विश्वकपको एक आयोजक अमेरिकाको प्रत्यक्ष संलग्नतामा मध्यपूर्वमा द्वन्द्व बढेपछि यस्तो स्थिति तयार भएको हो । समूह चरणका तीनै खेल इरानले अमेरिकामा खेल्नेछ ।
जेनेभा — पुरुष विश्वकप फुटबल सुरु हुन तीन महिना मात्र बाँकी छँदा त्यसमा इरानको सहभागिता नै अन्योलग्रस्त भएको छ । विश्वकपको एक आयोजक अमेरिकाको प्रत्यक्ष संलग्नतामा मध्यपूर्वमा द्वन्द्व बढेपछि यस्तो स्थिति तयार भएको हो । समूह चरणका तीनै खेल इरानले अमेरिकामा खेल्नेछ । त्यसमध्ये दुई खेल क्यालिफोर्नियामा हुनेछ भने एक खेल सियाटलमा । यी खेल जुन १५ देखि २६ बीच हुनेछ । यसपल्टको विश्वकपमा कुल १ सय ४ खेल हुनेछ ।
त्यसमध्ये केही खेल क्यानडा र मेक्सिकोमा सहरमा पनि हुनेछन् । अहिले अमेरिका र इजरायलले मिलेर इरानमाथि आक्रमण गरिरहेको छ । आक्रमणबाट शनिबार मात्रै इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनी र केही माथिल्लो दर्जाका पदाधिकारीको मृत्यु भएको छ । त्यसको जवाफमा इरानले अमेरिकाका सहयोगी रहेका सन् २०२२ को विश्वकप आयोजक कतार र साउदी अरेबियामा आक्रमण गरिरहेको छ ।
सन् २०३४ को विश्वकप साउदी अरेबियामा हुनेछ । एसियाली फुटबल महासंघका उपाध्यक्ष तथा इरानी फुटबल संघका अध्यक्ष मेहदी ताजले भनिसकेका छन्, ‘अहिलेको आक्रमणपछि कम्तीमा हाम्रो विश्वकप सहभागिता अन्योलग्रस्त बनेको छ ।’
इरानी सरकारको समर्थनमा चलिरहेको त्यहाँको फुटबल संघले कुल ४८ देशको सहभागिता रहेको विश्वकप खेल्न अस्वीकार गर्नेछ वा अमेरिका स्वयंले इरानलाई सहभागिताबाट रोक्नेछ, त्यो भने प्रस्ट भइसकेको छैन ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले यस विषयमा अहिलेसम्म आधिकारिक रूपमा केही पनि भनेको छैन । फिफाका महासचिव म्याटिस ग्राफ्टस्ट्रोमले अहिले जे जस्तो घटना भइरहेको छ, त्यसलाई नजिकबाट नियालिरहेको बताएका छन् । विश्वकप तयारीको निगरानी गरिरहेका ह्वाइटहाउसका प्रमुख अधिकारी एन्ड्र्यु गिलानीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेका लागि हाम्रो ध्यान स्वतन्त्रताको अवसरतिर लगाऔं, विश्वकपबारे पछि निर्णय गरौंला ।’
इरान एसियाली फुटबलको महाशक्ति रहेको छ । इरान पछिल्ला आठ विश्वकपमध्ये ६ संस्करणमा छनोट भएको छ । विश्वका दुई सय ११ टिममध्ये इरानको फिफा वरीयता २० औं स्थानमा छ । कतारमा भएको पछिल्लो विश्वकपयता इरानको वरीयता २० औं स्थानभन्दा तल पुगेको छैन । पछिल्लो डिसेम्बरमा वासिङटनमा आयोजित विश्वकप ‘ड्र’ मा इरानलाई दोस्रो वरीयताका टिमको समूहमा राखिएको थियो ।
त्यतिबेला ताज र अन्य इरानी फुटबल प्रतिनिधिलाई अमेरिका प्रवेश गर्न दिइएको थिएन । तर ‘ड्र’ भने इरानका लागि अनुकूल रहेको छ । समूह चरणका लिग खेलको अन्त्यमा अधिकांस तेस्रो स्थानमा रहने टिमले नकआउट चरण प्रवेश गर्ने हुँदा इरानको पनि त्यस्तो बलियो सम्भावना छ । इरानले सुरुमा तल्लो वरीयताको न्युजिल्यान्डको सामना गर्नेछ भने त्यसपछि माथिल्लो वरीयताका टिममध्ये कमजोर बेल्जियमविरुद्ध भिड्ने छ । इरानको अन्तिम खेल इजिप्टविरुद्ध हुनेछ ।
इरान सहभागी हुने खेलमा अमेरिकामा रहेका इरानी मूलका समर्थकको बाक्लो उपस्थिति हुने अनुमान छ, तर मध्यपूर्वका अधिकांस देशका नागरिकलाई अहिले अमेरिका प्रवेशमा रोक छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले विश्वकपका दौरान खेलाडी र प्रशिक्षकविरुद्ध भने यो नीति लागू नहुने बताइसकेको छ । इरानका लागि विश्वकप अगाडि यस्तो राजनीतिक समस्या भने नयाँ रहेको छैन र पछिल्ला विश्वकपमा पनि इरानले यस्तै समस्या सामना गर्दै आएको छ ।
