यस्ता छन् विश्वकप सेमिफाइनल खेल्ने टिम

ट्वान्टी–२० विश्वकपमा सहभागी २० टिममध्ये अहिले चार मात्र बाँकी छन् । बुधबार कोलकातामा हुने पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डको सामना गर्नेछ । बिहीबार डिफेन्डिङ च्याम्पियन भारतले इंग्ल्यान्डसाग मुम्बईमा दोस्रो सेमिफाइनल खेल्नेछ । यी चार टिम वास्तवमै कस्ता छन् त ? एएफपीको विश्लेषण :

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

These are the teams that will play in the World Cup semi-finals

काठमाडौँ — दक्षिण अफ्रिका

यस विश्वकपमा एकमात्र अपराजित टिम रहेको छ दक्षिण अफ्रिका । त्यो एडेन मारक्रमको दक्षिण अफ्रिकासामु पहिलोपल्ट विश्वकप जित्ने अवसर छ, वर्षौंको असफलतापछि । ‘चोकर्स’ नामै पाएको थियो, दक्षिण अफ्रिका । दुई वर्षअगाडि पनि दक्षिण अफ्रिका उपविजेतामै सीमित रहेको थियो । यसपल्ट दक्षिण अफ्रिकाले सात खेल खेलेको छ र सातैमा जित निकालेको छ । त्यो पनि सुपर एटमा भारत र वेस्ट इन्डिज जस्ता टिमविरुद्धको जित पनि समावेश छ । 

बलियो पक्ष : कप्तान मारक्रम लयमा छन्, सात खेलमा दुई सय ६८ रन बनाइसकेका छन् । दक्षिण अफ्रिका ब्याटिङक्रम मजबुत छ । यसमा क्विन्टन डी कक, रायन रिकेल्टन, डेवाल्ड ब्रेभिस, डेविड मिलर र ट्रिस्टन स्टब्स छन् । यी सबै ठुल्ठूला प्रहारका लागि लागि माहिर छन् । तीव्र गतिका बलर लुन्गी एनगिडीले १२ विकेट लिएका छन्, गजबको स्लोअफ कटर फालिरहेका छन् । केशव महाराज पनि कम्तीका छैनन्, आफ्नो बायाँ हाते स्पिन आक्रमणमा । 

कमजोरी : दक्षिण अफ्रिकाको केही कमजोरी छ भने त्यो मानसिकमात्र हुनसक्छ । विश्वकप जस्ता ठूला प्रतियोगितामा दक्षिण अफ्रिका अन्त्यतिर चुक्ने गर्छ । उसले पाँचपल्ट एकदिवसीय विश्वकप सेमिफाइनल खेलेको छ अनि दुईपल्ट टी २० विश्वकपमा पनि । सन् २०२४ मा बल्लतल्ल फाइनल त पुग्यो, तर त्यसमा पराजित रह्यो । ६ विकेट हातमा छँदा पनि जितका लागि अन्तिम चार ओभरमा २६ रन बनाउन सकेको थिएन र टिम अन्ततः ७ रनले हारेको थियो । पछिल्लो पटक टेस्ट च्याम्पियनसिप जित्दाका ८ खेलाडी अहिलेको टोलीमा पनि छ । 

इंग्ल्यान्ड

समूह चरणमा ह्यारी ब्रुकको टिमको प्रदर्शन उतारचढावपूर्ण रह्यो । अझभन्दा स्पष्ट सहज जित निस्केको थिएन । जस्तो, नेपालविरुद्ध अन्तिम बलको जित । तर सुपर एट पुग्दा भने इंग्ल्यान्डले लय समातेको छ । त्यसैले त यो चरणमा इंग्ल्यान्डले सहआयोजक श्रीलंकासँगै पाकिस्तान र न्युजिल्यान्डलाई हराएको थियो, त्यो पनि मज्जाले । 

बलियो पक्ष : कप्तानका रूपमा ब्रुक तेस्रो क्रममा आएका थिए । उनले पाकिस्तानविरुद्ध सानदार शतक पनि बनाए । त्यसमै टिकेर इंग्ल्यान्ड विजयी रह्यो । कप्तानका रूपमा पहिलो विश्वकपमै उनी रणनीतिकार कप्तान साबित भएका छन् । अलराउन्डर विल ज्याक्स पनि लयमै छन् । त्यसैले त उनले इंग्ल्यान्डका सात खेलमध्ये चारमा ‘प्लेयर अफ द म्याच’ अवार्ड जितेका छन् । उनी ब्याटबाट वास्तवमै आक्रमण देखिएका छन् । पहिलो दुई खेलमा केही महँगो साबित जोफ्रा आर्चर पनि राम्रो खेलिरहेका छन् । 

कमजोरी : ओपनर जस बटलर अहिले आफ्नो खेलजीवनकै सबैभन्दा खराब लयमा छन् । उनले ७ खेलमा बनाएको कुल रन भनेकै ६२ मात्र हो । गत वर्षको सेप्टेम्बरयता उनले टी–२० क्रिकेटमा अर्धशतकसमेत बनाउन सकेका छैनन् । उनमा आत्मविश्वासको पनि कमी देखिन्छ । तर इंग्ल्यान्डले आफ्ना पूर्व कप्तानलाई टिमबाट हटाउने पनि छैनन् । इंग्ल्यान्ड २०१० र २०२२ को उपविजेता हो ।

