ठूला टिमको ‘सुपर एट’ भिडन्त

ट्वान्टी–२० विश्वकप क्रिकेटले आजदेखि अन्तिम आठको यात्रा थाल्दै, जहाँ अविश्वसनीय प्रदर्शन गरेको जिम्बावे हुँदा पूर्वविजेता अस्ट्रेलिया हुनेछैन

फाल्गुन ९, २०८२

एएफपी

'Super Eight' clash of big teams

What you should know

कोलकाता — पाकिस्तान र न्युजिल्यान्डबीच कोलम्बोमा हुने खेलसँगै शनिबार सुरु हुनेछ, ट्वान्टी–२० विश्वकप क्रिकेटको ‘सुपर एट’ चरण । यो यस्तो चरण हुनेछ, जहाँ पूर्वविजेता अस्ट्रेलिया हुनेछैन । किनभने यो टिमले समूह चरण नै पार गर्न सकेन । उसको स्थानमा ठूला टिमको भिडन्तमा खेल्नेछ, प्रतियोगिताकै आश्चर्यजनक टिम जिम्बावेले । यो त्यही टिम हो, जसले सन् २०२४ मा छनोट चरण पनि पार गर्न सकेको थिएन । 

जिम्बावे अविश्वसनीय ढंगले अपराजित रहेर समूह ‘बी’ को विजेता रह्यो । यसक्रममा जिम्बावेले अस्ट्रेलियालाई मात्र हराएन, सहआयोजक श्रीलंकालाई पनि हरायो । चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रेको अस्ट्रेलिया सन् २००९ यता पहिलो पटक ट्वान्टी–२० विश्वकपको दोस्रो चरण पुग्न नसकेको पहिलो पटक हो । यतिबेला अस्ट्रेलियाली मिडियाले टिमको खुबै आलोचना गरिरहेको छ । 

उनीहरूको तर्क छ, एक त टिममा खेलाडीको छनोट नै राम्रो रहेन, दोस्रो टिमको तयारी नाम मात्रको रह्यो । विश्वकपअगाडि पाकिस्तान पुगेको अस्ट्रेलिया त्यहाँ ३–० ले पराजित भएको थियो । अस्ट्रेलियाका प्रशिक्षक एन्ड्र्यु म्याकडोनाल्डले के मानेका छन् भने सुपर एट पुग्न नसकेपछि आफ्ना खेलाडी जति स्तब्ध जस्तै छन्, तर यसबाट पाठ सिकेर अगाडि बढ्न तयार छन् । 

टी–२० क्रिकेटको विश्व नम्बर एक टिम भारत भने आफ्नै भूमिमा उपाधि रक्षाका लागि यतिबेला बलियो प्रत्याशी बनेको छ । तर, भारतका लागि यो बाटो सजिलो भने हुने छैन । किनभने सन् २०२४ को उपविजेता दक्षिण अफ्रिकाविरुद्ध टोलीले आइतबार अहमदाबादमा खेल्नेछ, त्यो पनि १ लाख ३० हजार दर्शक क्षमताको नरेन्द्र मोदी स्टेडियममा । भारत र दक्षिण अफ्रिका दुवै लिग चरणका चारै खेल जितेर सुपर एट पुगेका हुन् । 

भारत यतिबेला टी–२० विश्वकपमा १२ खेलको अपराजित यात्राबाट अगाडि बढिरहेको छ । सन् २०२२ को विजेता इंग्ल्यान्डविरुद्ध सेमिफाइनलमा बेहोरेको हारयता भारतले कुनै खेल गुमाएको छैन । फेरि अहिलेसम्म कुनै पनि टिमले न लगातार टी–२० विश्वकप जितेको छ न त घरेलु मैदानमा उपाधिको रक्षा गर्न सकेको छ । त्यसैले एक अर्बभन्दा क्रिकेट समर्थकको शुभकामना भारतीय खेलाडीको काँधमा हुनेछ । 

तर भारतको अहिलेसम्मको प्रदर्शन एकनासे हुन सकेको छैन, किनभने टिमको माथिल्लो क्रमको ब्याटिङले कमजोर प्रदर्शन गरेको छ । विशेषतः नम्बर एक ब्याटर अभिषेक शर्मा लगातार तीन खेलमा शून्यको स्कोरबाट गुज्रिइसकेका छन् । भारतको ब्याटिङमा केही न केही कमजोरी छ, त्यसैले त अमेरिकाविरुद्धको खेलमा टिम एक समय ७७ रन बनाउँदासम्म ६ विकेट गुमाएर दयनीय स्थितिमा पुगेको थियो । पछि खेल भने भारतकै नाममा रह्यो । सुपर एटको समूह ‘एक’मा जिम्बावे र वेस्ट इन्डिज पनि छ । यी दुईले सोमबार मुम्बईमा खेल्नेछ । यो समूहका सबै खेल भारतमै हुनेछ । दुईपल्टको च्याम्पियन वेस्ट इन्डिजले समूह चरणको खेलमा इंग्ल्यान्डलाई उछिनेको थियो र अहिलेसम्मको प्रदर्शनका आधारमा यो टिम बलियो देखिन्छ । सन् २०१६ मा जतिबेला भारतमै टी–२० विश्वकप भएको थियो, त्यतिबेला च्याम्पियन भएको टिम वेस्ट इन्डिज नै थियो । 

