आयोजक सहारालाई दोस्रोपल्ट आहा–रारा गोल्डकपको उपाधि

प्रतियोगिताको रजत वर्षमा घरेलु मैदानमै ट्रफी राखेर सहाराले मनायो खुसी ।

फाल्गुन ९, २०८२

दीपक परियार

Host Sahara wins Aha-Rara Gold Cup title for the second time

What you should know

पोखरा — घरेलु मैदानमै ट्रफी थामेर आयोजक सहारा क्लबले आहा–रारा गोल्डकपको रजत वर्षको सुखद अन्त्य गरेको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा सहाराले बलियो प्रतिद्वन्द्वी जावलाखेल युथ क्लबलाई २–० गोलले पराजित गर्दै १२ वर्षको प्रतीक्षा तोड्यो ।

यसअघि ०७० मा गोल्डकप जितेको सहाराले दोस्रोपल्ट उपाधि उचाल्दा पोखरेली दर्शकले खुसी मनाए । खेलको २५ औं मिनेटमा कप्तान सुशील लामाको कर्नर किकमा मुकुन्दकुमार निउरेले फ्लिक हेडरमार्फत जाली चुमाउँदै सहारालाई अग्रता दिलाए । पहिलो हाफ १–० को अग्रता लिँदै सकिएको थियो । खेलको ७३ औं मिनेटमा सुशील लामाकै फ्रि–किकमा टाए डेनिएल बादारुले सशक्त हेडर प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे । जावलाखेलले १४ वर्षपछि पुनः उपविजेतामा चित्त बुझाउनुपर्‍यो । 

जावलाखेलका फरवार्ड निकोलस ओदाने ह्यामिल्टनलाई चल्न नदिने रणनीतिमा सहारा थियो । जुन रणनीतिमा सहारा सफल भयो । आफ्ना भरपर्दो स्ट्राइकरमाथि घेराबन्दी भएपछि निकोलसको स्थानमा अन्य फरवार्डलाई चलाउने जावलाखेलको रणनीति सफल हुन सकेन । जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले आफ्ना विदेशी खेलाडीको प्रदर्शन अपेक्षाकृत नभएको स्वीकारे । ‘विदेशी खेलाडीबाट जुन स्कोर हुन्छ भन्ने सोचेको थियौं, हाम्रो अट्याक सक्सेस हुन सकेन,’ उनले भने, ‘सहाराको कम्बिनेसनलाई पनि ब्रेक गर्न सकेनौं । फिनिसिङमा समस्या भयो ।’ सबैले कोसिस गर्दा गर्दै पनि सफलता नमिलेको उनले बताए । यसअघि आभा एफसी उज्वेकिस्तानको टोलीसँग खेल्दा युवराज ढकालले रातो  कार्ड पाएकोले आफ्नो सेट टिममा असर परेको श्रेष्ठको भनाइ थियो । 

पहिलोपल्ट उपाधि जित्दा म्यानेजरका रूपमा टिममा रहेका सहाराका प्रशिक्षक सुनिल थापा मगरले रजत वर्षकै अवसरमा ट्रफी घरमै राख्न पाएकोमा खुसी व्यक्त गरे । उनले आफ्नो जित सहाराका पूर्व खेलाडी श्यामबहादुर गुरुङ र पूर्व कप्तान हेमबहादुर गुरुङप्रति समर्पित गरे । उनले यसअघि राम्रो खेल खेल्दा खेल्दै स्कोर ननिस्किए पनि फाइनलमा खेलाडीले उच्च मनोबलका साथ खेलेको उल्लेख गरे । भने, ‘खेलाडीले शतप्रतिशत दिएर खेले, जितको सम्पूर्ण जस खेलाडीलाई जान्छ ।’

प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी थिए । सहाराले प्रि–क्वाटरमा हङकङको गोर्खा इन्टरनेस्नल फुटबल क्लबलाई १–०, क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई र सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई सडेन डेथमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । जावलाखेलले प्रि–क्वाटरमा मच्छिन्द्र क्लब, क्वाटरफाइनलमा चर्च ब्वाइज र सेमिफाइनलमा उज्वेकिस्तानको आभा एफसीलाई पराजित गरेको थियो । उपाधिसँगै सहाराले १४ लाख र उपविजेता जावलाखेलले ७ लाख रुपैयाँ प्राप्त गरे । 

मुकुन्दकुमार निउरे सर्वोत्कृष्ट खेलाडी

Host Sahara wins Aha-Rara Gold Cup title for the second time

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) सहाराका मुकुन्दकुमार निउरे घोषित भएका छन् । उनले टेलजीको स्कुटर प्राप्त गरे । 

सर्वाधिक गोल स्कोरर प्लानिङ ब्वाइज युनाइटेडका पापा इबु कोवे ३ गोलसहित शीर्षमा रहे । उत्कृष्ट गोलकिपरमा सहाराका टिकेन्द्र थापा, उत्कृष्ट डिफेन्डरमा सहाराकै टाए डानियल, उत्कृष्ट मिडफिल्डरमा जावलाखेलका बौबोकार सिसोखो र उत्कृष्ट फर्वार्डमा जावलाखेलकै धरवेन्द्र कुँवर छानिए । उत्कृष्ट प्रशिक्षकको सम्मान सहाराका सुनिल राना मगरले पाए भने उदीयमान खेलाडीको पुरस्कार मुकुन्दकुमार निउरेले नै प्राप्त गरे । फेयर प्ले पुरस्कार उज्वेकिस्तानको आभा एफसीले हात पार्‍यो । विधागततर्फका खेलाडी र टिमले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully