाँडै यो समस्या समाधान गर्न भनिसकेका छन्, नत्र लिभरपुलको समृद्ध इतिहासमा यो सिजन सर्वथा बिर्सनलायक हुन सक्नेछ । यो सिजनको सुरुआतमा ६० करोड डलरभन्दा बढी नयाँ खेलाडीमा खर्चेका स्लट भन्छन्, ‘उल्भ्सले भन्दा हामीले नै बढी मौका बनायौं, हामीले उनीहरूलाई धेरै अवसर पनि दिएनौं, तर पनि हामी पराजित रह्यौं । यो सिजन हामीले धेरै खेल गुमाइसकेका छौं, त्यो पनि इन्ज्युरी समयमा ।’
सबैखाले प्रतियोगितामा पाँच खेलयताको पहिलो हारले लिभरपुलको अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कमजोर हुन सक्नेछ । स्लट के पनि भन्छन् भने लिभरपुलको खेल सुस्त, अपेक्षित र खराब हुन थालेको छ । सन् २०१७ यता लिभरपुल डिफेन्डिङ च्याम्पियनका रूपमा पुछारको क्लबविरुद्ध खेल गुमाउने पहिलो टिम पनि बनेको छ । त्यति बेला चेल्सी क्रिस्टल प्यालेसविरुद्ध पराजित रहेको थियो । अहिले लिभरपुल पाँचौं स्थानमा छ र गत सिजन जितेको उपाधि रक्षाको अभियान असाध्यै कमजोर सावित भएको छ ।
च्याम्पियन्स लिग छनोटको सम्भावना पातलिएपछि स्लट स्वयंको भविष्यमा पनि अन्योल छाएको छ, अब के हुन्छ भनेर । लिभरपुलले शुक्रबार नै एफए कपको पाँचौं चरणमा उल्भ्सकै सामना गर्दै छ र उसको सामु बदला लिने अवसर हुनेछ । आफूले सक्दो प्रदर्शन गर्न नसकिरहेका कप्तान भर्जिल भान डाइक पनि मान्छन्, लिभरपुलको अहिलेको कमजोर प्रदर्शनमा दोषी उनीहरू नै हो, अरूलाई दोष दिनु हुन्न ।
उनी भन्छन्, ‘हामीले आफैंलाई निराशा पार्ने खेल खेलिरहेका छौं । हाम्रो खेल वास्तवमै सुस्ताएको छ र विपक्षीले अब के हुनेछ भनेर भन्न सक्ने स्थिति बनेको छ । बलमाथि पनि हाम्रो नियन्त्रण कमजोर हुन थालेको छ । त्यति मात्र होइन, खेलका क्रममा हाम्रा कतिपय निर्णय गलत सावित भएका छन् । अहिले वास्तविमै निराशाजनक स्थिति रहेको छ । उल्भ्सविरुद्ध जसरी खेल्यौं, हामी हारकै हकदार रह्यौं ।’
