एन्फा वुमेन्स च्याम्पियनसिप : आर्मी र सशस्त्र दुवैको जित दाबी

दुवै टिमका खेलाडी राष्ट्रिय स्तरका अब्बल खेलाडीहरू रहेकोले उत्कृष्ट प्रतिस्पर्धा हुने दाबी गरिएको छ ।

फाल्गुन ८, २०८२

भोटराज राई

ANFA Women's Championship: Both Army and Armed Forces claim victory

What you should know

उदयपुर — उदयपुरको थारुहट रंगशालामा भोलि (फागुन ९ गते) हुन गइरहेको एन्फा वुमेन्स च्याम्पियनसिपको फाइनलिस्ट नेपालका विभागीय टिमहरू त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी क्लब दुवैले जितको दाबी गरेका छन् । 

आज फाइनल तयारीबारे गरिएको पत्रकार सम्मेलनमा दुवै टिमका कोच तथा क्याप्टेनहरूले यस्तो दाबी गरेका हुन् । 

नेपाल आर्मीका टिमकोच राजु तामाङले आर्मीले निकै प्रतियोगितामा उपाधि चुम्ने अवसर गुमाएकाले यो अवसरलाई शतप्रतिशत सदुपयोग गर्ने बताए । जितका लागि खेलाडी टिम शारीरिक तथा मानसिक दुवै हिसाबले तम्तयार रहेको उनले बताए । 'हामीलाई जित पक्का गर्नु छ । यो उपाधि कुनै पनि हालतमा नगुमाउने भन्ने हाम्रो रणनीति बनेको छ,' उनले भने । 

यस पटकको टिम पूर्णरुपले आत्मविश्वास भरिएको र फाइनलसम्म आइपुग्दाको खेलले उच्च मनोबल आर्जन गर्न सफल रहेकोले जितको नजिक रहको आर्मीकी टिम क्याप्टेन सुनिताकुमारी चौधरीले बताइन् । 

त्यसैगरी सशस्त्र प्रहरी क्लबका टिमकोच जिवेशकुमार पाण्डेले जितको लक्षसहित सबै खाले तयारीमा रहेको बताए । अहिलेसम्म शानदार जित र उच्च मनोबल देखाउन सफल सशस्त्र टिमले उपाधि चुम्ने गरी तयार रहेको उनले बताए । सशस्त्रकी टिम क्याप्टेन अनिता बस्नेतले टिमका एक सय एक खेलाडीको मनोबल उच्च रहेको र आर्मीको सामना गर्न तयार रहेको बताइन् । 'हाम्रो टिमले जित्छ भन्नेमा हामी दाबी गर्छौं,' उनले भनिन् । 

दुवै टिमका कोच तथा क्याप्टेनले विभागीय एक अर्का खेलाडी टिमको प्रशंसा गर्न कन्जुस्याइँ भने गरेनन् । दुवै टिमका खेलाडी राष्ट्रिय स्तरका अब्बल खेलाडीहरू रहेकोले उत्कृष्ट प्रतिस्पर्धा हुने उनीहरूको भनाइ छ ।

नकआउट प्रणालीमा नेपालका शीर्ष महिला फुटबल टिमहरू मध्येको १० टिमले भाग लिएको प्रतियोगितामा आर्मीले फाइनलसम्म पुग्न क्वाटरफाइनलमा न्युरोड टिमलाई ६–१ गोलअन्तरले पराजित गरेको थियो भने सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गरेको थियो । 

सशस्त्र प्रहरीले क्वाटरफाइनलमा आरएस रिसोर्ट पोखरालाई १९–० को फराकिलो गोलअन्तरले पराजित गरेको थियो भने सेमिफाइनलमा संकटालाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

भोटराज राई भोटराज राई उदयपुरस्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully