उपचारको अपिल गर्दै कप्तान ‘साम्बा’

‘राष्ट्रिय खेलाडीहरूको उपचार गर्न नसक्नेहरूलाई पदमा बस्न नैतिकताले दिन्छ ?’

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

Captain 'Samba' appeals for treatment

What you should know

काठमाडौँ — नेपाली फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन्, सावित्रा भण्डारी ‘साम्बा’ । मैदानको प्रदर्शन र तथ्यांकले यस्तै भन्छ । यति बेला उनी गम्भीर चोटबाट गुज्रिरहेकी छन् । उनले चाहे जस्तो उपचार हुन सकेको छैन । यस्तोमा उनले सोमबार सामाजिक सञ्जालमा भावुक हुँदै लेखेकी छन्, ‘यो चोटले मलाई शारीरिक र मानसिक रूपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कने छु । थाकेको हो, हारेको छैन ।'

महिला राष्ट्रिय टोलीकी कप्तान पनि रहेकी सावित्राले आफूलाई लागेको चोट निको पार्न शल्यक्रिया आवश्यक परेको हुनाले त्यसमा आर्थिक सहयोग गर्न अपिल गरेकी छन् । उनले चोटग्रस्त घुँडाको शल्यक्रियाका लागि ८० हजार अमेरिकी डलर चाहिने पनि बताएकी छन् । उनी सात सातादेखि मैदान बाहिर छिन् । 

अस्ट्रेलियाको ‘ए’ लिगमा वेलिङ्टन फिनिक्सबाट खेल्ने क्रममा उनलाई चोट लागेको हो । ब्रिसवेन रोअर्सविरुद्धको खेलमा उनको एसीएल च्यातिएको थियो । उनको यो घटना दोस्रो पटक भएको हो । उनले लेखेकी छन्, ‘मेरो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया हरेर हालिएको ग्राफ्ट र एमसीएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था छ ।’ 

सावित्राले सामाजिक सञ्जाल मार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूलाई बेवास्ता गरेको आरोप पनि लगाएकी छिन् । उनले लेखेकी छन्, ‘यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको ३ सातापछि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भए पनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर त्यसअनुसार एन्फाबाट प्रक्रिया अगाडि बढेन । मैले पटक–पटक प्रयास गर्दा पनि उहाँहरूलाई सम्पर्क गर्न कठिन भयो ।’ 

न्युजिल्यान्डको क्लबले उनलाई उताकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर साम्बाको इच्छा हो, चोट गम्भीर रहेको हुनाले कतारको अस्पेटार अस्पतालमै उपचार गराउने । क्लबले बिमाबाट प्राप्त हुने रकम पनि उनको नाममा निकासा गरिदिने भइसकेको छ । उनी थप्छिन्, ‘तर त्यो रकम मेरो शल्यक्रिया र ७–८ महिनाको रिह्याबका लागि अपुग हुने हुनाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेकी छु ।’ 

यसबीच एन्फाले सोमबार नै प्रेस विज्ञप्ति जारी गर्दै साम्बाको उपचारका लागि आवश्यक पहल गरिरहेको जनाएको छ । उनले सामाजिक सञ्जालमा लेखेपछि आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनी नेपाली फुटबलको गौरव भएको र एक धरोहर रहेको एन्फाले जनाएको छ । एन्फाले व्यावसायिक क्लब फुटबलमा कोही पनि खेलाडी घाइते भए निजको उपचारको जिम्मा सम्बन्धित क्लबकै हुने अन्तर्राष्ट्रिय प्रचलन रहेको जिकिर गर्दै कतार फुटबल संघसँग आवश्यक पहल र ताकेता गरिसकेको पनि बताएको छ ।

तर एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले विगतमा पनि नेपाल एपीएफ क्लबबाट खेल्दा नै साम्बाको एसीएल च्यातिँदा फुटबलको सर्वोच्च निकायले नै कतारको अस्पेटारमै उपचार गरिदिएको स्मरण गर्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘राष्ट्रिय खेलाडीहरूको उपचार गर्न नसक्नेहरूलाई पदमा बस्न नैतिकताले दिन्छ ?’

सावित्राको सामाजिक सञ्जालमा अपिल बाहिर आएलगत्तै उनको समर्थनमा राष्ट्रिय टिमका सदस्य, फुटबलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र पाधिकारीले ऐक्यबद्धता जनाएका छन् । यस्तै विभिन्न संघसंस्था तथा व्यक्तिगत रूपमै आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि पोखेका छन् । उनीहरू सबैको एउटै माग छ, सावित्राको सक्दो चाँडै उपचार उनले चिताएको अस्पतालमै होस् । उनीहरूको कामना के छ भने उनलाई चाँडै मैदानमा देख्न पाइयोस् । 

कान्तिपुर

Link copied successfully