राष्ट्रिय लिग : मछिन्द्रमाथि चर्च ब्वाइजको प्रभावशाली जित

दोस्रो हाफमा चर्च ब्वाइज मछिन्द्रमाथि लगभग हाबी जस्तै रह्यो र त्यसकै फाइदा उठाएर उनले पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गर्दै ७४ औं मिनेटमा सुन्दर गोल गरे ।

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — उपाधि होडमा रहेका दुई टिमबीचको भिडन्तमा चर्च ब्वाइजले शनिबार मछिन्द्रलाई दशरथ रंगशालामा १–० ले पराजित गरेको छ । चर्च ब्वाइजको जितका नायक रहे, नाइजेरियाली २५ वर्षीय खेलाडी अबयोमी फकुन्ले । दोस्रो हाफमा चर्च ब्वाइज मछिन्द्रमाथि लगभग हाबी जस्तै रह्यो र त्यसकै फाइदा उठाएर उनले पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गर्दै ७४ औं मिनेटमा सुन्दर गोल गरे ।

आफ्नो पछिल्लो खेलमा आर्मीलाई पनि हराएको चर्च ब्वाइजले अहिले मछिन्द्रलाई पनि पन्छाएर दुई ठूला खेलबाट अधिक्तम ६ अंक बटुलेको छ । अहिलेको जितले चर्च ब्वाइजको ७ खेलबाट १६ अंक भएको छ र यो उसको लगातार पाँचौ जित पनि हो । त्यसमध्ये ३ खेलमा क्लिन पनि कायम राखेको छ । कमजोर सुरुआत लिएको चर्च ब्वाइज अहिले लयमा रहेको छ ।

मछिन्द्रको भने प्रतियोगितामा पहिलो हार ब्यहोर्ने क्रममा १६ अंकमै सीमित रह्यो । यससँगै उसको अपराजित यात्रामा पनि पूर्ण विराम लागेको छ । एपीएफ २० अंकमा शीर्ष स्थानमा छ । त्यसपछि लाली गुराँसको १८ र प्लानिङ ब्वाइजको १७ अंक रहेको छ ।

कान्तिपुर

Link copied successfully