राष्ट्रिय लिगमा प्रतिस्पर्धी क्लबका पदाधिकारी र खेलाडीलाई सोध्नुपर्छ, धेरैको जवाफ हुने गर्छ, यो करोडौं डुबाउने प्रतियोगिता मात्र हो, चाहिने त सहिद स्मारक लिग ‘ए’ डिभिजन नै हो
काठमाडौँ — अहिले राष्ट्रिय लिग फुटबल प्रतियोगिता चलिरहेको छ । कसैले भने जस्तै चुपचाप नै सही । सुरु सुरुमा च्यासल मैदानमा पनि खेल हुन्थ्यो । पछि मैदानको चर्को आलोचना पछि त्यहाँ खेल हुन छाड्यो । अहिले कहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स त कहिले दशरथ रंगशालामा खेल भइरहेको छ । कहिलेकाहीं त दिनकै चार खेल हुन्छ । कुनै खेल त १० बजे नै सुरु हुन्छ । तर यो प्रतियोगितालाई लिएर साँच्चै भन्ने हो भने चर्चा छैन ।
कुनै खेलमा त दर्शक नै हुन्न । त्यसैले बहस चल्ने गर्छ, अचेल फुटबल हेर्न किन दर्शक आउँदैनन् ? कसैका लागि यो कोहीमाथि घोचपेच गर्ने निहुँ बनेको छ । मूल प्रश्न, अचेल फुटबलमा किन दर्शक भएनन् त ? भर्खर दशरथ रंगशालामा चर्च ब्वाइज र मछिन्द्र एफसीबीच खेल भएको थियो । सम्भवतः नेपालकाृ घरेलु फुटबलले अहिले पस्कन सक्ने सबैभन्दा माथिल्लो स्तरको खेल यही थियो । यो खेल हेर्न आएका दर्शक पनि हातैले गन्न सकिन्थ्यो ।
किन यस्तो त ? यही प्रश्न मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाललाई सोधिएको थियो । त्यसमा उनले असाध्यै सटिक जवाफ दिए । उनी भन्थे, ‘अहिले नेपाली फुटबलमा यति धेरै काण्डैकाण्ड भइरहेका छन्, यति धेरै विवाद नै विवाद भइरहेका छन् कि मैदानको खेलले दर्शक तान्न सकेको छैन ।’ कटुवालले जे भनेका छन्, त्यो ठीक भनेका छन् । अचेल नेपाली फुटबलमा जति फोहोरी राजनीति भइरहेको छ, त्यस कारण फुटबल मन पराउने आमदर्शक रिसाएका छन् ।
यो फोहोरी राजनीति गर्ने संस्थापन पक्ष हुनसक्छ अथवा यसका विरोधी पनि । दुवै पक्षले एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेका छन् । तर कसैले नेपालको घरेलु फुटबल संरचना यस्तो हुनुपर्छ भनेर बोलेका छन् र ? छैनन् । राष्ट्रिय लिगमा सहभागी क्लबका पदाधिकारी र खेलाडीलाई सोध्नुपर्छ, धेरैको जवाफ हुने गर्छ, यो करोडौं डुबाउने प्रतियोगिता मात्र हो । चाहिने त सहिद स्मारक लिग ‘ए’ डिभिजन नै हो । नेपाली फुटबलका लागि लिग चाहिन्छ भने त्यो सहिद स्मारक लिगमात्र हुन सक्छ, त्यो राष्ट्रिय लिग हुन सक्दैन । अखिल नेपाल फुटबल संघ (एन्फा) को विधानमा जसले सहिद स्मारक लिग वा राष्ट्रिय लिगमध्ये एउटा गरे हुन्छ भनेर उल्लेख गर्न लगाएको थियो, त्यो नै गलत भएको छ । जुन लिगमा रेलिगेसनको नियम हुँदैन, त्यसले आधा रौनक गुमाइसकेको हुन्छ । इतिहास पल्टाउने हो भने घरेलु फुटबलमा राष्ट्रिय लिगको प्रयोग जहिल्यै असफल बनेको छ ।
