एकै दिनमा जुट्यो साम्बाको उपचार खर्च

नेपाली राष्ट्रिय टोलीकी कप्तानले अघिल्लो दिन मात्र आफ्नो उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेकी थिइन् । शल्यक्रियाका लागि ८० हजार डलर चाहिने उनले जानकारी दिएकी थिइन् ।

फाल्गुन १३, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो चोटग्रस्त घुँडाको शल्यक्रियाका लागि आवश्यक खर्च जुटेको मंगलबार बताएकी छन् । सामाजिक सञ्जालमार्फत एसीएल शल्यक्रियाका लागि चाहिने रकम मात्र नभएर रिह्याब, आवास र यातायातका लागि पनि खर्च जुटेको जानकारी गराइन् । 

नेपाली राष्ट्रिय टोलीकी कप्तानले अघिल्लो दिन मात्र आफ्नो उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेकी थिइन् । शल्यक्रियाका लागि ८० हजार डलर चाहिने उनले जानकारी दिएकी थिइन् । त्यसको एक दिनपछि नै नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा ५२ हजार डलर जम्मा भएको उनले बताएकी छिन् । सहयोगका लागि साम्बाले सबैप्रति धन्यवाद व्यक्त गरेकी छिन् । उनले अब सहयोग रोक्न आग्रह गरेकी छन् । 

खेलाडीको विरोध प्रदर्शन

राष्ट्रिय पुरुष टोलीका वर्तमान र पूर्व सदस्यले मंगलबार नै राष्ट्रिय लिग चलिरहेका बेला सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सावित्रा भण्डारीको उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेवास्ता गरेकोप्रति विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय टिमका पूर्व कप्तानको पनि उपस्थिति रहेको विरोधका क्रममा विभिन्न ब्यानर प्रदर्शन गरिएको थियो । 

त्यसमा ‘खेलाडीको उपचारमा मदत गर’ जस्ता नारा लेखिएका थिए । साम्बाको उपचारमा एन्फाले बेवास्ता गरेको विरोधमा लिग खेल्ने क्रममा फ्रेन्ड्सका खेलाडी खेलअगाडि कालोपट्टी बाँधेका थिए । खेलाडीलाई कालावेपट्टी बाँधेर मैदान प्रवेश गर्न भने दिइएको थिएन । 

कान्तिपुर म्याक्सको ५ लाख सहयोग

कान्तिपुर म्याक्सले सावित्राको उपचारमा मंगलबार ५ लाख रुपैयाँ सहयोग गरेको छ । कान्तिपुरले भनेको छ, ‘कान्तिपुर म्याक्स एक विशुद्ध खेलकुद च्यानल भएको नाताले हामी खेलाडीको भावना, उनीहरूको संघर्ष र राष्ट्रका लागि तपाईंले पुर्‍याउनुभएको योगदान नजिकबाट बुझ्छौं । तपाईं नेपाली फुटबलको सान हुनुहुन्छ र तपाई पुनः मैदानमा फर्काउनु हामी सबैको दायित्व हो ।’ 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामीलाई विश्वास छ, तपाई यो अप्ठ्यारो खेल पनि जितेर चाँडै मैदानमा फर्किन हुन्छ । हामी सधैं तपाईको साथमा छौं ।’

युनाइटेड सिमेन्ट्सको ५ लाख

केएल दुगड समूहअर्न्तगत युनाइटेड सिमेन्ट्सले सावित्राको उपचारमा ५ लाख प्रदान गर्ने घोषणा गरेको छ । खेलाडी देशको पहिचान र गौरवका वाहक भएकाले उनीहरूको कठिन समयमा साथ दिनु सामाजिक दायित्व भएको युनाइटेड सिमेन्ट्सले जनाएको छ ।

‘कप्तान सावित्रा भण्डारी हाम्रो देशका गौरव हुन्, उनले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्त्वपूर्ण योगदान दिएकी छन् । उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक उपचारपछि छिट्टै मैदानमा फर्किने छन् भन्ने हाम्रो विश्वास छ,’ युनाइटेडको विज्ञप्तिमा भनिएको छ ।अघिल्लो दिन एक्स्ट्रिम इनर्जी ड्रिंकले पनि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो । 

सावित्रालाई कृषि विकास बैंकको १० लाख 

कृषि विकास बैंक लिमिटेडले सावित्रा भण्डारीको उपचारमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सावित्रा कृषि विकास बैंककी ब्रान्ड एम्बासडर पनि हुन् । उनको घुँडाको जटिल शल्यक्रिया र पुनर्स्थापनाका लागि सहयोग रकम प्रदान गरिएको मंगलबार बैंकले जनाएको छ । नेपालको जर्सीसहित सावित्रालाई पुनः मैदानमा देख्न पाइने आशा बैंकको छ । 

कान्तिपुर

Link copied successfully