इतिहास रच्ने र दोहोर्‍याउने होड

जबकि पुलिस र मनाङ दुबै सर्वाधिक ६ पल्टका उपाधि विजेता हुन् । दबाबका क्षणमा मनोबल थाम्ने यो क्षमता नै सहाराको ठूलो बल बनेको छ ।

फाल्गुन ९, २०८२

दीपक परियार

The race to make and repeat history

What you should know

पोखरा — पोखराको फुटबल इतिहासमा एउटा नयाँ अध्याय लेखिन तयार छ । २५ औं संस्करणको आहा–रारा पोखरा गोल्डकप फुटबलको उपाधि युद्धमा शनिबार आयोजक सहारा क्लब र जावलाखेल युथ क्लबबीच पोखरा रंगशालामा फाइनल हुनेछ । 

एकातिर १२ वर्षपछि उपाधि घर फर्काउने सपना बोकेको सहारा छ, अर्कातिर १४ वर्षपछि फाइनल पुगेर उपाधि जित्न आतुर जावलाखेल । सहारा इतिहास दोहोर्‍याउन चाहन्छ, जावलाखेल रच्न । 

सहाराको यो फाइनल यात्रा सहज थिएन । क्वाटरफाइनल नेपाल पुलिस र सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई लगातार सडेन डेथमा पराजित गर्दै सहारा फाइनल पुगेको हो । जबकि पुलिस र मनाङ दुबै सर्वाधिक ६ पल्टका उपाधि विजेता हुन् । दबाबका क्षणमा मनोबल थाम्ने यो क्षमता नै सहाराको ठूलो बल बनेको छ ।

तर एउटा कमजोर पक्ष पनि स्पष्ट देखिएको छ, फिनिसिङ । प्रशिक्षक सुनिल राना मगरले स्वयं स्वीकारे कि टोलीले राम्रा मौका सिर्जना गर्दागर्दै पनि गोल चुकाउने क्रम जारी छ । तथापि, फाइनलमा त्यही कमजोरीमा सुधार गर्नु नै मुख्य लक्ष्य रहेको उनले बताए ।

सहाराको अर्को बलियो पक्ष छ, घरेलु मैदान र खेलाडीको उत्साह । कप्तान सुशील लामा सहारा एकेडेमीकै उत्पादन हुन् । उनका लागि यो उपाधि केवल ट्रफी होइन, एकेडेमीप्रतिको भावनात्मक ऋण चुक्ता गर्ने अवसर हो । प्रशिक्षक मगर, जो १२ वर्षअघि यही क्लबको म्यानेजरको रूपमा उपाधि जितेका थिए, अहिले प्रशिक्षकको भूमिकामा उही उपाधि दोहोर्‍याउन दृढ छन् । ‘१२्र वर्षअगाडि हामीले जितेका थियौं, त्यही १२ वर्षपछि खोला फर्किनेछ, फेरि हामी जित्ने छौं,’ उनले शुक्रबार पत्रकार सम्मेलनमा भने ।

जावलाखेलको यात्रा भने तुलनात्मक रूपमा निरन्तर र प्रभावशाली रह्यो । प्रि–क्वाटरफाइनलमा मछिन्द्र, क्वाटरफाइनलमा चर्च ब्वाइज र सेमिफाइनलमा उज्वेकिस्तानको डिफेन्डिङ च्याम्पियन आभा एफसीलाई १–० ले पराजित गर्दै जावलाखेलले उत्कृष्ट खेल प्रदर्शनको नमुना पेस गरेको छ । उज्बेकी टोलीलाई हराउनुले जावलाखेलका खेलाडीको मनोबल र आत्मविश्वास उच्चतम बिन्दुमा पुगेको छ ।

प्रशिक्षक सुनिलकुमार श्रेष्ठका अनुसार जावलाखेलको शक्ति उनीहरूको सन्तुलित टिम संरचनामा निहित छ । डिफेन्स, मिडफिल्ड र स्ट्राइकर लाइन, सबैतर्फ टोली समान रूपमा बलियो छ । सेमिफाइनलमा एक खेलाडीले रातो कार्ड पाउँदा १० जनामा खेल्नुपरेको भए पनि उनी चिन्तित देखिँदैनन् । बेन्चमा बस्ने खेलाडी पनि त्यही स्तरका भएकाले फरक नपर्ने उनको भनाइ छ । ‘नेपाली फुटबलको मुख्य समस्या फिनिसिङ हो,’ उनले भने, ‘फाइनलमा जसले पहिलो गोल गर्छ, उपाधि उसकै पक्षमा जाने सम्भावना धेरै हुन्छ ।’

०६८ मा मनाङसँग पराजित भएर उपविजेता बनेको जावलाखेल यसपल्ट १४ वर्षअघिको त्यो घाउ निको पार्न मैदान उत्रनेछ । कप्तान युनेश चौधरीले भने, ‘चौध वर्षअगाडि हामी उपविजेता भएका थियौं, यसपल्ट हामी पहिलो हुने टार्गेटमा छौं ।’ दुवै प्रशिक्षकले एउटै कुरामा सहमति जनाएका छन्, फिनिसिङ निर्णायक हुनेछ । नेपाली फुटबलमा ९० मिनेटभित्र गोल हुनु दुर्लभ घटना हो र यही प्रवृत्तिले यो फाइनललाई पनि कसिलो र रोमाञ्चक बनाउन सक्छ । यदि खेल अतिरिक्त समय वा सडेन डेथसम्म पुग्यो भने सहाराको पक्षमा मनोवैज्ञानिक फाइदा छ । उनीहरूले पहिले नै दुई पटक यस्तो दबाब झेलिसकेका छन् ।

दुवै टोलीले आक्रामक शैलीको खेल खेल्ने संकेत दिएका छन् । यसको अर्थ हो, फाइनल खुला र उत्तेजनापूर्ण हुनसक्छ, जुन दर्शकका लागि भव्य अनुभव हुनेछ । घरेलु दर्शकको भूमिका पनि महत्त्वपूर्ण रहनेछ । पोखराका हजारौं दर्शकले सहारालाई साथ दिनेछन् जुन जावलाखेलका लागि थप मनोवैज्ञानिक चुनौती हो । तर जावलाखेलका प्रशिक्षक श्रेष्ठले यसलाई सामान्य मान्दै खेलाडीको उच्च मनोबलमा विश्वास व्यक्त गरेका छन् ।

विजेताले १४ लाख १ हजार र उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् । गत वर्ष उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले उपाधि जितेको थियो । ब्ल्याक बुल्सकै खेलाडी लिएर यस वर्ष आभा सहभागी भएको थियो ।

पोखरा रंगशालाले शनिबार दिउँसो हजारौं दर्शकको साक्षीमा एउटा अविस्मरणीय खेल देख्नेछ । एकातिर सडेन डेथ जितको अनुभव र घरेलु समर्थन बोकेको सहारा, अर्कातिर निरन्तर उत्कृष्ट प्रदर्शन गरेको जावलाखेल । यो फाइनल जस्तले जिते पनि नेपाली फुटबलको इतिहासमा यो एक यादगार अध्याय बन्नेछ ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully