डिफेन्डिङ च्याम्पियन पुलिसले मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ९ विकेटले हरायो ।
What you should know
काठमाडौँ — शंकर रानाको अविजित शतकमा नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलिट कप दुईदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको छ ।
डिफेन्डिङ च्याम्पियन पुलिसले मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ९ विकेटले हरायो । व्यक्तिगत ४८ रनबाट दिनको खेल सुरु गरेका शंकरले अविजित १ सय ५ रन बनाएपछि पुलिसले ७ विकेट गुमाई २ सय ७७ रनमा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । पुलिसले मंगलबार थप ९८ रन जोड्दा शंकर एक्लैले ५७ रनको योगदान गरे । राष्ट्रिय क्रिकेटमा उनको पहिलो शतक पनि हो ।
निर्धारित ७० ओभरमा पुलिसले ब्याटिङ गर्न दुई ओभरमात्र बाँकी रहेको समयमा शंकर ९६ रन बनाई क्रिजमा थिए । दोस्रो अन्तिम ओभरको पहिलो बलमा १ रन लिएपछि पाँचौं बलमा पुनः स्ट्राइकमा आएका उनले युवराज खत्रीलाई स्ट्रेट छक्का प्रहार गर्दै शतक पूरा गरे । त्यसको अर्को ओभरमा पुलिसले ९२ रनको अग्रतासहित इनिङ्स समाप्तिको घोषणा गरेको हो ।
शंकरले १ सय ५५ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे । उनलाई रशिद खानले राम्रो साथ दिए । यी दुईले छैटौं विकेटमा १६ ओभरभित्र ७० रनको साझेदारी गरे । रशिदले ४४ बलमा समान १ चौका र छक्कासहित ३० रन बनाए । श्रवण यादव शून्यमा आउट भए । अविनाश कर्णले १४ बलमा २ चौकासहित १० रन बनाए ।
पहिलो इनिङ्समा १ सय ८५ रनमात्र बनाउन सकेको एपीएफको दोस्रो इनिङ्स पनि २ सय ४ रनमै टुंगियो । ओपनर दीपक बोहराले ९४ रन बनाए । उनले आसिफ शेखसँग पहिलो विकेटमा ६५ रन जोड्दा एपीएफले खेल बराबरीतर्फ
लैजाने सक्ने संकेत देखाएको थियो । तर आसिफलाई सागर ढकालले २१ रनमा कट एन्ड बोल्ड गरेपछि अन्य ब्याटरहरू क्रिजमा लामो समय टिक्न सकेनन् ।
दीपकले १ सय २९ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे । उनलाई शंकरले एलबीडब्लु धरापमा पारे । कप्तान रोहित पौडेल ८, सन्दीप जोरा ११, सुमित महर्जन शून्य, भुवन कार्की ४, लोकश बम १ रनमा आउट भए । तल्लोक्रममा अमरसिंह राउटेलाले ७७ बल खेल्दै ४ चौकासहित ३२ रन बनाए । इर्शाद अहमद ५१ बलमा ३ चौका प्रहार गर्दै २० रनमा अविजित रहे । युवराज ७ र अभिषेक गौतम शून्यमा आउट भए ।
पुलिसका ललित राजवंशीले ५ विकेट लिए । उनले २८.३ ओभरमा ८० रन खर्चिए । पहिलो इनिङ्समा पनि ४ विकेट लिएका ललित
प्लेयर अफ द म्याचमा चुनिए । कुशल भुर्तेलले १५ ओभरमा २ मेडन राख्दै ५६ रन खर्चेर ३ विकेट लिए । पुलिसले आवश्यक १ सय १३ रन १६ ओभरमै बनायो । सोहेल कुँवर ७ रन बनाई भुवनको बलमा आउट भए पनि भुर्तेल र अमित श्रेष्ठले दोस्रो विकेटमा ९० रनको साझेदारी गर्दै पुलिसलाई विजय दिलाए । भुर्तेल ७१ र अमित ३२ रनमा अविजित रहे । भुर्तेलले ५३ बल खेल्दा ४ चौका र ५ छक्का तथा अमितले २५ बलमा समान २ चौका र छक्का प्रहार गरे ।
पुलिसले २७.५ र एपीएफले ११.५ अंक जोड्यो । त्रिभुवन आर्मी क्लब ४२.५ अंक जोडेर शीर्षस्थानमा छ । पुलिसको ३८ र एपीएफको ३७.५ अंक छ । बागमती प्रदेश २७.५ अंक जोड्दै चौथो स्थानमा छ ।
आर्मी र बागमतीको बराबरी
आर्मी क्लब र बागमती प्रदेशबीच मूलपानी क्रिकेट मैदानमा भएको खेल बराबरीमा टुंगिएको थियो । खेलमा आर्मीले १८.५ र बागमतीले १४.५ अंक बटुल्यो । मंगलबार आर्मीले १९१–३ बाट खेल सुरु गरेको थियो र टोलीले ६९.३ ओभरमा ३५२–७ मा इनिङ्स घोषणा गर्दै ९३ रनको अग्रता लिएको थियो । नरेन भट्ट ५१ बलमा ६६ र पवन कार्की १६ बलमा २० रन बनाई अविजित रहे । नरेनले १ चौका र ८ छक्का प्रहार गरे । त्यसमध्ये ५ छक्का उनले बागमतीका कप्तान सन्दीप लामिछानेको बलमा प्रहार गरे ।
सन्तोष कार्की अघिल्लो दिनको व्यक्तिगत स्कोर ४३ रनमै रनआउट भए । बसिर अहमदले १३ र कुशल मल्लले १७ रन जोडे । बागमतीका रिजन ढकाल र सन्दीपले २–२ विकेट लिए । तर सन्दीपले २७ ओभरमा ७ मेडन राख्दै १ सय २८ रन खर्चन पुगे । विपिन आचार्य र इशान पाण्डेले १–१ विकेट लिए ।
बागमतीले दोस्रो इनिङ्स २१०–३ मा समाप्तिको घोषणा गर्यो । ओपनरद्वय आशुतोष घिरैया र रित गौतम दुवैले अर्धशतक बनाएर १ सय ५ रन जोडे । आशुतोषले १ सय २४ बलमा ११ चौकासहित ७६ र रितले ७८ बलमा ९ चौकासहित ५६ रन बनाए । खेलमा दोस्रो अर्धशतक बनाएका आशुतोष प्लेयर अफ द म्याचमा चुनिए । उनले पहिलो इनिङ्समा पनि ७७ रन बनाए । शुभ कंसाकार ९ रनमा आउट भए । इशान पाण्डे ५८ बलमा ५ चौका र १ छक्कासहित ४१ र उत्तम थापामगर १३ रनमा अविजित रहे । आर्मीका बसिर अहमदले २ र पवनले १ विकेट लिए ।
आर्मीले दोस्रो इनिङ्समा ४ विकेट गुमाई ३९ रन बनाएको समयमा दिनको खेल टुंगिएको थियो । तृतराज दास १६ रन बनाई विपिनको बलमा आउट भए । सन्दीपले एकै ओभरमा भीम सार्की (११), कप्तान विनोद भण्डारी (०) र कुशल मल्ल (९) लाई आउट गरेका थिए ।