यसपल्ट उसले समूह चरणका चारै खेल जितेको छ । टोलीका लागि पनि जिम्बावे बलियो विपक्षी टिम साबित हुनेछ । आयरल्यान्डविरुद्धको खेल वर्षाले रद्द भएता पनि जिम्बावेली टिम यतिबेला खुबै उत्साही छ । सुपर एटको समूह ‘दुई’ मा आयोजक श्रीलंकासँगै इंग्ल्यान्ड, पाकिस्तान र न्युजिल्यान्ड छ । प्रत्येक समूहबाट २–२ टिम सेमिफाइनल पुग्नेछ । यसमध्ये सुपर एट पुग्ने अन्तिम टिम रहेको थियो, पाकिस्तान । 

यसका लािग पाकिस्तानले नामिबियालाई सय रनभन्दा बढीको अन्तरले हराएको थियो । यो जितलाई कप्तान सलमान आगाले पूर्ण प्रदर्शनको संज्ञा दिएका छन् । भलै, यही टिम आफ्नो पारम्परिक शत्रु टिम भारतको हातबाट नराम्रोसँग पराजित रहेको थियो । मुम्बई र कोलकातामा पालैपालो खेलेको इंग्ल्यान्डले समूह चरणमा एकै मात्र टेस्ट टिम वेस्ट इन्डिजको सामना गरेको थियो र त्यसमा पराजित रह्यो । 

ह्यारी ब्रुक्सको नेतृत्वमा रहेको इंग्लिस टिमले नेपाल, स्कटल्यान्ड र डेब्यु गरिरहेको इटालीलाई मात्र हराएको थियो । यी तीनै जित प्रभावशाली रहेन । तर, इंग्ल्यान्ड आइतबार क्यान्डीमा श्रीलंकाको सामना गर्दा खुसी नै हुनेछ । किनभने पछिल्लो महिना उसले टी–२० सिरिजमा श्रीलंकालाई ३–० ले हराएको थियो । त्यसैमा साम करनले ह्याट्रिक विकेट लिएका थिए । इंग्ल्यान्डका लागि माथिल्लो क्रम चम्कन सकेको छैनभन्दा हुन्छ । 

जोस बटलर र फिल साल्टले खासै ब्याटबाट राम्रो प्रदर्शन गरेका छैनन् । न त ब्रुक्स आफैंले आक्रामक खेलको प्रदर्शन गरेका छन् । श्रीलंकाको प्रदर्शन पनि मिश्रित छ, कहिले एकदमै राम्रो, कहिले खराब । पथुम निसान्काको सानदार शतकबाट श्रीलंका अस्ट्रेलियालाई त हराउन सफल रह्यो, तर पछि आफैं जिम्बावेको हातबाट पराजित रह्यो । त्यसमा पनि निसान्काले ६२ रन भने बनाएका थिए । 

‘टप फाइभ’ प्रदर्शन

ट्वान्टी–२० विश्वकपले आजदेखि अन्तिम आठको यात्रा थाल्दै छ । यस्तोमा लिग चरणका खेल कस्तो रह्यो त ? यो चरणका पााच प्रमुख प्रदर्शन यस्तो थियो :

सेपार्डको ह्याट्रिक विकेट

वेस्ट इन्डिजका तीव्र गतिका बलर रोमारियो सेपार्डले यसपल्टको विश्वकपको पहिलो ह्याट्रिक विकेट लिए स्कटल्यान्डविरुद्धको खेलमा । उनले स्कटिस टिमको पुछारका ब्याटरलाई आफ्नो सिकार बनाएका थिए । स्कटल्यान्डले जितका लागि १ सय ८३ रन लक्ष्य पछ्याउने क्रममा १६ ओभर छोएको बेला ५ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । त्यही नाजुक स्थितिमा कप्तान साइ होपले बल सेपार्डको हातमा दिए ।

नतिजा गज्जब रह्यो । सेपार्डले म्याथ्यु क्रस, माइकल लिस्क, ओलिभर डेभिडसन र साफियन सरिको विकेट लिए, त्यो पनि विना कुनै रन ५ बलमा । त्यसपछि त स्कटल्यान्ड एकैपल्ट ९ विकेट गुमाएर १ सय ३३ रनको स्थितिमा पुग्यो । सेपार्डले ३ ओभरमा २० रन खर्चेर ५ विकेट लिए । 

