सिद्धार्थ क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा प्यारामाउन्टले रूपन्देही क्याम्पसलाई १ सय १५ रनले पराजित गर्यो भने दोस्रो खेलमा न्यु होराइजनले नविन औद्योगिकलाई १ सय ६१ रनले हरायो ।
What you should know
भैरहवा — यहाँ सञ्चालन भइरहेको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार प्यारामाउन्ट र न्यु होराइजन कलेज विजयी भएका छन् ।
सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा प्यारामाउन्टले रूपन्देही क्याम्पसलाई १ सय १५ रनले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको प्यारामाउन्टले ४ विकेट गुमाएर १ सय ६२ रन बनायो । उसका लागि अमन बोहराले अविजित ५५, सन्देश पन्थीले ४८ र देव खनालले १५ रन बनाए । बलिङमा रुपन्देही क्याम्पसका सन्तोष यादव र मनीष थापाले २–२ विकेट हात पारे ।
जवाफमा रुपन्देही क्याम्पस १० ओभर ५ बलमा ४७ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा प्यारामाउन्टका आशुतोष पाण्डे र सागर भण्डारीले ४–४ विकेट लिए । रुपन्देही क्याम्पसका सन्तोष यादवले २३ र जितेन्द्र साहनीले १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । अमन बोहरा प्लेयर अफ द म्याच भए ।
दोस्रो खेलमा न्यु होराइजनले नविन औद्योगिकलाई १ सय ६१ रनले हरायो । टस हारेर ब्याटिङ गरेको न्यु होराइजनले ६ विकेट गुमाएर २ सय ७ रनको बलियो योगफल खडा गर्यो । उसका लागि विप्रसन केसीले अविजित ६०, आरिफ खानले ४८ र अमर मिश्राले २५ रन बनाए । बलिङमा नविन औद्योगिकका अर्जुन तरामु र केशव सुवेदीले २–२ विकेट लिए ।
प्रत्युत्तरमा नविन औद्योगिक १२ ओभर २ बलमा अलआउट हुँदै ४६ रन मात्रै बनाउन सक्यो ।
नविन औद्योगिकका अजयसिंह यादवले १७ रन बनाए पनि अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा न्यु होराइजनका महेश भरले ७ विकेट लिए । उनी प्लेयर अफ द म्याच भए ।
फागुन १४ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजको सहभागिता रहेको खेल संयोजक निरजप्रताप खाँणले बताए ।
