फाइनलको पूर्वसन्ध्यामा शुक्रबार पत्रकार सम्मेलनमा दुवै टिमका प्रशिक्षक र कप्तानले आफूहरूले उपाधि हत्याउने दाबी गरेका छन् ।
What you should know
उदयपुर — गाईघाटस्थित थरुहट रंगशालामा शनिबार हुने एन्फा महिला फुटबल च्याम्पियनसिपको उपाधिका लागि त्रिभुवन आर्मी र एपीएफ क्लब प्रतिस्पर्धी छन् । फाइनलको पूर्वसन्ध्यामा शुक्रबार पत्रकार सम्मेलनमा दुवै टिमका प्रशिक्षक र कप्तानले आफूहरूले उपाधि हत्याउने दाबी गरेका छन् ।
आर्मीका प्रशिक्षक राजु तामाङले आर्मीले यसअघिका धेरै प्रतियोगितामा उपाधि जित्ने अवसर गुमाएकाले यसपालि ती सबै बिर्सेर शतप्रतिशत उपाधि जित्ने दाबी गरे । जितका लागि आफ्ना खोलडी शारीरिक र मानसिक दुवै हिसाबले तम्तयार रहेको उनले सुनाए । ‘हामीलाई जित पक्का गर्नु छ । यो उपाधि कुनै पनि हालतमा नगुमाउने हाम्रो रणनीति हो,’ उनले भने ।
यसपालि टिममा पूर्ण आत्मविश्वास भरिएको र फाइनलसम्म आइपुग्दाको प्रदर्शनले मनोबल उच्च रहकाले उपाधि आफूहरूको हुने आर्मीकी कप्तान सुनिताकुमारी चौधरीले दाबी गरिन् ।
एपीएफका प्रशिक्षक जीवेशकुमार पाण्डेले उपाधि लक्ष्यसहित सबै खाले तयारीमा पूर्ण रहेको बताए । उनले अहिलेसम्म सानदार प्रदर्शन र उच्च मनोबल देखाउन सफल आफ्नो टिमले उपाधि जित्ने गरी अगाडि बढिरहेको बताए । एपीएफकी कप्तान अनिता बस्नेतले टिमका एक–से–एक खेलाडीमा मनोबल उच्च रहेको र आर्मीको सामना गर्न तयार रहेको बताइन् । ‘हाम्रो टिमले उपाधि जित्छ भन्नेमा हामी ढुक्क छौं,’ उनले दाबी पेस गरिन् ।
दुवै टिमका प्रशिक्षक र कप्तानले दुवै टोलीका खेलाडी र टिमको प्रशंसा गर्न कन्जुस्याइँ भने गरेनन् । दुवै टोलीमा खेलाडी राष्ट्रिय स्तरका अब्बल खेलाडीहरू रहेकाले उत्कृष्ट प्रतिस्पर्धा हुने उनीहरूको भनाइ छ ।
नकआउट प्रणालीमा नेपालका शीर्ष महिला फुटबल टिममध्ये १० टिमले भाग लिएको प्रतियोगितामा आर्मीले फाइनलसम्म पुग्न क्वाटरफाइनलमा एनआरटीलाई ६–१ गोलले पराजित गरेको थियो भने सेमिफाइनलमा नेपाल पुलिस क्लबमाथि १–० को जित रचेको थियो ।
एपीएफले क्वाटरफाइनलमा आरएस रिसोर्ट पोखरालाई १९–० ले पराजित गरेको थियो भने सेमिफाइनलमा संकटामाथि ३–० को जित रचेको थियो ।
