यो सिजन आर्सनलले कर्नरबाट भएको निर्णायक गोलको मदतमा खेल जितेको नवौं अवसर हो ।
लन्डन — इंग्लिस प्रिमियर लिगको उपाधि होडमा अहिले आर्सनललाई म्यानचेस्टर सिटीमाथि ५ अंकको अग्रता प्राप्त छ । यो सप्ताहन्त आर्सनल र सिटी दुवै विजयी रहे, ती प्रभावशाली भने रहेन । सिटीले सबैभन्दा पहिले लिड्स युनाइटेडलाई १–० ले हरायो । त्यसपछि आर्सनलले चेल्सीमाथि २–१ को जित रच्यो । आर्सनलका ती दुवै गोल सेट–पिसमा सम्भव भएको थियो, अझ भन्दा कर्नरबाट । इमिरेट्समा सबैभन्दा पहिले विलिय सलिबाले गोल गरे ।
त्यसपछि जुरेन टिम्बरले निर्णायक गोल थपे । यो सिजन प्रिमियर लिगमा आर्सनलले कर्नरबाट गरेको गोलसंख्या १६ पुगेको छ । प्रिमियर लिगको एक खास सिजन कसैले कर्नरबाट यति धेरै गोल गरेको कीर्तिमानमा आर्सनलले बराबरी गरेको छ । चेल्सीका प्रशिक्षक लियान रोसेनरले खेलपछि स्वीकारे, अहिलेका लागि चेलसीको जत्तिको राम्रो टिम विश्व फुटबलमै छैन । सेट–पिसमा प्राप्त गोलले आर्सनलको २२ वर्षयता लिग उपाधितर्फको यात्रा सम्भव देखिन थालेको छ ।
नत्र, पछिल्ला केही साता मिखेल आर्टेटाका लागि केही निराशाजनक नै थियो । उनले खेलपछि भनेका छन्, ‘पछिल्लो समय हामीले केही अंक गुमाएका थियौं, त्यतिमात्र होइन, सेट–पिसमा गोल गर्न सकेका थिएनौं । तर चेल्सीविरुद्ध दुवै गोल त्यसकै आधारमा भयो, त्यो सुखद उपलब्धि रहेको छ ।’ त्यसैले अहिले आर्सनललाई ‘कर्नरको राजा’ पनि भन्न थालिएको छ । यससँगै जोडिएका केही तथ्यांक यहाँतिर प्रस्तुत गर्दा राम्रै हुनेछ ।
यो सिजन आर्सनलले कर्नरबाट भएको निर्णायक गोलको मदतमा खेल जितेको नवौं अवसर हो । कुनै एक टिमले खास सिजन यति धेरै गोल कर्नरबाट निकाल्न सकेकै छैन, त्यसैले यो कीर्तिमान हो । सन् २०१२/०१३ को सिजन म्यानचेस्टर युनाइटेडले ८ अवसरमा कर्नरबाट भएको गोल मदतमा खेल जितेको थियो । आर्सनलले कर्नरबाट भएको खेलको मदतमा नौपल्ट लिगमा १–० को अग्रता लिएको छ । यो भने साउथह्याम्पटनको नाममा रहेको कीर्तिमानको बराबरी हो ।
एकै सिजन कर्नरबाट १६ गोल निकाल्ने आर्सनलको प्रदर्शनले भने सन् १९९२/९३ मा ओल्डहम, सन् २०१६/०१७ मा वेस्ट ब्रुम र सन् २०२३/०२४ मा आर्सनलको आफ्नै कीर्तिमान बराबरी गरेको छ । आर्सनलको यस्तै प्रदर्शनमा सबै खुसी पनि छैनन् र आर्टेटाको रणनीतिको आलोचना गर्ने धेरै छन् । उनीहरूको तर्क हो, आर्सनलले अहिले जुन खेल खेलिरहेको छ, त्यो हेर्नमा मज्जाको छैन, त्यसले खुसी दिँदैन । धेरै हदसम्म कर्नरपछि हुने गोल धेरै आकर्षक पनि हुने गर्दैन ।
जतिबेला आर्सनलले आर्सेन वेङ्गरको नेतृत्वमा लिग जितेको थियो, त्यतिबेला यही उत्तरी लन्डन क्लबले पस्केको खेल असाध्यै रोमाञ्चक थियो । अझ भन्दा त्यतिबेला आर्सनलको खेलको बयान गर्न उपयुक्त शब्द थियो, सुन्दर । त्यति बेला आर्सनलको खेल वास्तवमै मोहित गर्ने खालको थियो । यही कारणले धेरै आर्सनलको समर्थक बने । अहिलेका लागि यी सबै आलोचनाले आर्सनललाई खासै धेरै फरक भने पार्ने छैन । आर्सनलले यसमा मतबल पनि गर्ने छैन् ।
यसपल्ट आर्सनलले उपाधि होडको दबाबबीच त्यसलाई झेल्न सक्ने जुन क्षमता देखाएको थियो, त्यो क्लब समर्थकका लागि खुसी नै रहेको छ । नत्र, ब्रेन्टफोर्ड र उल्भसविरुद्धको खेल आर्सनलको अनुकूल नभएपछि त्यसको आलोचना गर्ने उत्तिकै थिए । आर्सनलको तुलनामा सिटीले एक खेल कम खेलेको छ र अर्को महिना यी दुई टिमबीचको खेल बाँकी छ । त्यही एक खेललाई छाडेर आर्सनलले लिगका बाँकी खेलमा शीर्ष ६ स्थानका टिमको सामना गर्नुपर्ने छैन, जुन उल्लेखनीय छ ।
