जावलाखेल युथ सेमिफाइनलमा

एकपक्षीय जस्तो देखिएको खेलमा जावलाखेलले क्लिन सिट राख्दै प्रभावशाली प्रदर्शन गर्‍यो । खेलको सुरुदेखि नै आक्रामक बनेको जावलाखेलले चर्च ब्वाइजको रक्षापंक्ति र गोलरक्षकको कमजोरी सदुपयोग गर्‍यो ।

फाल्गुन ४, २०८२

दीपक परियार

Jawalakhel Youth in the semifinals

What you should know

(पोखरा) —  धरानमा शनिबार मात्रै बुढासुब्बा गोल्डकपको फाइनल खेलेर पोखरा ओर्लिएको चर्च ब्वाइज युनाइटेडका लागि आहा–रारा पोखरा गोल्डकप सुखद रहेन । थकान र वर्षातबीच आइतबार पोखरा रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा जावलाखेल युथ क्लबसँग ३–० ले स्तब्ध हुँदै चर्च ब्वाइज बाहिरिएको छ ।

यो जितसँगै जावलाखेल जारी २५ औं संस्करणको आहा–रारा गोल्डकपको सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । धरानमा उपविजेता बनेलगत्तै पोखरा आइपुगेको चर्च ब्वाइजको टोली मैदानमा केही थकित देखिएको थियो । तयारीका लागि समय अभाव भएका कारण निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी खेल सुरु भएको थियो । हल्का वर्षा भइरहेको मौसममा चर्च ब्वाइजले आफ्नो स्वभाविक लय समात्न सकेन, जसको फाइदा जावलाखेलले भरपूर उठायो ।

एकपक्षीय जस्तो देखिएको खेलमा जावलाखेलले क्लिन सिट राख्दै प्रभावशाली प्रदर्शन गर्‍यो । खेलको सुरुदेखि नै आक्रामक  बनेको जावलाखेलले चर्च ब्वाइजको रक्षापंक्ति र गोलरक्षकको कमजोरी सदुपयोग गर्‍यो । यद्यपि  पहिलो हाफमा दुवै टिमले स्कोर निकाल्न सकेन । 

खेलको चर्च ब्वाइजका अनुभवी गोलरक्षक दीप कार्कीको गल्ती जावलाखेलका लागि उपहार साबित भयो । दीपले डाइभ गरेर बल नियन्त्रणमा लिने प्रयास गर्दा हातबाट फुत्किएको बलमा धर्मेन्द्र कुँवरले कुनै गल्ती नगरी गोल गर्दै जावलाखेललाई अग्रता दिलाए ।

खेलको ८८ औं मिनेटमा जमैका खेलाडी निकोलस ह्यामिल्टनले व्यक्तिगत कौशल देखाउँदै गोलरक्षक दीपलाई बिट गरेर गोल गरे ।  दोस्रो हाफको इन्ज्युरी समयमा सुजन गुरुङले पेनाल्टी एरिया नजिकैबाट प्रहार गरेको बल सिधै जालीमा ठोक्किएपछि जावलाखेलको ३–० को जित निश्चित भयो । मैदानमा प्रभावशाली प्रदर्शन गरेका जावलाखेलका विदेशी खेलाडी निकोलस प्लेयर अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

जावलाखेलका प्रशिक्षक सुनिल श्रेष्ठले टोलीको सामूहिक प्रदर्शन र फिनिसिङमा सुधार आएका कारण चर्च ब्वाइजविरुद्ध उत्कृष्ट नतिजा निकाल्न सफल भएको बताए । यसअघि जावलाखेलले प्रि–क्वाटरमा मछिन्द्रलाई हराएको थियो । जावलाखेलले अब प्लानिङ ब्वाइज र उज्वेकिस्तानको आभा एफसीबीचको विजेतासँग खेल्नेछ ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully