धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि २६ अर्ब लागतको डीपीआर तयार, निर्वाचनको मुखमा धेरै उम्मेदवारको मुख्य एजेन्डामा फाप्ला।
What you should know
धनगढी — कमजोर पूर्वाधार भएर पनि सुदूरपश्चिम क्रिकेटमा लहर चलेको त्यस्तो प्रदेश हो, जहाँका चार खेलाडी दीपेन्द्रसिंह एैरी, शेर मल्ल, लोकेश बम र सन्दीप जोराले ट्वान्टी–२० विश्वकप खेले । यतिबेला नेपाली क्रिकेटजगतको मैदानमा गुञ्जिरहेका प्रेम चौधरी, धिरेन्द्र चन्द, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, ललितसिंह भण्डारी, कमल गिरी, भीम सार्की, आकाश चन्द, हेमन्त धामी, चन्द्र साउद र विक्रम सोब पनि सुदूरपश्चिमकै माटोमा हुर्किएका क्रिकेटर हुन् ।
तर सुदूरपश्चिममा क्रिकेटको लहर आएको लामो समय भएको छैन । करिब एक दशकअघि धनगढी नेपालकै पहिलो फ्रेन्चाइज क्रिकेट लिग आयोजना गर्ने सहर भने बनेको हो । त्यही बेलादेखि धनगढीलाई क्रिकेटको सहरको उपमा दिन थालिएको हो । त्यसैको जगमा ‘ड्रिम फाप्ला’ को सपना पूरा गर्ने पर्खाइमा छ सुदूरपश्चिम
फाप्लामा क्रिकेटको त्यही अन्तर्राष्ट्रिय सपना साकार पार्ने हुटहुटी चलिरहेको छ यतिबेला । फाप्लामा विश्वस्तरीय भव्य क्रिकेट स्टेडियमभित्र ५० हजार दर्शक क्षमतामा आकर्षक प्यारापिटहरू, फुटबल मैदान, जिमखाना, पौडी पोखरी, इन्डोर हल, होटललगायत अन्तर्राष्ट्रियस्तरका भौतिक पूर्वाधार, पार्किङ, तालिम भवन, अत्याधुनिक मिडिया सेन्टरलगायत बनाउने ‘ड्रिम फाप्ला’ हो ।
त्यही ‘ड्रिम’ पूरा गर्न सरकारद्वारा गठित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समितिले ०८१ असोजमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ०८२ असारमा वातावरणीय अध्ययन प्रतिवेदन तयार गरी सम्बन्धित मन्त्रालयद्वारा स्वीकृत गरिसकेको छ । डीपीआरअनुसार फाप्लामा क्रिकेट स्टेडियम मात्र नभई बहुउद्देश्यीय खेलग्राम निर्माण हुनेछ । विकास समितिका अध्यक्ष सुवास शाहीका अनुसार करिब २६ अर्ब लागत लाग्ने परियोजना तयार भएको छ । ‘सरकारले अब बजेट विनियोजन गरेर ठेक्का प्रक्रिया अगाडि बढाउने कामको प्रतीक्षा मात्र छ,’ शाहीले भने ‘गरिबीको चपेटामा परेको सुदूरपश्चिमलाई आर्थिक समृद्धिको मार्गमा लैजाने गेम चेन्जर आयोजना हो फाप्ला ।’
सरकारले ०७८ माघमा फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम निर्माण गर्ने निर्णय गर्दै दुई लाख ६० हजार ९१९ वर्गमिटर क्षेत्रफल जग्गा प्रदान गरेको थियो । सरकारले पूर्वाधार विकासलगायतका कार्यहरू अघि बढाउन धनगढीका क्रिकेट अभियन्ता सुवास शाहीको अध्यक्षतामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समितिसमेत गठन गर्ने निर्णय गरेको थियो । समितिले ०७९ असारमा पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरेको थियो ।