सूर्यकुमारको शक्ति

अमेरिकाविरुद्धको आफ्नो पहिलो खेलमा भारत एक समय ६ विकेट गुमाएर ७७ रनको दयनीय स्थितिमा थियो । त्यही बेला कप्तान सूर्यकुमार यादव क्रिजमा आए र 

आफ्नो शक्तिमा ४९ बलमा ८४ रन बनाए । यसरी उनले टिमको उद्धार गरेभन्दा हुन्छ । ब्याटबाट उनको सानदार प्रदर्शनले मुम्बईको वानखेडे स्टेडियममा रहेका ३५ हजार दर्शक मोहित भए । उनले आफ्नो अर्धशतक ३६ बलमै पूरा गरे । समग्रमा उनले ४ चौका र १० छक्का प्रहार गरे । सौरभ नेत्रावलकरको अन्तिम ओभरमा सूर्यकुमारले २१ रन जोडे, २ विशाल छक्का र २ चौकाको मदतले । त्यसमै टिकेर भारतले ९ विकेटमा १ सय ६१ रन बनायो र पछि त्यो स्कोर सजिलै रक्षा गर्न सफल रह्यो । 

मुजरबानीको नायकत्व

जिम्बावेले अस्ट्रेलियालाई पराजित गर्दा त्यसका नायक रहे, तीव्र गतिका बलर ब्लेसिङ मुजरबानी । उनले १७ रनमा ४ विकेट लिए । समूह चरणमा जिम्बावेले बलियो विपक्षी टिममाथि प्राप्त गरेको जितलाई टी–२० विश्वकपकै अहिलेसम्मको सबैभन्दा अप्रत्याशित छ । उनको उचाइ पनि गजब नै छ, ६ फिट ८ इन्च ।

उनले नै ओपनर जोस इंग्लिसलाई ८ रनमा मात्र आउट गरेनन्, शक्तिशाली प्रहारको प्रतीक रहेका टिम डेविडलाई शून्यमै पेभिलियन पठाए । म्याथ्यु रेनसले ६५ रन बनाएर अस्ट्रेलियाको इनिङ्स बचाउने प्रयास गरे । उनी पनि मुजरबानीकै सिकार भए । मुजरबानी त्यत्तिकैमा रोकिएनन्, एडम जाम्पाको विकेट पनि लिए । त्यसपछि अस्ट्रेलिया १ सय ४६ रनमै अलआउट भयो । 

निसान्काको शतक

श्रीलंकाका पाथुम निसान्काले अस्ट्रेलियाविरुद्ध सानदार शतक बनाएपछि प्रतिक्रिया दिने क्रममा माने, आफ्नो यो प्रदर्शन सपनामा देखे जत्तिकै रह्यो । उनकै प्रदर्शनका कारण सन् २०२१ को च्याम्पियन पराजित रह्यो । निसान्कालाई शतकसम्म पुग्न ५२ बलमात्र आवश्यक परेको थियो । त्यसकै प्रदर्शनको मदतमा क्यान्डीको भरिभराउ स्टेडियममा श्रीलंकाले सहज देखिने गरेर १ सय ८२ रनको लक्ष्य पनि भेट्टयो । जित ८ विकेटको रह्यो । श्रीलंका जितसम्म पुग्दा २ ओभरको खेल त बाँकी नै थियो । यसले देखाउने गर्छ, श्रीलंकाको जित आफैंमा कति मज्जाको रह्यो भनेर । निसान्काको व्यक्तिगत दोस्रो शतकमा सामेल थियो १० चौका । 

समराको कीर्तिमान

क्यानडाका युवराज समरा भर्खर १९ वर्षका भए । तर यही विश्वकपमा उनले एउटा अद्वितीय कीर्तिमान बनाए । उनी टी–२० विश्वकपको इतिहासमै शतक बनाउने पहिलो एसोसिएट देशका खेलाडी बने । यो आफैंमा ऐतिहासिक प्रदर्शन थियो । त्यतिमात्र होइन, उनी टी–२० विश्वकपकै इतिहासमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी भए ।

उनको नाम पनि जुरेको रहेछ, भारतका युवराज सिंहबाट । यी बायाँहाते ब्याटरले ११ चौका र ६ छक्का प्रहार गरे । यसक्रममा उनले ६५ बलको सामना गरे र १ सय १० रनको व्यक्तिगत स्कोर खडा गरे । अनि त्यो पनि न्युजिल्यान्ड जत्तिको टिमविरुद्ध । यो नै यस विश्वकपको अहिलेसम्मको उच्च व्यक्तिगत स्कोर रह्यो । खेलमा पराजित त क्यानडा नै रह्यो । तर समराले माने, आफूले यस्तै प्रदर्शनको सपना भने देखेका रहेछन् । 

एएफपी

Link copied successfully