पुलिस र आर्मी बलियो स्थितिमा

पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित पुलिसले अघिल्लो खेलमा नेपाल एपीएफ क्लबलाई ९ विकेटले हराएको थियो । पुलिसको यस खेलमा विजय हात पारे फाइनलमा स्थान निश्चित हुनेछ ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Police and army in strong position

What you should know

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दुईदिवसीय जय ट्रफी मेन्स इलिट कप क्रिकेटको फाइनलतर्फ अग्रसर भएको छ । पहिलो दिनकै खेलमा बिहीबार बागमती प्रदेशमाथि ६० रनको अग्रता बनाएपछि पुलिसले फाइनल पुग्ने सम्भावना देखाएको हो ।

टस हारेपछि ब्याटिङ निम्तो पाएको बागमती कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ५३.५ ओभरमै १ सय ८५ रनमा अलआउट भयो । दिनको खेल समाप्तिमा पुलिसले ४ विकेट गुमाई २ सय ४५ रन बनाइसकेको छ । 

पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित पुलिसले अघिल्लो खेलमा नेपाल एपीएफ क्लबलाई ९ विकेटले हराएको थियो । पुलिसको यस खेलमा विजय हात पारे फाइनलमा स्थान निश्चित हुनेछ । प्रतिस्पर्धी चार टोलीले राउन्ड रोबिनमा एकअर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनल खेल्ने प्रावधान छ । 

पुलिसबाट दिलसान अली ६४ बल खेल्दै ५ चौकासहित ३७ र कप्तान आरिफ शेख ३० बल खेल्दै २ चौका र १ छक्कासहित १७ रन बनाई क्रिजमा छन् । यी दुईले पाँचौं विकेटमा ३० रनको अविजित साझेदारी गरिसके । सोहेल कुँवरलाई खाता खोल्नुअघि नै गौतम केसीले बोल्ड गरे पनि अर्का ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेर ९६ रन बनाएपछि पुलिस पहिलो दिनमै अग्रता लिन सफल भएको हो । 

Police and army in strong position

देव्रेहाते स्पिनर इशान पाण्डेको बलमा एलबीडब्लु आउट भएपछि शतक बनाउन चुकेका भुर्तेलले ८४ बल खेल्दै १६ चौका प्रहार गरे । उनले अमित श्रेष्ठसँग दोस्रो विकेटमा १ सय ७ रनको साझेदारी गरे । अमित ६२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३५ रनमा आउट भए । भुर्तेल र अमित ३ रनको अन्तरमा आउट भए । 

त्यसपछि शंकर रानाले पुलिसको इनिङ्स बढाएका थिए । एपीएफसँगको अघिल्लो खेलमा शतक बनाएका शंकरले ४७ बल खेल्दै ४ चौका र ३ छक्कासहित ४८ रन बनाए । उनलाई कप्तान सन्दीप लामिछानेले एलबीडब्लू आउट गरे । बागमतीका इशानले २ विकेट लिए । 

यसअघि बागमतीले अन्तिम दुई विकेटमा १ सय १ रन जोडेको थियो । नवौं नम्बरमा ब्याटिङ गरेका विपिन आचार्य ४६ रनमा अविजित रहे । उनले ७५ बल खेल्दा ७ चौका प्रहार गरे । उनले नवौं विकेटमा गौतम केसीसँग ५१ र दशौं विकेटमा सूर्य तामाङसँग ५० रनको साझेदारी गरे । गौतमले २६ बल खेल्दै २ चौका र १ छक्कासहित २१ तथा सूर्यले ४४ बल खेल्दै २ चौका र १ छक्कासहित २४ रन बनाए । 

