जिम्बावेमाथि वेस्ट इन्डिजको प्रहार

जिम्बावेका कप्तान सिकन्दर राजाले वानखेडे रंगशालामा टस जितेर बलिङ गर्ने निर्णय गरे, जुन अन्त्यमा निकै घातक बन्यो ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

West Indies attack Zimbabwe

What you should know

मुम्बई (एएफपी) — सिमरन हेटमायर र रोभमन पावेलको आक्रामक ब्याटिङमा वेस्ट इन्डिजले ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा सोमबार जिम्बावेलाई १ सय ७ रनले पराजित गरेको छ ।

हेटमायरले ३४ बलमा ८५ रन बनाएपछि दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाई २ सय ५४ रन बनायो । ट्वान्टी–२० विश्वकपमा यो दोस्रो उच्च स्कोर हो ।

जिम्बावेका कप्तान सिकन्दर राजाले वानखेडे रंगशालामा टस जितेर बलिङ गर्ने निर्णय गरे, जुन अन्त्यमा निकै घातक बन्यो । जिम्बावेका बलरहरू वेस्ट इन्डिजका पावर हिटर ब्याटरसामु निकै कमजोर साबित भए । सन् २००७ को ट्वान्टी–२० विश्वकपमा श्रीलंकाले केन्याविरुद्ध बनाएको २६०–६ को स्कोरभन्दा वेस्ट इन्डिज थोरैले मात्र पछाडि रह्यो ।

यसपटकको प्रतियोगितामा आयरल्यान्डले कोलम्बोमा ओमानविरुद्ध बनाएको २३५–५ को स्कोरलाई वेस्ट इन्डिजले सजिलै उछिनेको थियो । ब्रान्डन किङ ९ रनमा आउट भएपछि १७–१ को स्थितिमा क्रिजमा आएका देव्रेहाते हेटमायरलाई जिम्बावेले जीवनदान दिएको थियो । उनी ९ रनमा हुँदा डिप फाइन लेगमा तासिङ्गा मुसेकिवाले क्याच छाड्न पुगे ।

हेटमायरले त्यसको पूरा फाइदा उठाउँदै १९ बलमै अर्धशतक पार गरे । सोक्रममा उनले ५ छक्का र ४ चौका प्रहार गरे । हेटमायरले प्रतियोगितामा सबैभन्दा कम बलमा अर्धशतक बनाउने दक्षिण अफ्रिकाका एडेन मारक्रमले बनाएको कीर्तिमान बराबरी गरे । उनी त्यही रोकिनेवाला थिएनन् । हेटमायर र पावेल एकसाथ क्रिजमा हुँदा वेस्ट इन्डिजको स्कोर ५४–२ थियो । त्यसपछि यी दुईले ४५ बलमै शतकीय साझेदारी पूरा गरे ।

यी दुईले तेस्रो विकेटमा कुल ५२ बलमा १ सय २२ रनको साझेदारी गरेपछि वेस्ट इन्डिजको १५ ओभरमा १ सय ७६ रन पुग्यो । हेटमायरले ७० रनमा दोस्रो जीवनदान पाए । उनले कुल ७ छक्का र ७ चौका प्रहार गरे । पावेलले ३५ बलमा ५९ रन बनाउँदा ४ चौका र ४ छक्का प्रहार गरे । जिम्बावेका रिचर्ड एनगाराभा र ब्लेसिङ मुजारावानीले २–२ विकेट लिए । तर कप्तान राजाले ३ ओभरमा ५२ रन खर्चन पुगे ।

सेरफन रदरफोर्डले १३ बलमा अविजित ३१ रन बनाएपछि वेस्ट इन्डिजले २ सय रन पार गरेको थियो । रोमारियो सेफर्डले १० बलमा २१ र जेसन होल्डरले ४ बलमा १३ रन बनाए ।

जबाफमा आएको जिम्बावे १७.४ ओभरमा १ सय ४७ रनमा अलआउट भयो । अन्तिम जोडी ब्राड इभान्स र एनगाराभाले ४४ रन जोडेपछि मात्र जिम्बावेको यो स्कोर बनेको थियो । इभान्सले आफ्नो उच्च स्कोर बनाउनेक्रममा २१ बल खेल्दै २ चौका ५ छक्कासहित २१ बलमा ४३ रन बनाए । डिएन मेयर्स २८, राजा २७ रनमा आउट भए ।

वेस्ट इन्डिजका गुडाकेश मोटीले ४ विकेट लिए । देव्रेहाते स्पिनर मोटीले ४ ओभरमा १ मेडन राख्दै २८ रनमात्र खर्चे । अर्का देव्रेहाते स्पिनर अकेल हुसैनले पनि ४ ओभरमा १ मेडन राख्दै २८ रन खर्चेर ३ विकेट लिए । म्याथ्यु फोर्डले २ विकेट लिए ।

कान्तिपुर

Link copied successfully