अहिलेको हारसँगै नव जनजागृतिले गुमाएको खेल संख्या लगातार ७ पुगेको छ र टिम शून्य अंकमा छ ।
काठमाडौँ — पुलिसले राष्ट्रिय लिग-२०८२ मा बिहीबार अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित निकालेको छ । उसले दशरथ रंगशालामा भएको खेलमा नव जनजागृतिलाई सजिलै ७–० ले हराएको हो ।
यसअघिको सबैभन्दा ठूलो अन्तरको हार पनि नव जनजागृतिकै नाममा रहेको थियो । उसलाई चर्च ब्वाइजले ६–१ ले हराएको छ । अहिलेको हारसँगै नव जनजागृतिले गुमाएको खेल संख्या लगातार ७ पुगेको छ र टिम शून्य अंकमा छ ।
पुलिस आफैं लय समात्न संघर्षरत छ र अहिले प्राप्त जितले उसको ७ खेलबाट ७ अंक भएको छ । उसको यो दोस्रो जित मात्रै हो । पुलिसको अहिलेको जितमा धीरेन्द्रबहादुर शाहले दुई तथा सञ्जीव लामाले दुई गोल गरे ।
धीरेन्द्रबहादुरले ३६ र ४७ औं मिनेटमा गोल गरे । यस्तै सञ्जीवले पहिलो हाफको इन्ज्युरी समयमा दुई गोल थपे । यस्तै भरत शाहले ४५ र विजय उरनवले ६१ औं मिनेटमा एक एक गोल गरे ।