टिम धेरै खेलाडी कम
यसपल्टको प्रतियोगितामा सहभागी टिमको संख्या छ, १७ । त्यसमध्ये केही सहिद स्मारक लिगका रहे, केही एन्फा प्रेसिडेन्ट्स लिग खेलेर आएका । घरेलु लिगको इतिहास पल्टाउने हो भने कुनै खास लिगमा यति धेरै क्लबले खेलेको यो दोस्रो अवसर हो । नेपालको घरेलु फुटबलले यति धेरै सहभागिता धान्नै सक्दैन । नेपालमा लिग गराउने हो भने सबैभन्दा राम्रो संख्या १० हुन सक्छ । १० टिम सहभागी सहिद स्मारक लिग ‘ए’ पनि भइसकेको छ नेपालमा । यो तथ्यमा अधिकांश फुटबलका अहिले र पुराना पदाधिकारी सहमत छन् । तर लागू गर्न कोही चाहँदैनन् । यति धेरै सहभागी भएपछि तिनलाई खेलाडी पनि त चाहियो । अहिले माथिल्लो स्तरमा खेल्ने खेलाडीकै अभाव छ । फेरि तिनै मछिन्द्रका प्रशिक्षक कटुवालतर्फ फर्कने हो भने उनी भन्ने गर्छन्, खेलाडी नै छैनन् । राम्रा खेलाडीको अभावमा राम्रो खेल त हुने भएन । त्यसैले पनि त दर्शक नआएका हुन् ।
सम्भवतः त्यसै कारण यसपल्टको लिगमा पनि विदेशी खेलाडी नै बढी चम्केका छन् । अहिले लिगमा जति खेल भएको छ, त्यसको आधारमा भन्ने हो भने केही स्तरीय खेल प्रदर्शन गर्ने जति विदेशी छन्, नेपाली राष्ट्रिय टिमका सदस्य खेलाडी पनि उनीहरूले जति खेल्न सकेका छैनन् । चित्लाङका प्रशिक्षक प्रज्ज्वल क्षेत्रीले पनि भनेका छन्, कलिकति बढी मिहिनेत गरेर खेल्ने भनेकै विदेशी खेलाडी हुन्, त्यसैले उनीहरूको खेल माथि देखिएको । सम्भवतः यसपल्टको राष्ट्रिय लिगको राम्रो पक्ष छ । अहिले विभिन्न कारणले घरेलु फुटबलमा पुरानो एउटा पुस्ता हराएको छ । अहिले प्रतियोगिता तिनकै स्थानमा धेरै नयाँ खेलाडी अएका छन् । अझ यी खेलाडी उमेर समूहकै छन् । पक्कै तिनमा अनुभव र अवसरको कमी छ, तर उनीहरूमाथि लगानी गर्ने हो भने प्रतिफल आउन सक्छ ।
प्रतियोगिता सक्नमै हतार
यसपल्टको राष्ट्रिय लिग पुस ३० मा सुरु भएको थियो । एन्फाको चुनाव हुने नहुने परिस्थितिबीच खेल तालिकामा धेरै तलमाथि भएको छ । अहिले देशको आम निर्वाचनका कारण एक साताभन्दा लामो समयका लागि लिग रोकिएको छ । जतिबेला अर्को सातादेखि फेरि लिग सुरु हुनेछ, एन्फाको एउटै उद्देश्य हुन्छ, प्रतियोगिता चाँडै सम्पन्न गर्ने । सहभागी क्लब पनि चाहन्छ, खर्च कम होस्, त्यसैले प्रतियोगिता छिटो–छिटो सकाएकै राम्रो ।