बागमतीले ८४ रन बनाउँदा सुरुको ८ विकेट गुमाएको थियो । ओपनरद्वय आशुतोष घिरोहिया शून्य र रित गौतम १ रनमा आउट भए । शुभ कंसाकारले पनि खाता खोल्न सकेनन् । उत्तम थापामगर ५, विवेक रानामगर १२, रिजन ढकाल २ रनमा आउट भए । इशानले ९५ बल खेल्दा ५ चौका र १ छक्कासहित ४१ रन बनाए । सन्दीप १४ रनमा आउट भए । 

पुलिसबाट करण केसीले ४ विकेट लिए । हालै वैवाहिक जीवनमा बाँधिएका करणले १३ ओभरमा २ मेडन राख्दै २७ रन खर्चे । ललित राजवंशीले १७ ओभरमा ३ मेडन राख्दै ६२ रन खर्चेर ३ तथा सागर ढकाल, रशिद खान र भुर्तेलले १–१ विकेट लिए । 

त्रिभुवन आर्मी बलियो

आर्मी क्लब मूलपानी क्रिकेट मैदानमा एपीएफविरुद्धको खेलमा बलियो स्थितिमा पुगेको छ । अहिले शीर्षस्थानमा रहेको आर्मी फाइनल नजिक छ । तृतराज दासको शतकपछि टस हारेर ब्याटिङ निम्तो पाएको आर्मीले ९ विकेट गुमाई २ सय ५२ रन बनाएर पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । 

तृतराजले १ सय २ रन बनाए । उनले इमरान शेखसँग पहिलो विकेटमा १ सय ७२ रनको साझेदारी गरे । उनले १ सय ५९ बल खेल्दा १० चौका र २ छक्का प्रहार गरे । इमरानले १ सय ३४ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७१ रन बनाए । तर त्यसपछि भने आर्मीको लगातार विकेट झरिरह्यो । 

भीम सार्की ५, सन्तोष कार्की ७, बसिर अहमद २०, कप्तान विनोद भण्डारी शून्य, कुशल मल्ल १७, सोमपाल कामी ६, पवन कार्की शून्यमा आउट भए । नरेन साउद ५ रनमा अविजित रहे । एपीएफका युवा लेग स्पिनर युवराज खत्रीले ५ विकेट लिए । तृत, इमरान, विनोदलाई आउट गरेका युवराजले १४ ओभरमा २ मेडन राख्दै ५५ रन खर्चे । कप्तान रोहित पौडेलले २ विकेट लिए । 

पहिलो दिनको खेल समाप्तिमा एपीएफले १ सय ४० रन बनाउँदा ९ विकेट गुमाइसकेको छ । रोहित ४८ रन बनाएर क्रिजमा छन् । उनले १ सय २ बलको इनिङ्समा १ चौकामात्र प्रहार गरे । अभिषेक गौतम ब्याटिङमा आउन बाँकी छ । युवराज दिनको खेलको अन्तिममा ५ रनमै आउट भए । 

सोमपाल कामीले ४ विकेट लिँदै एपीएफलाई टिक्न दिएनन् । त्यसमध्ये उनले आफ्ना भाइ पूरन बिकलाई पहिलो बलमै आउट गरे । सोमपालले ओपनरद्वय दीपक बोहरा, आसिफ शेखसहित सन्दीप जोरालाई आउट गरेपछि चौथो सिकार आफ्नै भाइलाई बनाए । सोमपालले जोरा र पूरनलाई लगातार बलमा आउट गरे पनि सुमित महर्जनले ह्याट्रिक विकेटलाई रोकेका थिए ।

आसिफ १९ बलमा २ चौकासहित १४, दीपक २१ बलमा ४ चौकासहित २१ र जोरा ५ रनमा आउट भए । सुमितले ३५ बलमा २ चौकासहित १५, लोकेश बम २७ बलमा ३ चौकासहित १४, अमरसिंह रौटेला ६ र इर्शाद अहमद ३ रनमा आउट भए । सोमपालबाहेक आर्मीबाट नरेन साउदले २ तथा तृतराज र बसिरले १–१ विकेट लिए । 

कान्तिपुर

Link copied successfully