पोखरा रंगशालामा बिहीबार जावलाखेल युथ क्लब १–० ले विजयी भएसँगै फाइनल समीकरण टुंगो लागेको हो । यो जितसँगै जावलाखेलले १४ वर्षपछि प्रतिष्ठित गोल्डकपको फाइनलमा स्थान बनाउने सफलता हात पारेको छ ।
What you should know
पोखरा — साविक विजेता ब्ल्याक बुल्स एफसीकै खेलाडी लिएर आहा–रारा गोल्डकपमा आएको पाहुना टोली उज्वेकिस्तानको आभा एफसीलाई आत्मघाती गोल फाइनल प्रवेशको बाधक बनेको छ । पोखरा रंगशालामा बिहीबार जावलाखेल युथ क्लब १–० ले विजयी भएसँगै फाइनल समीकरण टुंगो लागेको हो ।
यो जितसँगै जावलाखेलले १४ वर्षपछि प्रतिष्ठित गोल्डकपको फाइनलमा स्थान बनाउने सफलता हात पारेको छ । यसअघि जावलाखेलले ०६८ को संस्करणमा मनाङ मर्स्याङ्दीसँग पराजित भएर उपविजेतामा चित्त बुझाएको थियो ।
प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो ४५ औं मिनेट दुवै टोलीले गोलका लागि संघर्ष गरे पनि गोलरहित बराबरीमा सकिएको थियो । खेल निर्धारित समयभित्रै टुंगो लाग्ने संकेत भने दोस्रो हाफको सुरुआती चरणमै भएको एक दुर्भाग्यपूर्ण घटनाले गरेको थियो ।
खेलको ५२ औं मिनेटमा जावलाखेलका धर्वेन्द्र कुँवरले लेफ्ट विङबाट प्रहार गरेको क्रसलाई रोक्ने क्रममा आभाका डिफेन्डर कुशान गानिजानोभले असावधानीवश बल आफ्नै छातीमा टच गर्दै गोलमा परिणत गरिदिए । त्यो आत्मघाती गोल नै खेलको एकमात्र र निर्णायक गोल साबित भयो, जसले उज्वेकिस्तानी टोलीलाई ठूलो झट्का दियो ।
अग्रता लिएपछि पनि जावलाखेलको बाटो सहज भने थिएन । खेलको ६५ औं मिनेटमा जावलाखेलका युवराज ढकालले विपक्षी खेलाडी मामुरोतोभलाई फउल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाएपछि जावलाखेल १० खेलाडीमा सीमित भयो । तर, संख्यात्मक दृष्टिले कमजोर भए पनि जावलाखेलका खेलाडीहरुले अनुशासित रक्षापंक्ति प्रस्तुत गर्दै अन्तिम घडीसम्म अग्रता जोगाइराखे र ऐतिहासिक जित हात पारे । खेलमा जावलाखेलका जोखिजोन राखिमोभलाई उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ दी म्याच’ घोषित गरियो ।
२५ औं आहा–रारा पोखरा गोल्डकपको उपाधिका लागि शनिबार हुने फाइनल खेल घरेलु टोली एवं आयोजक सहारा क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ ।
१२ वर्षअघि उपाधि जितसँगै ९ वर्षपछि पुनः फाइनलमा पुगेको सहारा उपाधि दोहोर्याउन चाहन्छ । १४ वर्षपछि पुनः फाइनलमा पुगेको जावलाखेल उपाधि जितेर इतिहास रच्ने दाउमा छ ।