फाप्ला सरकारको प्राथमिकता प्राप्त आयोजना हो । यस आयोजनालाई सरकारले दुई वर्षयताको नीति तथा कार्यक्रममा समेट्दै आएको छ ।सरकारले ०७९ पुसमा नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा नेपाली पक्षले खेलकुदलाई दुई देशबीचको सहकार्यको एक महत्त्वपूर्ण क्षेत्रका रूपमा स्वीकार्दै यसले जनता–जनताबीचको सम्बन्ध विस्तार गर्न अपार सम्भावना बोकेको जनाएर फाप्लामा अन्तराष्ट्रिय क्रिकेट रंगशाला र खेलग्राम निर्माणका लागि भारत सरकारसँग अनुदान सहयोग अनुरोध गरेको थियो । त्यसक्रममा भारतीय पक्षले उपयुक्त प्रस्ताव पेस गर्न भनेको थियो । पछि ०८० जेठमा नेपालका तत्कालीन प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाली पक्षले भारतीय पक्षसँग सहयोग प्रस्ताव राखेको थियो भने भारतले पनि प्रतिवद्धता जनाएको अध्यक्ष शाही बताउँछन् ।
खेलग्राम निर्माणमा २६ अर्ब लागत र ५ वर्ष अवधि लाग्ने भए पनि दुई चरणमा कार्य गर्ने तयारी गरिएको छ । पहिलो चरणमा ११ अर्ब लागतमा संरचना निर्माण गरेर क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिने विकास समितिले जनाएको छ । त्यसमध्ये पहिलो चरणमा २५ हजार दर्शक क्षमताको स्टेडियम बनाइने खाका तयार गरिएको अध्यक्ष शाहीले बताए । ‘क्रिकेट स्टेडियम पनि दुई चरणमा बनाउने छौं,’ उनले भने ‘पहिलो चरणमा २५ हजार दर्शक क्षमताको रंगशाला निर्माण हुनेछ । जसको लागत ६ अर्ब हुने अनुमान छ ।’
फाप्लामा विश्वस्तरीय क्रिकेट प्रतियोगिताहरू सञ्चालन हुनसक्ने गरी पूर्वाधार बनाउने प्राविधिक डिजाइन गरिएको उनको भनाइ छ । विकास समितिमा सदस्य रहेका धनगढी उपमहानगर प्रमुख गोपाल हमाल डीपीआर स्वीकृत भइसकेकाले हालै काठमाडौंमा पुगेर अर्थ मन्त्रालय, खेलकुद मन्त्रालयका मन्त्रीसहित अधिकारीसँग आगामी वर्षको बजेटमा फाप्ला निर्माणका लागि बजेट विनियोजन गर्न आग्रह गरेको बताउँछन् । ‘हामीले सम्बन्धित निकायमा निकै अनुरोध गरेका छौं,’ नगरप्रमुख हमालले भने ‘आशा छ आउँदो वर्षदेखि फाप्लाका लागि बजेट विनियोजन भएर निर्माण कार्य सुरु हुनेछ । फाप्ला बन्यो भने सुदूरपश्चिमको आर्थिक विकासको ढोका खुल्नेछ ।’
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम आयोजनाअन्तर्गत मोहना नदीमा पर्यटन क्षेत्र, मैदानवरपर व्यापारिक केन्द्र, अतिथि सत्कार तथा पाककला क्षेत्रको रूपमा समेत विकास गर्ने गरी परिकल्पना गरिएको अध्यक्ष शाहीले बताए ।
०७० चैत र वैशाखमा धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालित एनपीएलले धनगढीलाई क्रिकेटको सहरको उपमालाई थप बलियो बनाइदियो । फाप्लालाई पनि राष्ट्रव्यापी पहिचान दिएको थियो । धनगढीमा क्रिकेटको चहलपहल ०६६ देखि सुरु भएको हो । स्थानीय सुवास शाहीको अगुवाइमा एसपीए अन्तर कलेज राष्ट्रिय प्रतियोगिता सुरु भए । त्यसपछि व्यावसायिक रूपमा धनगढीमै डीसीएल (धनगढी क्रिकेट लिग) र धनगढी प्रिमियर लिग (डीपीएल) सञ्चालनका जमर्कोहरू भए ।
त्यही क्रममा ०७० को धनगढी क्रिकेट लिग (डीसीएल) को पहिलो संस्करण फाप्ला मैदानमै आयोजना गरिएको थियो । खेलाडीलाई बढीभन्दा बढी एक्सोजर दिने उद्देश्यले सञ्चालन गरिएको त्यही बेला त्यो खेल मैदानले ‘फाप्ला’ क्रिकेट मैदानको नाम पायो । त्यसपछि ‘ड्रिम फाप्ला’ अभियान नै सञ्चालन भयो ।
