लिग तालिकाको पुछारमा रहेको उल्भ्सले आर्सनललाई २–२ को बराबरीमा रोकेको हो ।
काठमाडौँ — आर्सनलको इंग्लिस प्रिमियर लिग जित्ने अभियानमा बुधबार ठूलो धक्का लागेको छ । लिग तालिकाको पुछारमा रहेको उल्भ्सले आर्सनललाई २–२ को बराबरीमा रोकेको हो । आर्सनलले दुई गोलले अगाडि रहेर पनि त्यसलाई कायम राख्न सकेन् ।
बुकायो साका र पिएरो हिनकापिएको गोलले आर्सनल सजिलो जिततर्फ अग्रसर देखिएको थियो । तर ह्युगो बेनोले उल्भ्सका लागि एक गोल फर्काएपछि रिकार्डो कालाफिओरीले इन्ज्युरी समयमा आत्मघाती गोल गरे । यो नतिजाले आर्सनल ५८ अंकमा शीर्षमा रह्यो ।
तर यो दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ५ अंकको दूरी मात्र हो र सिटीले एक खेल पनि कम खेलेको छ । पछिल्लो साता पनि आर्सनलले ब्रेन्टफोर्डसँग बराबरी नै खेलेको थियो ।