न्युजिल्यान्ड

न्युजिल्यान्डले भाग्यले सेमिफाइनल पुगेको थियो, किनभने उसको नेट रनरेट पाकिस्तानको भन्दा राम्रो थियो । न्युजिल्यान्ड सुपर एटमा इंग्ल्यान्डको हातबाट पराजित रहेको थियो । समूह चरणमा भने न्युजिल्यान्ड अहमदाबादमा भएको खेलमा दक्षिण अफ्रिकासँग पनि पराजित रहेको थियो । यस्तोमा फेरि एकपल्ट न्युजिल्यान्डले दक्षिण अफ्रिकाकै सामना गर्दै छ । 

बलियो पक्ष : टिमको सबैभन्दा ठूलो बलियो पक्ष भन्नु नै लगभग सबै अलराउन्डर खालका खेलाडी छन् । त्यसमा कप्तान पनि छन्, स्पिनर मिचेल सान्टनरको रूपमा । ग्लेन फिलिप्स र रचिन रवीन्द्र पनि । यस्तै टिममा बलिङ आक्रमणमा विविधता छ । जस्तो, लकी फर्गुसनको गति र इश सोढीको लेग स्पिन । त्यस अर्थमा सान्टनर भाग्यमानी छन् । ओपनर टिम सेफर्ट आक्रमणको सुरुआत गर्न माहिर छन् अनि टिमको फिल्डिङ सटिक छ । 

कमजारी : सेमिफाइनल पुगेका चार टिममध्ये न्युजिल्यान्ड मात्र त्यस्तो रहेको छ, जसमा एक्लैले खेल जिताउन सक्ने खेलाडीको अभाव छ । न्युजिल्यान्ड नै एक्लो त्यस्तो टिम रहेको छ, जसले सेमिफाइनल पुग्ने क्रममा दुई खेल गुमाएको छ, दक्षिण अफ्रिका र इंग्ल्यान्डविरुद्ध । न्युजिल्यान्डले टेस्ट प्रतिद्वन्द्वीमध्ये पछिल्ला सात खेलमा हराएको भनेकै श्रीलंका र अफगानिस्तान मात्र हो । सन् २०२१ को ट्वान्टी–२० विश्वकपमा न्युजिल्यान्ड उपविजेता रहेको थियो ।

भारत

डिफेन्डिङ च्याम्पियन भारतले सुपर एटमा पुगेर चाहिएको बेला त्यस्तो प्रदर्शन गरेको छ, जसले जित सम्भव पार्छ । यस्तै खेलमा भारतले जिम्बावे र वेस्ट इन्डिजविरुद्ध जित हात पारेको छ । समूह चरणमा भने सूर्यकुमार यादवको नेतृत्वमा रहेको भारतको प्रदर्शन प्रशंसायोग्य भने थिएन । भलै, आफ्नै भूमिमा भारत उपाधिको सबैभन्दा बलियो प्रत्याशी हो । अमेरिकाविरुद्धको खेलमा भारतले एक समय ७७ रन बनाउँदासम्म ६ विकेट गुमाएको थियो । त्यसमै सूर्यकुमारले ८४ रन बनाएर टिमको उद्दार गरेका थिए । 

बलियो पक्ष : सन्जु सामसन माथिल्लो क्रमका ब्याटरका रूपमा भारतका लागि सबैभन्दा ठूलो अस्त्र साबित भएको छ । वेस्ट इन्डिजविरुद्धको खेलमा उनको प्रदर्शन सानदार रह्यो । उनले एक्लै जित दिलाएको भन्दा पनि हुन्छ । जसप्रित बुमराहले फेरि एकपल्ट आफू उच्च स्तरको बलर साबित देखाएका छन् । वरुण चक्रवर्तीले स्पिन आक्रमणको सहयोगमा १२ विकेट लिइसकेका छन् । सेमिफाइनल वानखेडे स्टेडियममा हुनेछ । त्यहाँका ३५ हजार समर्थक भारतका लागि १२ औं खेलाडी हुनेछ । 

कमजोरी : अभिषेक बर्मा प्रतियोगिता सुरु हुँदा नम्बर एक ब्याटर थिए, तर त्यसपछिका तीन खेलमा शून्यमै आउट भए । उनको लय भारतका लागि समस्या हुनसक्छ । भलै, उनले जिम्बावेविरुद्ध अर्धशतक बनाए । उनको खराब लय भारतका लागि चिन्ताको विषय बनेको छ । वेस्ट इन्डिज र इंग्ल्यान्डविरुद्ध उनको प्रदर्शन खराब नै रह्यो । भारत २००७ र २०२४ को ट्वान्टी–२० विश्वकपको विजेता हो ।

कान्तिपुर

Link copied successfully