आहा–रारा गोल्डकप : फाइनलमा सहारा

जितसँगै सहारा क्लबले उपाधि दोहोर्‍याउने सपनालाई कायम राखेको छ ।

फाल्गुन ६, २०८२

दीपक परियार

Aha-Rara Gold Cup: Sahara in the final

What you should know

पोखरा — सहारा क्लबको घरेलु मैदान । सर्वाधिक सफलता पाएर पोखरालाई घरेलु मैदान मान्ने मनाङ मर्स्यांदी क्लब । यी दुई क्लब बुधबार २५औं आहा–रारा गोल्डकपको सेमिफाइनलमा भिड्दा दर्शक पनि बाँडिए । पोखरा रंगशालाको प्यारापिटमा दुबै टिमका समर्थक बराबरीजस्तै थिए । आयोजक सहाराले मनाङमाथि ‘सडेन डेथ’मा सनसनीपूर्ण जित निकाल्दै फाइनलमा स्थान बनायो ।

०७० मा सहाराले पहिलोपटक उपाधि उचाल्दा मनाङलाई नै उपविजेतामा सिमित बनाएको थियो । १३ पटक फाइनलमा पुगेर ६ पटक उपाधिको स्वाद चाखेको मनाङ सेमिफाइलनबाट बाहिरिँदा सहारा भने १२ वर्षपछि फाइनल पुगेको हो । सहाराको यो तेस्रो फाइनल यात्रा हो । यसअघि ०६९ मा थ्रीस्टारसँग फाइनलमा पराजित भएको थियो ।

संयोग कस्तो भने जारी संस्करणको क्वाटरफाइनलमा सहाराले ६ पटक नै उपाधि विजेता नेपाल पुलिस क्लबलाई सडेन डेथमै हराएर मनाङसँगको भेट पक्का गरेको थियो । दुबै खेलमा सहाराका गोलरक्षक टिकेन्द्र थापा नायक बने । उपाधिको बलियो दाबेदार मनाङ मर्स्याङदी क्लबलाई ‘सडेन डेथ’ को रोमाञ्चक मोडमा ७–६ ले स्तब्ध पार्दा थापाले गरेको बचाउ निर्णायक बन्यो ।  

निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त समयमा पनि दुबैतर्फबाट कुनै गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टी सुटआउटमा सुरुवाती ५–५ प्रहार सबै गोलमा परिणत भएपछि खेल सडेन डेथमा पुगेको थियो । सहाराका आशिष गुरुङ र कप्तान सुशील लामाले थप गोल गरे । मनाङका थिडियन नोभा किरोमीको गोलपछि कप्तान सविन खड्का पेनाल्टीका लागि आए । उनको प्रहारलाई टिकेन्द्र थापाले विफल पार्दै टोलीलाई फाइनलको ढोका खोलिदिएपछि पोखरेली समर्थकले खुसी मनाए ।

मैदानमा दुबै टोलीले आक्रामक रणनीति बुने पनि रक्षापंक्ति निकै मजबुत देखिएको थियो । सहाराका लागि ताये डायनियल बादारुले डिफेन्समा फलामे पर्खाल बनेर मनाङका स्ट्राइकरहरूलाई निरिह तुल्याए, जसका लागि उनले ‘प्लेयर अफ दि म्याच’ को अवार्ड समेत चुमे ।  

यस ऐतिहासिक जितसँगै सहारा क्लबले उपाधि दोहोर्‍याउने सपनालाई कायमै राखेको छ । बिहीबार जावलाखेल युथ क्लब र उज्वेकिस्तानको आमन्त्रित टोली आभा एफसीबीच भिडन्त हुनेछ । बिहीबारको विजेताले शनिबार फाइनलमा सहाराको सामना गर्नेछ । घरेलु टोलीको यो लयले यसपटकको गोल्डकपको ट्रफी पोखरामै रोकिने सम्भावनालाई थप बलियो बनाएको छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully