२-१ गोलअन्तरले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सशस्त्रले उपाधि चुमेको हो ।
उदयपुर — एन्फा वुमेन्स च्याम्पियनसिपको उपाधि शनिबार सशस्त्र प्रहरी क्लबले जितेको छ ।
२-१ गोलअन्तरले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेसँगै सशस्त्रले उपाधि चुमेको हो । यो जितसँगै सशस्त्रले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार जितेको छ ।
उपविजेतामा चित्त बुझाउनु परेको आर्मीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा भएको खेलको पहिलो हाफमा कतैबाट गोल हुन सकेन । दोस्रो हाफको १० मिनेटमै जर्सी नम्बर १२ की गीता राणाले पहिलो गोल गरिन् । दोस्रो हाफको २३ औं मिनेटमा जर्सी नम्बर ७ की रेणुका नगरकोटीले गोल गर्दै २ गोलको अग्रता बनाइन् । सेकेन्ड हाफको २६ औं मिनेटमा आर्मीकी जर्सी नम्बर ८ की जेनिफर राणाले गोल गरिन् । टिमको तर्फबाट यो मात्र एक गोल रह्यो ।
तीन विधाका उत्कृष्ट खेलाडीहरूले प्रति खेलाडी ५० हजार रुपैयाँ दरले पुरस्कार समेत पाउनेछन् ।
आज खेल हेर्न मैदानमा दर्शकको खचाखच भिड लागेको थियो ।
प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा भएको हो । प्रतियोगिता फागुन १ गतेदेखि सञ्चालन भएको थियो । प्रतियोगितामा नेपालका १० शीर्ष महिला फुटबल टिमहरूको सहभागिता रहेको थियो । एन्फा महासचिव किरण राईका अनुसार नेपालमै यो यो किसिमको खेल प्रतिस्पर्धा पहिलो हो ।
