इंग्ल्यान्ड ट्वान्टी–२० विश्वकपको सुपर एटमा पुगेको छ ।
मुम्बई — इटालीमाथि प्राप्त संघर्षपूर्ण २४ रनको जितपछि इंग्ल्यान्ड ट्वान्टी–२० विश्वकपको सुपर एटमा पुगेको छ ।
उसले समूह 'सी'को सोमबारको खेलमा जित प्राप्त गरेपछि अर्को चरणको यात्रा निश्चित भएको हो । वेस्ट इन्डिज पनि यो समूहबाट 'सुपर एट' पुगिसकेको छ ।
इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै ७ विकेटमा २ सय २ र रन बनाएको थियो । त्यसमा विल ज्याक्सले नटआउट रहेर २२ बलमा ५३ रन बनाए । यस्तै, टम ब्यान्टनले ३० र साम करनले २५ रन बनाए ।
जवाफमा इटालीले सबै विकेट गुमाउन अगाडि १ सय ७८ रन मात्र बनाउन सक्यो । बेन मनेटीले २५ बलमा ६० र ग्रान्ट स्टेवार्टले २३ बलमा ४५ रन बनाएपछि इंग्ल्यान्ड दबाबमा आएको थियो । यो नतिजापछि वेस्ट इन्डिज र इंग्ल्यान्ड दुवै समान ६ अंकमा रहे ।
उसको पछाडि स्कटल्यान्ड र इटालीको समान २ अंक छ । नेपाल भने अंकविहीन रहेको छ ।
