काष्ठमण्डप ‘ए’ समूह ‘ए’ को उपविजेता तथा काष्ठमण्डप ‘बी’ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगे ।
काठमाडौँ — आयोजक काष्ठमण्डपको ‘ए’ र ‘बी’ दुवै टोली काष्ठमण्डप छात्र फुटसल प्रतियोगितामा सेमिफाइनल पुगेका छन् ।
काष्ठमण्डप ‘ए’ समूह ‘ए’ को उपविजेता तथा काष्ठमण्डप ‘बी’ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगे । काष्ठमण्डप ‘ए’ ले ६ तथा काष्ठमण्डप ‘बी’ ले ७ अंक जोडे । प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूह विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइएको छ ।
समूह ‘ए’ बाट ७ अंकसाथ द सेलिब्रेसन को–एड विजेता तथा समूह ‘बी’ बाट ६ अंकसाथ एआईटीएम उपविजेता हुँदै सेमिफाइनलमा पुगे ।
आयोजक दुवै टोलीको भेट सेमिफाइनलमा हुनेछ भने अर्को सेमिफाइनल सेलिब्रेसन को–एड र एआईटीएमबीच हुनेछ ।
प्रतियोगिताको काष्ठमण्डपका प्लस टु प्रोग्राम डाइरेक्टर रिचार्ड गोमेज र ए लेभल प्रोग्राम डाइरेक्टर यादव थपलियाले उद्घाटन गरे ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, २५ हजार र १५ हजार पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही २ हजार ५ सय रुपैयाँ पुरस्कृत गरिने छ ।
भक्तवीर सिंह तुलाधर फाउन्डेसनको मुख्य प्रायोजन तथा स्टडी प्लसको सहयोगमा प्रतियोगिता भएको हो ।
