मिल्स भेट्रान्स गोल्डकपः आयोजक र इटहरी फाइनलमा भिड्ने

जुट मिल खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली युनाइटेड भेट्रान्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजकले फाइनलको यात्रा तय गरेको छ ।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

Mills Veterans Gold Cup: Hosts and Itahari to face off in final

विराटनगर — विराटनगरमा जारी चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक मिल्स भेट्रान्स क्लब (निलो) र हाम्रो इटहरी भेट्रान्स क्लबबीच भिडन्त हुने भएको छ ।

जुट मिल खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली युनाइटेड भेट्रान्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजकले फाइनलको यात्रा तय गरेको छ ।

आयोजकले उपाधिका लागि शनिबार इटहरीसँग प्रतिस्पर्धा गर्नेछ । इटहरीले यसअघि एभरेष्ट भेट्रान्स क्लबलाई १–० गोल अन्तरले नै पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा आयोजकका सुरज श्रेष्ठले २१ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो  । पहिलो हाफमा गोल खाएपछि दबाबमा परेको युनाइटेड दोस्रो हाफपछि आक्रामक वनेको थियो । तर, पटक–पटक पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाटै बाहिरिन वाध्य भयो । 

खेलको ‘प्लेयर अफ द म्याच’ आयोजक टोलीका जय देवकोटा घोषित भए । प्रतियोगिताको विजेताले नगद ८१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ४१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्नेछन् । फाइनल खेल शनिबार हुने छ । 

कान्तिपुर संवाददाता

Link copied successfully