हुन क्रिकेटको सहर धनगढी र ड्रिम फाप्लालाई अभियानकै रूपमा सञ्चालन गर्न धनगढीका अगुवाहरूको डेढ दशकदेखिको मिहिनेत लागेको छ । धनगढीलाई क्रिकेटको सहरका रुपमा परिचित गराउने उद्देश्यले धनगढीका स्थानीय सुवास शाहीले धनगढी क्रिकेट एकेडमीसमेत स्थापना गरे । विभिन्न प्रतियोगिता सञ्चालन गरेर धनगढी अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न समेत सक्षम रहेको सन्देश प्रवाह गर्ने शाहीको उद्देश्य थियो ।
‘फाप्ला बन्यो भने यो एउटा क्रिकेट मैदानमा मात्र सीमित हुने छैन । यसमा सुदूरपश्चिमको आर्थिक पक्ष जोडिने छ,’ पर्यटन व्यवसायी पदमविक्रम सिंह भन्छन् ‘यहाँ अन्तर्राष्ट्रियस्तरको खेलग्राम निर्माण भएपछि धनगढी मात्र होइन, सुदूरपश्चिमकै व्यापार तथा पर्यटन व्यवसाय फस्टाउने छ ।’
फाप्लालाई अन्तराष्ट्रिय क्रिकेट स्टेडियम निर्माणको परिकल्पना सुदूरपश्चिम प्रदेश सरकारले गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रुपमा अघि बढाउने घोषणा गर्दै ०७६/७७ को बजेट ५० करोड विनियोजन गरेको थियो । तर, त्यस बेला जग्गा नभएर काम अघि बढ्न सकेन । ‘प्रदेश खेलकुद परिषदले समेत ०७९ मै डीपीआरसमेत बनाएको थियो । तर जग्गा नभएकाले काम गर्न सकिएन,’ प्रदेश खेलकुद परिषदका तत्कालीन सदस्य–सचिव दीपक सिंह भन्छन् ‘त्यही बेला संघले प्रदेशबाट उक्त आयोजनालाई आफ्नो मातहत लिएको हो ।’
फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा चल्दै गर्दा पछिल्ला वर्षमा सुदूरपश्चिममा क्रिकेटका गतिविधि भने घट्न थालेको छ । सुदूरपश्चिममा क्रिकेटका गतिविधि घट्दा त्यसको असर फाप्लाको निर्माणमा पर्ने तर्क कतिपयको छ । नेपाल क्रिकेट संघ (क्यान) का प्रदेश सदस्य बाबुराजा श्रेष्ठ पछिल्ला वर्षमा धनगढीमा ठूला प्रतियोगिता हुन छाड्नुका पछाडि निजी क्षेत्रले हात झिक्नु प्रमुख कारण भएको बताउँछन् । ‘विकास समिति गठन भइसकेपछि निजी क्षेत्रले धनगढीमा हुने प्रतियोगिताका लागि हात झिक्यो, खेलकुद मैदान पनि भएन,’ उनले भने ‘सरकारले गरिहाल्छ नि भन्ने देखियो ।’
क्यानका अध्यक्ष चतुरबहादुर चन्द विकास समितिले ‘ड्रिम फाप्ला’ पूरा गर्न कामै सुरु गर्न वर्षौ समय गुजार्नुभन्दा विगतजस्तो प्रतियोगिताहरू निरन्तर चलाइराख्न समन्वयको काम पनि गर्नुपर्ने औल्याउँछन् । अध्यक्ष चन्दले भने, ‘दीर्घकालीन रूपमा पूर्वाधार निर्माणका काम पनि गर्दै जाने र प्रतियोगिताहरू पनि जारी राख्न सकियो भने मात्रै ‘धनगढी क्रिकेटको सहरको’ परिचय कायम रहन्छ र दबाब भइरहन्छ ।’ उनले फाप्लालाई बनाउने भनेर संघले आफ्नो हातमा लिएपछि स्थानीय र प्रदेश सरकारले वास्ता गर्न छाडेकाले पनि प्रतियोगिताहरू गर्न असहज भएको बताए ।
निर्वाचनको मुखमा कैलालीको धेरै उम्मेदवारले फाप्लालाई मुख्य एजेण्डा बनाएका छन् । कैलाली ५ निर्वाचन क्षेत्रमा पर्ने फाप्लालाई सबै उम्मेदवारले आफ्नो एजेण्डामा राख्नु खुसीको कुरा भएको यस क्षेत्रका खेलपारखीको बुझाइ छ । ‘कांग्रेस, एमाले, नेकपा, रास्वपाका उम्मेदवारहरू कसैले पनि फाप्लालाई छुटाएका छैनन्,’ धनगढीका खेल अभियन्ता समीर भट्टले भने ।
