जेम्स र विश्वज्ञान क्रमशः समूह ‘ए’ को विजेता र उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।
काठमाडौँ — जेम्स र विश्वज्ञान शुक्रबार यू–१४ प्रथम मातृभूमि अन्तरविद्यालय टी–१० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
जेम्स र विश्वज्ञान क्रमशः समूह ‘ए’ को विजेता र उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि तयार भएको छ । सेमिफाइनलमा जेम्सको भेट ग्यालेक्सी पब्लिक स्कुलसँग हुनेछ भने विश्वज्ञानले अक्षराको सामना गर्नेछ ।
अघिल्लो दिन बिहीबार समूह ‘बी’ बाट अक्षरा विजेता र ग्यालेक्सी उपविजेताका हैसियतले सेमिफाइनल पुगेका थिए ।
कागेश्वरी मनोहरा नगरपालिकास्थित वान डे क्रिकेट एकेडेमीमा जेम्सले लिगका तीनै खेल जित्ने क्रममा विनायकलाई १० विकेट, विश्वज्ञानलाई ३४ रन र जनप्रेमी वर्ल्डलाई ३१ रनले पराजित गर्दै ६ अंक जोड्यो । ४ अंक जोडेको विश्वज्ञानले विनायकलाई ३० रन र जनप्रेमीलाई ४ विकेटले हरायो ।
मातृभूमि स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको शनिबार सेमिफाइनल र फाइनल हुनेछ । विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याटरलाई ब्याट, उत्कृष्ट बलरलाई जुत्ता प्रदान गरिने छ ।
