उपाधि होडमा बलियो हुँदै चर्च ब्वाइज

दशरथ रंगशालाको फ्लडलाइटमा शनिबार मछिन्द्र एफसीलाई १–० ले हराएपछि चर्च ब्वाइज राष्ट्रिय लिगमा दाबेदारिता

फाल्गुन १७, २०८२

हिमेश

Church Boys are getting stronger in the title race

What you should know

काठमाडौँ — चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक लिग ‘ए’ डिभिजन विजेताका रूपमा के राष्ट्रिय लिग पनि जित्ने छ त ? यसको जवाफ अहिले नै दिन गाह्रो हुनेछ । तर चर्च ब्वाइजले लगातार दुई महत्त्वको खेल जितेर राष्ट्रिय लिग जित्ने सम्भावनामा पनि एउटा इँटा भने थपेको छ । चर्च ब्वाइज दशरथ रंगशालामा शनिबार फ्लडलाइटमा भएको खेलमा मछिन्द्र एफसीलाई १–० ले हराउन सफल रह्यो । घरेलु फुटबलको एउटा ‘हाइप्रोफाइल’ खेल हेर्ने दर्शक नगण्य नै थियो । 

यो खेलले दिनुपर्ने सनसनी र तनाव भने कम्तीको रहेन । खेलको समाप्तिमा चर्च ब्वाइजका प्रशिक्षक र खेलाडीले जसरी खुसी मनाए, त्यसले पनि देखाउँछ, यो जित कति महत्त्वको रह्यो भनेर । खेलका नायक रहे, नाइजेरियाली २५ वर्षीय खेलाडी अबायोमी फकुन्ले । दोस्रो हाफमा मछिन्द्रमाथि चर्च ब्वाइज लगभग हाबी रह्यो र त्यसकै फाइदा उठाएर फकुन्लेले पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गर्दै ७४ औं मिनेटमा आकर्षक गोल गरेका थिए । 

कम बोल्ने र लजालु स्वभावका फकुन्लेको यस गोललाई लिएर छोटो प्रतिक्रिया थियो, ‘जसरी गोल हुनुपर्ने थियो, त्यसरी नै भयो ।’ तर प्रशिक्षक सुमन श्रेष्ठले भने उनको प्रशंसा नै गरे । फेरि यी प्रशिक्षकका लागि यी लागोस सहरका विङ्गर प्रिय छन् । प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘उनी निकै मिहिनेती खेलाडी हुन् । कडा परिश्रम गर्छन् । भलाद्मी पनि छन् ।‘ प्रशिक्षक श्रेष्ठ यो जितमा उत्तिकै उत्साही पनि रहे । 

आफ्नो पछिल्लो खेलमा त्रिभुवन आर्मी क्लबलाई पनि हराएको चर्च ब्वाइजले अहिले मछिन्द्रलाई पनि पन्छाएर दुई ठूला खेलबाट अधिकतम ६ अंक बटुलेको छ । प्रशिक्षक श्रेष्ठ पोस्टम्याच कन्फ्रेन्समा भने, ‘पोखरामा हाम्रो खेल योजनाअनुसार रहेन । तर अहिले त्यहाँबाट फर्केयता सबै खेलाडीले राम्रो खेलेका छन् ।’ यो जितले चर्च ब्वाइजको ७ खेलबाट १६ अंक भएको छ । यो टोलीको लगातार पाँचौं जित हो । 

अर्कोतर्फ मछिन्द्रको भने प्रतियोगितामा पहिलो हार बेहोर्ने क्रममा १६ अंकमै सीमित रह्यो । हारको विश्लेषण गर्दै मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘चर्च ब्वाइज बलियो टिम हो र यसका खेलाडी स्तरीय छन् । त्यसैले यो बलियो प्रतिद्वन्द्वी हो । तर आजको खेलमा जुन गोल भएको छ, त्यसमा हाम्रा खेलाडीको प्राविधिक त्रुटि रह्यो । तर प्रतियोगितामा अझै धेरै खेल बाँकी छ । अहिले नै यस्तै हुनेछ भनेर भन्न सकिन्न ।‘

