३२ दिनसम्म चल्ने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
What you should know
काठमाडौँ — नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा हिमालयन जाभा नेसनल बास्केटबल लिग फागुन २६ देखि सुरु हुनेछ ।
नेबाले शुक्रबार पत्रकार सम्मेलन गर्दै एचएनबीएलको दोस्रो संस्करण चैत २८ सम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने जानकारी दिएको हो ।
३२ दिनसम्म चल्ने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसमा पहिलो संस्करणको च्याम्पियन टाइम्स कलेजसँगै उपविजेता गोल्डेनगेट कलेज, तेस्रो भएको हाउन्ड्स र चौथो भएको कीर्तिपुर क्लबसहित त्रिभुवन आर्मी क्लब, सोलो बास्केटबल, रोयल र प्लेबक्स एरिनाले प्रतिस्पर्धा गर्नेछन् ।
आर्मी, सोलो, रोयल र प्लेबक्स गत पुसमा भएको लिनिङ बास्केटबल प्रतियोगिताको शीर्ष चारमा रहेर दोस्रो संस्करणको नेसनल बास्केटबल लिगको लागि छनोट भएका हुन् । डबल राउन्ड रोबिन प्रणालीमा खेलाइने प्रतियोगितामा लिग चरणमा कुल ५६ खेल हुनेछ । लिगमा शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । त्यसपछि सेमिफाइनल र फाइनल खेल हुने नेबाका अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिए ।
नेपाली बास्केटबलको व्यावसायिक संरचना विकास गर्नु र खेलाडीलाई थप अवसर र प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने लक्ष्यसहित लिग आयोजना गर्न लगिएको नेबा अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा हिमालयन जाभा रहेको छ भने एनसेल पावर्ड बाईमा छ ।
खेलकुदको विकासमा निजी क्षेत्रले पनि सहयोग गर्नुपर्ने र सामाजिक उत्तरदायित्वअन्तर्गत आफूहरूले नेसनल बास्केटबल लिगमा सहयोग गरेको हिमालयन जाभाका सञ्चालक आनन्द गुरुङले जानकारी दिए ।
विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पार्नेछन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेयर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार राखिएको र त्यसको घोषणा पछि गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
उनले यस प्रतियोगिताको विजेताले साबा च्याम्पियनसिप खेल्न पाउने जानकारी दिए । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुबाट राष्ट्रिय टिम छनोट गरिनेछ ।