एक सातापछि खेल सुरु हुँदा प्रत्येक टिमले एक दिन बिराएर जस्तो खेल्नुपर्ने हुन्छ । त्यसले खेलाडीलाई अझ थकाउने छ । खेलमा गुणस्तर थप हराउने छ । खेलाडी धमाधम घाइते हुन थाल्नेछन् । अहिले पनि धेरै खेलाडी घाइते छन्, थकित छन् । एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले भनेका छन्, आफ्ना प्रमुख रोजाइका खेलाडी एकै स्थानमा राखेर टिमले प्रशिक्षण गर्न पाएको छैन । कहिले को घाइते हुन्छ, कहिले कसको अनुपस्थिति रहन्छ । त्यसैले एनआरटीको टिम कागजमा त राम्रो छ, तर प्रदर्शन त्यसअनुसार छैन । लगभग सबै प्रशिक्षकले आफ्ना खेलाडीलाई धपेडी भएको मानेका छन् । तर घरेलु फुटबलमा एउटा रोग छ, जुन कहिल्यै निको हुन्न । जुन पहिलेदेखि नै थियो । प्रतियोगिता गर्ने तर सुरु चाँडै सकाउने खोज्ने । लगातार धेरै खेलेर राम्रो फुटबल नै हुन नसकेको गुनासो अहिलेको होइन, तर यसमा बहस गरौं न भनेर कोही अगाडि आउने गर्दैनन् ।
एपीएफ पछ्याउँदै अरू
यति भन्दाभन्दै केही नभइरहेको स्थितिमा कम्तीमा राष्ट्रिय लिग त चलिरहेको छ । यो सायद एउटा सकारात्मक पक्ष रह्यो । प्रतियोगितामा सहभागी टिमको प्रदर्शन के कस्तो चलिरहेको छ त ? उपाधि होडमा को–को छन् त ? सहभागी टिम १७ भएको आधारमा १ सय ३६ खेल हुनेछ । त्यसमध्ये ६८ खेल सकिएको छ । त्यस आधारमा प्रतियोगिता ठीक मध्यभागमा पुगेको छ । अहिलेसम्मको प्रदर्शनको आधारमा सबैभन्दा अगाडि छ, राजेन्द्र तामाङको प्रशिक्षणमा एपीएफ ।
एपीएफको ‘ए’ डिभिजन हैसियत अब के हुने हो, त्यसबारे टुंगो नलागेको स्थितिमा यही टिमले अहिले राम्रो खेलिरहेको छ । अहिलेसम्म अपराजित एपीएफको २० अंक छ । खेलाडीको नामका आधारमा राम्रो भनेको मछिन्द्र नै हो । तर भर्खरै मछिन्द्र नि चर्च ब्वाइजसँग पराजित भयो । तर टोलीले सात खेल मात्र खेलेको छ र १६ अंक छ । तीन टिम १८ अंकमा छन् । यिनीहरू नै हुन्, एपीएफलाई टक्कर दिने । ती पोखराको लालीगुराँससहित एनआरटी र प्लानिङ ब्वाइज । त्यसपछि त्रिभुवन आर्मी १७ र चर्च ब्वाइज १६ अंकमा छन् । चर्च ब्वाइजले भर्खरै मछिन्द्रलाई मात्र होइन, आर्मीलाई पनि पराजित गरेको छ । त्यसैले यो टिमबाट पनि धेरै अपेक्षा गर्न सकिन्छ । यहाँनिर लालीगुराँसको पनि प्रशंसा गर्नुपर्छ, जसरी उसले अहिलेसम्म अपराजित रहेर खेलेको छ । लालीगुराँसलाई छाडेर एन्फा प्रेसिडेन्ट्स कप खेलेर आएकाको प्रदर्शन भने उल्लेख गर्न लायक छैन ।
जस्तो, नव जनजागृतिले अहिलेसम्म खेलका आठै खेल गुमाएको छ, त्यसैले अंकबिहीन छ । काँक्रेविहारले एक बराबरी खेलेर एक अंक बटुलेको छ । एनआरटीलाई छाडेर पुराना नाम जस्तै फ्रेन्ड्स, संकटा, जावलाखेल, मनाङ मर्स्याङ्दी र पुलिससम्मले पनि आफ्नो प्रतिष्ठाअनुसार खेल्न सकेका छैनन् । यी क्लबका प्रतिनिधिलाई सोध्ने हो भने जवाफ पाइन्छ, खेल्नका लागि खेलिएको मात्र हो । यस्तोमा खेल्नका लागि खेलिने प्रतियोगिताबारे पुनर्विचार गर्ने हो कि ?
