पोखरामा जारी २५ औं आहा–रारा पोखरा गोल्डकपमा पाहुना टोली उज्वेकिस्तानको आभा एफसीसँग प्लानिङ ब्वाइज पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
What you should know
पोखरा — बुढासुब्बा गोल्डकपको उपाधि विजेता टोली प्लानिङ ब्वाइज युनाइटेड आहा–रारा पोखरा गोल्डकपमा भने क्वाटरफाइनलमा पराजित भएको छ ।
पोखरामा जारी २५ औं आहा–रारा पोखरा गोल्डकपमा पाहुना टोली उज्वेकिस्तानको आभा एफसीसँग प्लानिङ ब्वाइज पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
मंगलबार पोखरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन टोली प्लानिङ ब्वाइज युनाइटेडलाई १–० को कठिन गोलअन्तरले पन्छाउँदै आभा एफसीले सेमिफाइनलको यात्रा तय गरेको छ ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले केही सुन्दर अवसर सिर्जना गरे पनि फिनिसिङमा चुकेका थिए । तर, खेलको ५६ औं मिनेटमा आभा एफसीका उमिदजोन कारिलोभले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उमिदजोनले गरेको शक्तिशाली प्रहारलाई प्लानिङ ब्वाइजका गोलरक्षक योगेश धिमालले रोक्ने प्रयास गरे पनि बलले जाली चुमेको थियो । उक्त गोल नै खेलको निर्णायक सावित भयो ।
खेलको अन्त्यतिर प्लानिङ ब्वाइजले बराबरी गोलका लागि निकै दबाब सिर्जना गरेको थियो । ८९ औं मिनेटमा रामबाबुकुमार शाहको प्रहार सफल हुन सकेन भने इन्जुरी समयमा फागुराम थारुको फ्रि–किकलाई आभाका गोलरक्षक जासुरबर्क राजावोभले उत्कृष्ट बचाउ गर्दै टिमको संकट टारेका थिए ।
टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उज्वेक खेलाडी उमिदजोन खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भए । उनले ट्रफीसहित १० हजार रुपैयाँ प्राप्त गरे । यसअघि प्रि–क्वाटरमा प्लानिङ ब्वाइजले फ्रेन्ड्स क्लबलाई हराएर क्वाटरफाइनल प्रवेश गरेको थियो ।
आभा एफसीको जितसँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । अब बुधबार हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टोली सहारा क्लब पोखरा र मनाङ मर्स्यांदी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
