टी–२० क्रिकेटको मर्म बुझ्न नसकेको पाकिस्तान

यसअघिका विश्वकपमा जस्तै भारतविरुद्ध पाकिस्तान कमजोर सावित भयो । कप्तान आगाले केही गम्भीर भूल पनि गरे । आगाले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो र यो अन्ततः गलत सावित भयो । पाकिस्तान त्यस खेलमा ६१ रनले पराजित रह्यो ।

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

Pakistan fails to understand the essence of T20 cricket

What you should know

क्यान्डी (एएफपी) — पाकिस्तानको टी–२० विश्वकप यात्रामा पूर्णविराम लागिसकेको छ र त्यसको अर्थ हो, टिम सेमिफाइनल पुग्न सकेन । पाकिस्तानमाथि आरोप छ, उसले टी–२० क्रिकेटलाई नै बुझ्न सकेको छैन । कप्तान सलमान आगा नै टी–२० क्रिकेटको खेलाडी होइन भन्न सुरु भएको छ । 

त्यति मात्र होइन, एक त पाकिस्तानले यस विश्वकपमा सुस्त ब्याटिङ गरेको छ । त्यसमाथि टिमका अलराउन्डरले आक्रामक स्वभावको खेल ढाँचामा कमजोर प्रदर्शन गरेका छन् । पूर्वविकेटकिपर कमरन अकमललाई लाग्छ, भारत, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र इंग्ल्यान्डजस्ता टिम अगाडि टी–२० क्रिकेटमा पाकिस्तानको स्तर धेरै पछाडि छ । उनी भन्छन्, ‘पाकिस्तानी टिम र खेलाडी टी–२० क्रिकेटका लागि उपयुक्त नै देखिएनन् । मलाई लाग्छ, पाकिस्तानी टिमले चन्द्रमामा खेलिरहेको थियो, जबकि हामी पृथ्वीमा छौं । हामीले कमजोर टिमलाई मात्र हरायौं, तर ठूला टिमविरुद्ध पराजित रह्यौं ।’

विश्वकप अगाडि पाकिस्तानले अस्ट्रेलियालाई घरमा भएको तयारी शृंखलामा ३–० ले हराएको थियो, त्यसैले टिम उत्साहित रहेको थियो । पाकिस्तानसँग बलरलाई मद्दत गर्न सक्ने श्रीलंकाली पिच सुहाउँदो स्पिन बलर पनि थिए । फेरि पाकिस्तानका सबै खेल श्रीलंकामै थियो । तर नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमै टोली दबाबमा परेको थियो । धन्न त्यस खेलमा पाकिस्तान तीन विकेटले विजयी रह्यो ।

यसको श्रेय गएको थियो, ११ बलमा २९ रन बनाएका फहिम असरफलाई । तर यसअघिका विश्वकपमा जस्तै भारतविरुद्ध पाकिस्तान कमजोर सावित भयो । कप्तान आगाले केही गम्भीर भूल पनि गरे । यो त्यही खेल थियो, जुन सुरुमा पाकिस्तानले बहिष्कार गर्ने भनेको थियो, तर पछि अन्तिम क्षणमा खेल्न तयार भएको थियो । आगाले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो र यो अन्ततः गलत सावित भयो । पाकिस्तान त्यस खेलमा ६१ रनले पराजित रह्यो ।

आगाले आफ्ना प्रमुख खेलाडी मिस्ट्री स्पिनर उसमन तारिकलाई ११ औं ओभरमा मात्र प्रयोगमा ल्याए । त्यति बेलासम्म इसान किसनले खेलमा निर्णायक सावित ७७ रन बनाइसकेका थिए र भारत विजयी सावित हुने स्कोर खडा गर्न सफल रहेको थियो । पाकिस्तानका अर्का पूर्वखेलाडी वासित अलीले प्रश्न गरेका छन्, ‘ब्याटिङका लागि सुहाउँदो पिचमा पाकिस्तानले किन पहिले बलिङ रोजेको थियो, त्यो बुझ्न गाह्रो छ । भारतले १ सय ७५ रनको स्कोर खडा गरेपछि पाकिस्तानी खेलाडी दबाबमा आए ।’ 

Pakistan fails to understand the essence of T20 cricketपाकिस्तानी कप्तानले इंग्ल्यान्डविरुद्ध तारिकलाई दोस्रो ओभर पनि दिएनन्, भलै उनले आफ्नो पहिलो ओभरमै विकेट लिएका थिए । नतिजा इंग्लिस कप्तान ह्यारी ब्रुक्सले निर्णायक सावित शतक बनाए । अकमल पनि मान्छन्, कप्तानका रूपमा उनी कमजोर सावित भए । उनी प्रशिक्षक माइक हेसन र छनोटकर्ता पनि उत्तिकै दोषी देख्छन् ।

उनी भन्छन्, ‘प्रशिक्षक हेन्सनले सही काम गर्न सकेनन् । उनीले त्यस्ता अलराउन्डर रोजे, जसलाई न ढंगले ब्याटिङ गर्न आउँथ्यो, न त बलिङ ।’ पाकिस्तानका लागि लय गुमाइसकेका बाबर आजममाथि विश्वास गर्नु पनि उत्तिकै गलत सावित भयो । उनको सुस्त ब्याटिङले टिमको लयमै समस्या उत्पन्न गरेको थियो । श्रीलंकाविरुद्धको अन्तिम खेलमा उनलाई टिममा समेत सामेल गरिएको थिएन । उनीबिना पाकिस्तानले दुई सय रनभन्दा माथिको स्कोर बनाएको थियो ।

तर त्यसको पनि अन्त्यमा अर्थ लागेन किनभने न्युजिल्यान्डले नेट रन रेटमा पाकिस्तानलाई पछाडि छोडेको थियो । विश्वकपमा पाकिस्तानको खेल हेर्न यूएईमा रहेको जागिर छाडेका एक पाकिस्तानी समर्थक सउद बलोचले भनेका छन्, ‘हामी सबै आजमका प्रशंसक नै हौं । तर उनले टी–२० क्रिकेटको मागअनुसार खेल्न सकेनन् । सबै पाकिस्तानी समर्थक यति बेला निराश मात्र छैनन्, धेरै रिसाइरहेका छन् । तर हामीलाई के पनि थाहा छ भने पाकिस्तानी क्रिकेटमा केही पनि फेरिने छैन र हामी भविष्यमा फेरि पनि दुःखित हुनेछौं ।’

कान्तिपुर संवाददाता

Link copied successfully