लालीगुराँस पनि अहिलेसम्म अपराजित छ । प्रतियोगितामा उसको पनि उत्कृष्ट यात्रा कायम रह्यो । टोलीले ७ खेलमा ५ जित र २ बराबरी नतिजा निकालेको छ ।
What you should know
काठमाडौँ — एपीएफ क्लबको राष्ट्रिय लिग फुटबलमा सुखद यात्रा बुधबार पनि कायम रह्यो । एपीएफले दशरथ रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० ले हराएको थियो । एपीएफ ७ खेलमध्ये ६ मा विजय नतिजा निकालेको छ । टोली अपराजित छ ।
यससँगै १९ अंक लिएर एपीएफ लिग तालिकाको शीर्षस्थानमा रह्यो । टोलीको पछाडि लालीगुराँस एसोसिएसन १७ अंकसहित दोस्रो स्थानमा छ । लालीगुराँसले अर्को खेलमा काँक्रेबिहारलाई ४–१ ले पराजित गर्यो ।
लालीगुराँस पनि अहिलेसम्म अपराजित छ । प्रतियोगितामा उसको पनि उत्कृष्ट यात्रा कायम रह्यो । टोलीले ७ खेलमा ५ जित र २ बराबरी नतिजा निकालेको छ । श्री भगवती र सातदोबाटोबीचको खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो । दशरथ रंगशालामा बुधबार दिनको पहिलो खेलमा पोखराको लालीगुराँसलाई जित दिलाउन अब्दुल युसुफले सानदार ह्याट्रिक गरे । लालीगुराँसले ३५ औं मिनेटमा मुकुन्दुकुमार निउरेको गोलबाट अग्रता लिएको थियो ।
त्यसपछि युसुफले ३७, ५५ र ५६ औं मिनेटमा तीन गोल गरे । सोनम श्रेष्ठले ७१ औं मिनेटमा काँक्रेबिहारका लागि एक गोल फर्काए । काँक्रेबिहानको यो ७ खेलमा छैटौं हार हो । एकमात्र बराबरीको नतिजासँगै क्राँकेबिहार १ अंकमा छ । दशरथ रंगशालामा भएको दोस्रो खेलमा श्री भगवती र सातदोबाटोले निर्णायक सावित आक्रमण बुन्न सकेन र दुवैले निराशाजनक १–१ अंकमा चित्त बुझाए । यो नतिजापछि सातदोबाटो ६ र श्री भगवती ५ अंकमा रहे । श्री भगवतीलाई कम्तीमा के राहत रहनेछ भने कम्तीमा टोलीको लगातार ३ हारको क्रममा पूर्णविराम लागेको छ ।
फ्लडलाइटमा भएको अन्तिम खेलमा एपीएफका लागि प्रदीप लामाले ४२ र युवराज खड्काले ७१ औं मिनेटमा गोल गरे । यो जितले एपीएफ उपाधि होडमा सबैभन्दा बलियो देखिएको छ । उसले आफ्ना ७ खेलमध्ये ३ मा क्लिनसिट पनि कायम राखेको छ । मनाङ भने निराशाजनक रूपमा ८ खेलबाट ८ अंकमै सीमित रह्यो । मनाङले पछिल्ला ३ खेलमा २ अंकमात्र जोड्न सकेको छ ।
