विश्व तेक्वान्दो महासंघको र्याङ्किङ प्रतियोगिता जी–१ मा बुधबार दशरथ रंगशालामा भएको महिला ६७ केजीमुनि तौल समूहमा गीता फाइनलमा भारतकी मधु सिंहसँग पराजित भएकी थिइन् ।
What you should know
काठमाडौँ — नेपालकी गीता विष्टले चौथो माउन्ट एभरेस्ट अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता (जी–१) मा रजत पदक जितेकी छन् ।
विश्व तेक्वान्दो महासंघको र्याङ्किङ प्रतियोगिता जी–१ मा बुधबार दशरथ रंगशालामा भएको महिला ६७ केजीमुनि तौल समूहमा गीता फाइनलमा भारतकी मधु सिंहसँग पराजित भएकी थिइन् । यो तौलमा नेपालकी रेजिना पार्की र श्रीलंकाकी विनोथकन्ना खन्ना क्यासिलडेसले कांस्य पदक जिते ।
महिला ४६ केजीमुनि पोर्चुगलकी कियारा बारोसोले स्वर्ण जितिन् । उनले फाइनलमा हङकङको वान लाउलाई हराइन् । नेपालकी प्रकृति पाली र सन्तोषी राईले कांस्य जिते । महिला ५३ केजीमुनि भारतकी अनिषाले मलेसियाकी नोरुमर मोहम्मद फिरदोसलाई हराएर स्वर्ण जितिन् । भारतकी सरवर कौर र सिंगापुरकी निसेल ट्यानले कांस्य जिते ।
महिला ७३ केजीमुनि भारतकी दास एटिसाले हङकङकी चेउङ हो यानलाई हराएर स्वर्ण जितिन् । भारतकी मान्या सेहरावत र नेपालकी अनामिका तामाङले कांस्य जिते ।
पुरुषतर्फ ५८ केजीमुनि भारतका अब्दुल वाहिदले स्वर्ण जिते । पाकिस्तानका अबुबकर सिद्दिकीले रजत, हङकङका चुन यिन चिओक र भारतका सौर्य चक्रवर्तीले कांस्य पदक जिते । पुरुष ६८ केजीमुनि थाइल्यान्डका थानापुम फुआङनोइले भारतका नवीनलाई हराएर स्वर्ण जिते । पाकिस्तानका मोहम्मद अर्वाज खान र भारतका शिवम् सुदेश शेट्टी कांस्य जिते । पुरुष ७४ केजीमुनि थाइल्यान्डको किर्तायोट फ्रोम्पात्जुले जापानका ताकातो काटोसलाई हराएर स्वर्ण जिते भने भारतका आशिष र हरप्रित सिंहले कांस्य जितेका छन् ।
पाकिस्तानका हमजा ओमर सइदले भारतको श्रीनिधि दीपक काटकरलाई हराएर स्वर्ण जिते । भारतका प्रमोद जोशी र भुटानका निमा वाङ्दी कांस्य जित्न सफल भए ।
प्रतियोगितामा जुनियर र क्याडेटको स्पर्धा बिहीबारदेखि हुने आयोजक नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जानकारी गराएका छन् ।
