बागमतीलाई आर्मीको जवाफ

जय ट्रफी मेन्स इलिट कप दुईदिवसीय क्रिकेटमा भीम सार्की र सन्तोष कार्कीले शतकीय साझेदारी गरेपछि आर्मीले गतिलो स्कोर बनाएको हो ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

Army's response to Bagmati

What you should know

काठमाडौँ — भीम सार्की र सन्तोष कार्कीले शतकीय साझेदारी गरेपछि त्रिभुवन आर्मी क्लबले जय ट्रफी मेन्स इलिट कप दुईदिवसीय क्रिकेटमा सोमबार बागमती प्रदेशलाई राम्रो जबाफ फर्काएको छ । मूलपानी क्रिकेट मैदानमा पहिलो दिनको खेल समाप्तिमा आर्मीले ३ विकेट गुमाई १ सय ९१ रन बनाएको छ ।

बागमतीले पहिलो इनिङ्स पूरा ७० ओभर ब्याटिङ गरेर ७ विकेट गुमाई २ सय ५९ रन बनाई इनिङ्स समाप्तिको घोषणा गरेको थियो । भीम र सन्तोषले तेस्रो विकेटमा १ सय १४ रनको साझेदारी गरेपछि आर्मी पहिलो इनिङ्सका आधारमा बागमतीभन्दा ६८ रनले मात्र पछाडि छ । टोलीले अझै ३० ओभर ब्याटिङ गर्न बाँकी छ ।

अघिल्लो खेलमा शतक बनाएका भीमले ७४ रनको इनिङ्स खेले । दिनको खेल सकिन ३ ओभरअघि देव्रेहाते सिमर रिजन ढकालको लेग साइडमा गएको बललाई फ्लिक गर्न खोज्दा विकेटकिपरलाई क्याच दिन पुगेका भीमले ८३ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । सन्तोष ७९ बलमा ७ चौकासहित ४३ रनमा अविजित छन् । उनलाई बसिर अहमदले ५ रन बनाई साथ दिइरहेका छन् ।

Army's response to Bagmati

ओपनर तृतराज दास ३८ र इमरान शेख १८ रनमा आउट भएपछि भीम र सन्तोषले खुलेर खेलेका थिए । तृतले ४४ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए । बागमतीबाट रिजन, कप्तान सन्दीप लामिछाने र विपिन आचार्यले १–१ विकेट लिए ।

यसअघि बागमतीबाट ओपनर आशुतोष घिरैया र इशान पाण्डेले अर्धशतक बनाए । आशुतोषले १ सय २७ बल खेल्दा ११ चौकासहित ७७ रन बनाए । लगातार दोस्रो खेलमा अर्धशतक बनाउनेक्रममा इशानले ६९ रन जोडे । उनले १ सय ४ बलमा ५ चौका प्रहार गरे ।

Army's response to Bagmati

रित गौतम र शुभ कंसाकार समान २०, उत्तम थापामगर ११, विवेक मगर ३१, विपिन ७ रनमा आउट भए । विवेकले ४३ बलमा १ चौका र ३ छक्का प्रहार गरे । सन्दीप ५ र सूर्य तामाङ ८ रनमा अविजित रहे । आर्मीका शाहब आलमले ३ विकेट लिए । उनले २२ ओभरमा ३ मेडन राख्दै ६५ रन खर्चे । नरेन साउदले २ तथा बसिर अहमद र कुशल मल्लले १–१ विकेट लिए ।

एपीएफलाई पछ्याउँदै पुलिस

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल एपीएफ क्लबको नजिक नेपाल पुलिस क्लब पुगेको छ । टस हारेपछि ब्याटिङ निम्तो पाएको एपीएफ ६३.४ ओभर खेलेर १ सय ८५ रनमा अलआउट भयो । पुलिसले ५ विकेट गुमाई १ सय ७९ रन बनाएको छ ।

कप्तान रोहित पौडेलले ४५ र सुमित महर्जनले ४५ रन बनाए पनि अन्यले खासै योगदान दिन नसक्दा एपीएफ २ सय रनमुनि समेटिएको थियो । एपीएफले पछिल्लो ८ विकेट ९२ रनमा गुमायो । रोहितले ४८ बलमा ९ चौका प्रहार गरे भने सुमितले १ सयमा ५ चौका र ३ छक्का प्रहार गरे ।

ओपनरद्वय दीपक बोहरा २८ र आसिफ शेख १२ रनमा आउट भए । अन्य खेलाडीमा सन्दीप जोरा १०, भुवन कार्की र लोकेश बम समान ४, अमरसिंह रौटेला ८, अभिषेक गौतम शून्य र युवराज खत्री १६ रनमा आउट भए । युवराजले १७ बलमा समान १ चौका र छक्का प्रहार गरे ।

चार बलरमात्र प्रयोग गरेको पुलिसबाट सागर ढकाल र ललित राजवंशीले ४–४ तथा कुशल भुर्तेलले २ विकेट लिए । सागरले २६ ओभरमा ७ मेडन राख्दै ६६ र ललितले ३१.४ ओभरमा ९ मेडन राख्दै ८१ रन खर्चे ।

पुलिसले ओपनर सोहेल कुँवरलाई शून्यमै गुमाएको थियो । अर्का ओपनर भुर्तेलले ४३ बलमा २ चौकासहित २२ रन बनाए । अमित श्रेष्ठले ४१ रन बनाए । उनले ५० बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । दिलसाद अली र शंकर रानाले चौथो विकेटमा ७६ रनको साझेदारी गरेपछि पुलिस पहिलो इनिङ्सका आधारमा अग्रतातर्फ छ ।

अलीले ८७ बलमा ७ चौका र १ छक्कासहित ५८ रन बनाए । शंकर ४८ रनमा अविजित छन् । उनले ९४ बल खेल्दा समान २ चौका र छक्का प्रहार गरे । कप्तान आरिफ शेख ९ रनमा जोराको बलमा आउट भएपछि दिनको खेल सकिएको थियो ।

कान्तिपुर

Link copied successfully