लिग तालिकाको शीर्षमा भने अहिलेसम्म अपराजित २ टिममध्ये एक एपीएफ रहेको छ । शनिबारै अर्को खेलमा एपीएफले आफ्नो स्थितिलाई अझ बलियो बनाउन भने सकेन । दिनको दोस्रो खेल पुलिस डर्बी रहेको थियो । यो रोमाञ्चक बराबरीमा टुंगिएको थियो । पुलिसले एपीएफलाई २–२ को बराबरीमा रोकेको हो । एपीएफले दुईपल्ट अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन । यद्यपि एपीएफ ८ खेलबाट २० अंकसहित अंकतालिकाको शीर्षस्थानमा रह्यो । पुलिस भने ८ खेलबाट ८ अंकमै सीमित रह्यो । 

एपीएफले १० औं मिनेटमा प्रदीप लामाको गोलले अग्रता लिएको थियो । शिशिर चौधरीले २७ औं मिनेटमा बराबरी गोल फर्काए । प्रदीपले ६१ औं मिनेटमा एपीएफका लागि दोस्रो गोल गरे र यससँगै टिम दोस्रोपल्ट अगाडि रह्यो । ओशेन्द्र कटुवालले ८८ औं मिनेटमा पुलिसका लागि दोस्रो गोल गरेपछि खेल बराबरी टुंगियो । यसअघि राम्रो प्रदर्शनका लागि संघर्षरत पुलिसले एपीएफविरुद्ध आक्रामक भएर प्रस्तुत भएको थियो । 

पुलिसले पछिल्लो २ खेलमा ४ अंक बटुलेको छ । यो नै यस प्रतियोगितामा पुलिसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । खेलपछि पुलिसका प्रशिक्षक चेतन घिमिरेले दाबी गरे, ‘पुलिस लयमा फर्केको छ ।’ उनको भनाइ थियो, ‘पछिल्लो खेलयता पुलिस लयमा फर्केको छ र यसले टिममा आत्मविश्वास बढेको छ । लिगको शीर्षस्थानमा रहेको टिमविरुद्ध अहिलेको बराबरी यसकै प्रमाण हो ।’ पुलिसले यसअघिको आफ्नो खेलमा नव जनजागृतिलाई ७ गोल गरेको थियो । 

एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले भने यो बराबरीमा आफ्नो टिमले २ अंक गुमाएको दाबी गरे । दिनको पहिलो खेलमा श्री भगवतीले काँक्रेबिहारमाथि ६–० को सजिलो जित निकालेको थियो । यो खेलका नायक रहे, सुजन डंगोल । उनले खेलको अन्त्यतिर व्यक्तिगत सानदार ह्याट्रिक पूरा गरे । सुजनले ८७ र ८९ औं मिनेटमा दुई गोल गरेपछि इन्ज्युरी समयको चौथो मिनेटमा तेस्रो गोल पूरा गरे । यसपल्टको प्रतियोगिता यो अहिलेसम्मकै सबैभन्दा कम समयमा सम्भव ह्याट्रिक हो । 

त्यसअगाडि श्री भगवतीका लागि दिवस उराँवले २६, सुरज गुरुङले ३७ र शिशिर लेखीले ७० औं मिनेटमा एक–एक गोल गरेका थिए । यो जितपछि भगवतीको ८ खेलबाट ८ अंक भएको छ । टोलीको यो दोस्रो जितमात्रै हो । टोलीले दुई बराबरी पनि खेलेको छ । काँक्रेबिहार भने ८ खेलबाट १ अंकमै सीमित रह्यो । टोली अहिलेसम्म पहिलो जित हात पार्न संघर्षरत छ ।

हिमेश

Link copied successfully